विराटनगर/ ओझेलमा परेका क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेञ्ज प्रतियोगिता हुने भएको छ । ओझेलमा परेको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले वि विल राइज फाउण्डेसनले भिडियो प्रतिस्पर्धा गर्न लागेको हो ।

आयोजक संस्थाले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी नेपाल भ्रमण वर्ष २०२० लाई दृष्टिगत गरेर देशैभरबाट नयाँ गन्तव्यको प्रवर्द्धन गर्न भिडियो च्यालेञ्ज गर्ने फाउण्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले जानकारी दिए । सो प्रतियोगिताबारे जानकारी दिँदै आयोजक अहिले देश दौडाहामा निस्किएको छ । चर्चित पर्यटकीय स्थलमा रहेका तर ओझेलमा परेका विषयदेखि कला/संस्कृति, गन्तव्य तथा क्षेत्रको बारेमा बनाइएको विभिन्न भिडियोको यही जनावरीदेखि अप्रिलभित्र सङ्कलन गर्ने काम फाउण्डेसनले गरिरहेको छ ।

भिडियोमा चर्चित पर्यटकीय क्षेत्रका पनि अहिलेसम्म बाहिर नआएका पक्षलाई भिडियोमार्फत् बाहिर ल्याउन सकिनेछ । यसलाई फाउण्डेसनले पर्यटन वर्षका निम्ति राष्ट्रिय अभियानकै रूपमा प्रवद्र्धनका निम्ति अगाडि सारेको छ । व्यवसायिक रूपमै लाग्ने व्यक्तिदेखि मोबाइलबाट भिडियो बनाउने सामान्य व्यक्तिसम्मले प्रतियोगितामा भाग लिन पाउनेछन् । स्तरीय विषय भएको जुनसुकै भिडियो पनि उत्कृष्टमा छानिन सक्ने यो प्रतियोगिताको निम्ति फाउण्डेसनले सबै स्थानीय तहबाटै जुनसुकै क्षेत्र र विषयमा पनि भिडियो बनाउन आह्वान गरेको छ ।

देशैभरबाट छानिएकामध्येबाट १० वटा भिडियो प्रतिस्पर्धामा आउनेछन् । प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट प्रथम भिडियोले एक लाख रुपैयाँ नगदसहितको पुरस्कार प्राप्त गर्नेछ । द्वितीयले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँको पुरस्कारको पाउनेछ । पब्लिक च्वाइस अवार्डमा पनि उत्कृष्ट एउटा भिडियो छनोट हुने र त्यसले पनि एक लाख रुपैयाँकै पुरस्कार प्राप्त गर्नेछ ।