विराटनगर । कोशी प्रदेशका ९३.१ प्रतिशत जनतामा आधारभूत खानेपानीको पहुँच पुगे पनि ३४.७ प्रतिशतमा मात्रै सुरक्षित खानेपानी पहुँचमा पुगेको कोशी प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले जनाएको छ ।

त्यस्तै आधारभूत सरसफाइ पुगेको जनसङ्ख्या ९८ प्रतिशत रहेको छ । २०७५ सालअगाडि आधारभूत खानेपानीको पहुँच ९० प्रतिशत थियो भने सुरक्षित खानेपानी पुगेको जनसङ्ख्या १५ प्रतिशत मात्रै थियो । कोशी प्रदेशको ५३ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । त्यसमा पनि वर्षभरि सिँचाइ सुविधा पुगेको क्षेत्रफल ३७.३ प्रतिशत मात्रै रहेको कोशी प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले जनाएको छ ।

खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले आइतबार सार्वजनिक गरेको प्रगति विवरणअनुसार प्रदेशमा कुल ५ लाख ९४ हजार ६ सय १६ हेक्टर जमिन सिँचाइयोग्य रहेको छ । जसमध्ये हालसम्म तीन लाख १८ हजार ७ सय ३५ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ पुगेको छ । त्यसको पनि ३७.३ प्रतिशत क्षेत्रफलमा मात्रै वर्षभरि सिँचाइ सुविधा पुग्छ । तथ्याङ्कअनुसार प्रदेश सरकार स्थापना भएको २०७५ सालयता १६ हजार ७ सय ३५ हेक्टर क्षेत्रफलमा थप सिँचाइ सुविधा पुगेको छ । 

प्रदेश सरकारले हाल एक हजार ४ सय ९१ वटा खानेपानी आयोजनाहरू सञ्चालन गरिरहेको छ । हालसम्म ५ वटा बहुवर्षीय योजना सम्पन्न भएको भने १५ वटा बहुवर्षे योजनाको स्रोत सुनिश्चित भएको मन्त्री कार्कीले जानकारी दिए । “नागरिकलाई गुणस्तरीय खानेपानी सेवा प्रवाह गर्ने ‘एक घर, एक धारा’ कार्यक्रम अन्तर्गत ३९ वटा योजना र लिफ्टिङ खानेपानी कार्यक्रम जस्ता विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ”–मन्त्री कार्कीले भने ।

प्रदेशले झापा, इलाम, पाँचथर, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, मोरङ र उदयपुर जिल्लामा खानेपानी तथा सरसफाइ योजना (वास प्लान) निर्माण गरी कार्यान्वयन गरिरहेको छ । गुणस्तरीय खानेपानी परीक्षणका लागि प्रयोगशाला सुदृढीकरण गरिएको र विभिन्न सार्वजनिक स्थानमा ‘वाटर एटीएम’ (स्वचालित पानी वितरण मेसिन) राख्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । ऊर्जा क्षेत्रमा प्रदेशको हालसम्मको जडित क्षमता ९५.३ मेगावाट पुगेको छ । 

मन्त्रालयले फोहोरबाट ऊर्जा उत्पादन गर्ने योजना अघि सारेको छ । प्रदेशको क्षमता २८ हजार मेगावाट विद्युत् उत्पादन भए पनि हालसम्म ६५३ मेगावाट मात्रै उत्पादन भएको छ । मन्त्रालयले नदी नियन्त्रणतर्फ ४८२.४० किलोमिटर तटबन्ध निर्माण गरेको छ । यस्तै दुई हजार आठ सय ९२ हेक्टर क्षेत्रफल जग्गा उकास गरेको तथा ९८ वटा पहिरो नियन्त्रण गरेको मन्त्रालयले जनाएको छ । 

मन्त्री कार्कीले मन्त्रालयको वित्तीय प्रगति पनि सन्तोषजनक रहेको बताए । चालु आर्थिक वर्षमा कुल बजेटको ९१.१९ प्रतिशत रकम खर्च भएको छ । साथै बेरुजु फस्र्यौटमा पनि उल्लेख्य प्रगति गर्दै ३१.०९ प्रतिशत बेरुजु घटाएको मन्त्रालयले जनाएको छ । मन्त्री कार्कीले प्रदेशको आवश्यकताअनुसार विभिन्न ऐन, नियमावली र कार्यविधि निर्माण गरी क्षेत्रगत सुशासन कायम गर्न मन्त्रालय क्रियाशील रहेको जानकारी दिए ।