सुनसरी । सुनसरीको झुम्कामा जिल्लास्तरीय लाखे नाच प्रतियोगितामा धरानको नेवाः सांस्कृतिक उत्थान मञ्च प्रथम भएको छ ।

नेवाः देय दबु सुनसरी जिल्ला कार्यसमितिको आयोजनामा शनिबार झुम्कामा सम्पन्न प्रतियोगितामा विजेता बन्दै नगद ३० हजार रुपैयाँसहित सम्मान–पत्र प्राप्त गरेको छ । १४ वटा लाखे समूहबीच गराइएको प्रतिस्पर्धामा संस्कृतिक उत्थान मञ्च विजेता बनेको हो । यस्तै नेवाः पुच चक्रघट्टी दोस्रो हुँदै नगद २० हजार रुपैयाँ पाएको छ ।

यस्तै धरानकै जाल्पा लाखे तेस्रो हुँदै नगद १५ हजार रुपैयाँसहितले पुरस्कृत भएको छ । यस्तै सान्त्वना नेवाः पुच इटहरी हुँदै नगद ७ हजार रुपैयाँ पाएको छ । नेवारी समुदायको मौलिक कला झल्काउने कुमारी नाच, नेवारी नाच पनि प्रस्तुत गरिएको थियो । यस्तो प्रकारको प्रतियोगिताले समुदायमा मौलिक संस्कृतिप्रतिको चेतना बढाउनुका साथै युवापुस्तालाई नेवारी मौलिक संस्कृति संरक्षणमा प्रेरित गर्ने नेवाः देय दबु सुनसरीका अध्यक्ष केदारकुमार श्रेष्ठले बताए । 

सांस्कृतिक समृद्धिमा टेवा पु¥याउने यस्ता कार्यक्रमहरूको निरन्तरताका लागि स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारबाट अझै बढी सहयोग अपेक्षा गरिएको श्रेष्ठको भनाइ छ । कार्यक्रममा कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थ, रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापालगायतको उपस्थिति थियो ।