(रासस) । निर्वाचनको मिति नजिकिँदै गर्दा नेकपा(माओवादी केन्द्र) र बागी उम्मेदवारबीच कारबाहीको दोहोरी चल्न थालेको छ । वाम गठवन्धनले गरेको सिट बाँडफाँटका क्रममा सल्यानलाई अन्याय परेको भन्दै माओवादी केन्द्र सल्यानले गरेको बागी उम्मेदवारी दर्तासँगै चुलिएको विवाद पार्टीमा एकार्कालाई कारबाहीको सिफारिशसम्म पुगेको छ । वर्तमान माओवादी केन्द्रका जिल्ला संयोजक कर्णबहादुर बुढाथोकीलाई जिम्मेवारीबाट मुक्त गर्दै दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीलाई यही मंसिर ११ गते संयोजकको जिम्मेवारी तोकिएको थियो तर त्यसको दुई दिनपछि माओवादी केन्द्र सल्यानको पूर्ण बैठकले विनाविभागीयमन्त्री टेकबहादुर बस्नेतसहित पाँच जनालाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाहीका लागि सिफारिश गरेको छ । बैठकले माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नेवबहादुर कुँवर, कृतिबहादुर पुन, रमेश मल्ल र रत्नबहादुर ओलीलाई समेत हँदैसम्मको कारबाहीका लागि पार्टी केन्द्रमा सिफारिश गरेको माओवादी केन्द्र सल्यानका संयोजक(तर जिम्मेवारीबाट मुक्त भनिएका) बुढाथोकीले बताउनुभयो । माओवादी केन्द्र सल्यानको निर्णयअनुसार आफूहरुले उम्मेदवारी दिएको भन्दै पार्टीको झण्डा बोकेर घरदैलोमा बागी उम्मेदवार हिँडेपछि आधिकारिक उम्मेदवार को भन्ने विषयमा अन्योल छाएको छ । आफूहरु पार्टीको आधिकारिक उम्मेदवार भएकाले पार्टीको झण्डा बोक्नु ठूलो नभएको माओवादी केद्रका सल्यानका संयोजक बुढाथोकी जिकिर गर्नुहुन्छ । “हामीले प्रत्यक्ष निर्वाचनका लागि आआफनो चुनाव चिह्नमा मत मागेका छाँै, समानुपातिकका लागि गोलाकार हँसिया हथौडामा मत मागेका छौँ”, बुढाथोकीले भन्नुभयो । वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रबाट उम्मदवारी दिनुभएका विनाविभागीयमन्त्री बस्नेत भने बागी उम्मदवारले पार्टीको झण्डा बोकर मत माग्न गएको कहिल्यै नदेखेको बताउनुहुन्छ । “बागी उम्मेदवारी दिने तर पार्टीको झण्डा बोक्ने के यो सुहाउने कुरा हो, उहाँहरुलाई कार्यकर्तालाई भ्रममा पार्ने अधिकार कसले दियो ?”, बस्नेतले भन्नुभयो । वाम गठबन्धनविरुद्धमा प्रदेश (ख)बाट उम्मेदवारी दिनुभएका जितबहादुर पुनले उम्मेदवारी फिर्ता लिइसके पनि प्रतिनिधिसभा तथा प्रदेश (क)मा दिइएको उम्मदवारी भने कायमै छ । वाम गठबन्धनबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका बस्नेत तथा प्रदेशसभाका लागि प्रदेश (क)बाट एमालेका गुलाबजंग शाह र प्रदेश (ख)बाट प्रकाश ज्वालाले उम्मेदवारी दिनुभएको छ ।