भद्रपुर । पेट्रोलियम पदार्थ भण्डारणका लागि नेपाल आयल निगमले प्रदेश नम्बर १ झापामा जग्गा खरिद गर्दा प्रक्रिया पुर्याएर भ्रष्टाचार गरेको पाइएको छ । निगमले झापाको मेचीनगरस्थित चाराआली डिपोको लागि साविक दुहागढी गाविस ३ हाल मेचीनगर १३मा खरिद गरेको जग्गामा बुधबार बिहान अनुगमनमा खटिएका सांसद्हरुले बताए पछि यस्तो पाइएको हो ।
निगमले खरिद गरेको जमिनमा ३४ करोड ८० लाख रुपैया बढी रकम घोटाला भएको खुलासा भएपछि व्यवस्थापिका–संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले जग्गामा अनियमितता भए÷नभएको विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न भन्दै सांसद् तथा समितिका सदस्यद्धय दीपक कार्की र रामविर मानन्धर स्थलगत अनुगमनमा आएका थिए भने यहावाट झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, मेची नगरपालिकाका प्रमुख विमल आचार्य, वडाध्यक्ष र पत्रकार सहितको टोलीले जमिनको स्थलगत अनुगमन तथा निरीक्षण गरेका थिए । यो विधि र पक्रिया पु¥याएर गरिएको भ्रष्टाचार भएको अनुगमनपछि झापाका सांसद् दीपक कार्कीले बताए । जमिन बढी मुल्य तिरेर खरिद गरेको कार्कीले दावी गरे । जमिन किनेको स्थान ठिकै भएपनि यहाँको सरकारी र चल्नचल्ती दरभाउ अनुसार ३ देखि ५ लाख सम्म पर्ने जमिनको मुल्यलाई ७ लाख बढी तिरेको उनको भनाई छ । १० बिगहा जग्गाले पुग्ने ठाउमा २४ बिगहा जग्गा लिएकोमा शंका रहेको कार्कीको भनाइ छ । निगमले २४ बिगहा १ कट्ठा १० धुर जग्गाको टेन्डर आह्वान गरी २३ बिगहा ३ कट्ठा १३ धुरको कारोबार गरिसकेको उनले बताए । निगमले विचौलियासँग मिलेर करोडौँ रुपैयाँ घोटाला गरेको सांसद् कार्कीले आरोप लगाए । आयल निगमलाई मानव बस्ती विकास हुने ठाउँमा जग्गा खरिद नगर्न भनिएतापनि भविष्यमै मानव बस्ती विकास हुने स्थानमा निगमले जग्गा खरिद गरेको उनले बताए । कसैको ७ , कसैको १ , कसैको ३ विगहा खरिद गरिएको उनले जनाए । जग्गा खरिदका लागि निगमले दलाल प्रयोग गरेको पाइएको उनको भनाइ छ । आयल निगमले प्रतिकठ्ठा साढे १३ लाख ५१ हजार रुपैयाँको दरमा जग्गा किनेको भएपनि स्थानीयलाई भने चुपचाप बस्न भन्दै ४ देखि ७ लाख रुपैयाँ प्रतिकट्ठा दिइएको अनुसनधानमा पाइएको उनको ठहर थियो ।

सांसद् तथा समितिका सदस्य रामबीर मानन्धरले १३ लाख ५१ हजार रुपैयाँ दरको जग्गा नभएको बताए । निगमले उचित स्थानमै जग्गा खरिद गरेको भएपनि कागज मिलाएर अनियमिता गरेको उनको भनाइ छ । जमिनको मुल्य र यहाको मुल्य फरक रहेको समितिको अन्तिम निश्कर्ष रहेकोले सोही अनुसारको प्रतिवेदन गठित समितिलाई बुझाउने उनले बताए । पेट्रोलियम पदार्थ भण्डारण गर्नका लागि पायक पर्ने ठाउँमै जग्गा खरिद गरे पनि हालिएको दरभाउ भने बेठिक भएको उनको भनाइ छ । यो विषय अख्तियारमा पनि पुगेकाले आफूहरुको प्रतिवेदनका आधारमा अख्तियारले कारबाही गर्नेमा आफू आशाबादी रहेको मानन्धरले बताए । मंगलबार र बुधबार जग्गाको अध्ययन तथा अनुसन्धान गरेको उनिहरुले बताए ।
३ बिगहा जग्गा बेचेका स्थानीय अर्जुनकुमार कार्कीले आयल निगम हो कि को हो भन्ने मलाई थाहा नभएकोले र भाउ फेरि पाइन्न भनेर मेरो दाइको जग्गा बेचिदिएको बताए । ४ लाख ४० हजार रुपैयाँ प्रतिकट्ठाले ३ बीगहा जग्गा आफूले निरज थपलिया भन्ने व्यक्तिलाई पास गरिदिएको उनले सुनाए । उनका अनुसार निरज थपलियाले नेपाल इन्भेष्टमेन्ट बैंकको चेक दिएर जग्गा खरिद गरेका थिए । आयल निगमका चारआली डिपो प्रमुख सनम कार्कीले यो ग्लोबल टेन्डर भएकोले हामीलाई केही पनि थाहा नभएको बताए । स्वीकृत र अस्वीकृत गर्ने काम पनि केन्द्रकै भएकोले शाखा कार्यालयलाई यसबारे सम्पर्क नै नगरेको उनले बताए । विज्ञ र खरिद कमिटीको टोली आएर सबै प्रक्रिया पूरा गरेको र आफूहरु सम्लग्न नरहेको उनले बताए ।
झापा मालपोतका अनुसार निगमले १६ जनाबाट जग्गा किनेको जनाएको छ । मालपोतका अनुसार चिरञ्जीवि मरासैनी, निरोजकुमार थपलिया, विष्णुमाया कार्की, भीमादेवी मरासैनी, कमलमाया बस्नेत, अनिलकुमार कार्की, भानु मरासैनी, नमिका कार्की, छत्रबहादुर कार्की, राम मैनाली, रमेश गौतम, गोमाकुमारी बस्नेत, नारायण मरासैनी, विष्णु कार्कीलगायत छन ।
निगमले झापाको चाराआलीस्थित शाखा कार्यालयको डिपो निर्माणका लागि २०७३ पुस ५ गते जमिन खरिदका लागि बोलपत्र आव्हान गरेको थियो । ३५ दिने बोलपत्रमा जारी गरिएको सूचना बमोजिम तीन वटा मध्ये टेण्डर परेको कम्पनीले २४ विगहा १ कठठा १० धुर जमिन खरिदका लागि निगमसंग स्वीकृत गरेको थियोे । बैशाख २५ गते कम्पनीसंग निगमले सम्झौता गरेको थियो । सम्झौता भएपछि कम्पनीका प्रतिनिधि निरोजकुमार थपलियाले मालपोत झापामा गएर १६ जना व्यक्ति मार्फत जेठ ४ गते निगमको नाममा रजिष्टे«शन पास गरेका थिए । निगमको नाममा जमिन आएपछि कम्पनीलाई जेठ ५ गते रकम भुत्तान गरेको थियो भने, जग्गाधनीबाट धनीपूर्जा बझुने काम चाराआली डिपो प्रमुख सनम कार्कीले गरेका थिए ।