बर्जु (सुनसरी)/महाभारतकालीन मान्यताको सुनसरीको बर्जु गाउँपालिका–६ स्थित ‘बर्जु ताल’ ले पर्यटकीय कोल्टे फेर्न थालेको एकाध वर्ष पनि भएको छैन ।
[caption id="attachment_62485" align="alignnone" width="816"]
बर्जु गाउँपालिका–६ मा रहेको बर्जु ताल । तस्बिरः भोजराज[/caption]
१५२ विगाहामा फैलिएको बर्जु सुनसरीको नमुना सीमसार पर्यटकीय क्षेत्र बन्ने स्थानीय तथा चिमडी बर्जुताल सीमसार विकास तथा संरक्षण समितिको मान्यता छ । तर, त्यही बर्जु सरकारबाट सधै उपेक्षित बनिरह्यो । अझ त्यो क्षेत्रबाट जितेर उपप्रधानमन्त्रीसम्म बनेका विजयकुमार गच्छदारबाट पनि उस्तैगरी उपेक्षित बनेको स्थानीयको आरोप छ ।
गच्छदारले २०७० को दोस्रो संविधान सभाको चुनावपछि संसद विकास कोषको जम्मा १५ लाख रुपैया रकम बर्जु तालको लागि छुट्टयाएको समितिका अध्यक्ष वालिम चौधरी बताउँछन् । ‘भर्खरै २०७२ मा १५ लाख बर्जु तालको नाममा आयो ।’ उनी भन्छन्, ‘बर्जु ताललाई जसरी सहयोग गर्नुपथ्र्यो त्यो हुन सकेन । यो हिसावमा त बर्जु ताल हारेको छ ।’ सुनसरी क्षेत्र नम्बर ३ मा पर्ने उक्त बर्जु ताल अहिले पनि गच्छदारकै क्षेत्रमा पर्छ । पञ्चायत ढलेसँगै २०४८ साल यतादेखि गच्छादारले त्यो क्षेत्रबाट जित्दै आएका छन् ।
२०४८ सालमा सूचना तथा सञ्चारमन्त्रीबाट पदासिन भएका गच्छदार उपप्रधान तथा गृहसम्म चलाए । थुप्रैपटक भौतिक तथा योजनामन्त्रीसमेत बने । तर, बर्जु ताल पर्यटकीय गन्तव्य बन्नबाट चुकिरह्यो । २०७३ साल चैत्र १७ गते मात्रै राष्ट्रपति चुरे मधेश तराई समितिबाट प्राप्त ३ करोड ६६ लाख रुपैया खर्चेर चारैतर्फ ‘ड्याम’ निर्माण भएपछि बल्ल तालले पर्यटकीय आकार लिएको छ । अध्यक्ष चौधरीका अनुसार समितिको रकमले तालको चारैतिर बाटो, ४ वटा पिक्निक स्थलमा सेड, ३ वटा शौचालय, छातासहितको ६ वटा बस्ने ठाउँ, तालको मध्यभागमा मन्दिर र चरा बस्न आइसल्यान्ड, १५ वटा प्लास्टिकको बोट, वृक्षरोपण गरेको छ ।
पौराणिक मान्यता अनुसार महाभारतमा पाण्डवहरु वनवासको समयमा एकवर्षे गुप्तवास बस्न आउँदा यही तालमै चार पाण्डवहरु पानी खाने क्रममा मुर्छित बनेको र जेठो भाइ युधिष्टिरले पानी खानुपूर्व आकासवाणीबाट सोधिएका पाँचप्रश्नको जवाफ दिएपछि मुर्छित भाइहरु बचाएको उल्लेख छ । यही तालमा पानी खान खादा उक्त घटना भएको भन्ने भनाइ रहेको समितिका कर्मचारी चन्दनकुमार भगत बताउँछन् ।
बर्जु तालको अर्को लोकोक्ती छ । त्यो के भने त्यहाँका मानिसहरुलाई ‘विवाह कार्जे’ को लागि सामग्री चाहिएमा त्यही तालको छेउमा आएर प्राथना गर्दा चाहिएको सामग्री प्राप्त गर्ने र उक्त सामग्री प्रयोगपछि सफा गरेर त्यही ठाउँमा ल्याएर राखेमा लोप हुने विश्वास पनि गरिने भगत बताउँछन् । बर्जुमा तीनवटा तालहरु छन् । जहाँ अन्य स–साना तालहरु पनि रहेका छन् । एउटा ताल ९० विगाहामा फैलिएको छ भने दुईवटा ताल ३०–३० विगाहामा फैलिएको छ । र, अन्य दुई विगाहामा साना तालहरु रहेका छन् । जहाँ विभिन्न प्रजातिका दैनिक ६ हजार भन्दा बढी चराहरु पाइन्छ ।
पछिल्लो एकवर्ष यता भारतबाट मात्रै २५–३० वटा टोलीहरु आइसकेका छन् । धरान, विराटनगर, इटहरीबाट पनि कलेज स्कुलका विद्यार्थीहरु उस्तै गरी आउने गरेको कर्मचारी भगत बताउँछन् । सुनसरीको दुहवी–इनरुवा सडक खण्डको औरावनीदेखि करिव १० किलोमिटर दक्षिण पश्चिम चिमडी बजारको छेवैमा पर्ने बर्जु तालकै नाममै ‘गाउँपालिका’ बनेको छ । तर, बर्जु तालको स्वरुप भने खासै फेरिएको छैन् । निर्वाचित सांसदले पनि वास्ता नर्गदा बर्जु तालले उचाई प्राप्त गर्न नसकेको स्थानीयको दाबी छ ।
अव जित्ने प्रदेश तथा प्रतिनिधि सभाका सांसदहरुले यो सीमसार क्षेत्रको विकास गर्नु पर्ने अध्यक्ष चौधरी बताउँछन् । ‘यो सीमसार बिकास गर्ने हामीसँग गुरुयोजना छ । त्यो अनुसार सांसदहरुको सहयोग रहयो भने यहीँबाट आर्थिक संकलन हुन्थ्यो ।’ उनी भन्छन् । त्यो गर्न सके स्थानीय चिमडीबासी मात्रै हैन, सुनसरीकै गतिलो पर्यटकीय क्षेत्रसँगै आर्थिक उपार्जनको केन्द्र बन्ने विश्वास समितिको छ ।