नयाँदिल्ली /नयाँदिल्ली विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्दै भारतीय विदेशमन्त्री सुषमा स्वराज ।

काम कुरो एकातिर, कुम्लो बोकि ठिमीतिर भनेजस्तै प्रधानमन्त्री शेरबहादुर देउवा हतार-हतार फेरि ठूलो दलबलका साथ नयाँदिल्लीतर्फ हान्निएका छन् । छिमेकी राष्ट्रसँगको सम्बन्ध पारस्परिक हितको मुद्दामा केन्द्रित हुनु पर्छ । त्यसका लागि भ्रमणको आदानप्रदानलाई कुटनीतिक रुपमा अत्यधिक महत्वका रुपमा लिन सकिन्छ तर भ्रमण गर्दा राष्ट्रिय स्वाभिमानका विषयमा पनि ध्यान दिन आवश्यक छ ।

राष्ट्रिय महत्वका विषयलाई थाती राखेर हाम्रा प्रधानमन्त्रीले हतारमा भ्रमण नगरे पनि हुन्थ्यो नि भन्ने धारणा राख्ने जमात पनि ठूलै देखिन्छ । विगतमा पनि यसैगरी हतारमा गरिएका भ्रमणबाट हाम्रो मुलुकको हितमा के कति रचनात्मक उपलब्धि भयो भनेर समीक्षा गर्ने हो भने पनि सन्तोषजनक तथ्यांक फेला पर्दैन । फगत भ्रमणका लागि भ्रमणले पारस्परिक हितको मुद्दालाई तार्किक निष्कर्षमा पुर्‍याउँदैन भन्नेतर्फ पनि ध्यान दिनु आवश्यक छ ।

खुला सिमाना भएको भारतसँगको हाम्रो सम्बन्धको आधार र आवश्यकताका विषयमा यथेष्ट गृहकार्यसमेत नगरी गरिने भ्रमणले खासै महत्व पनि राख्दैन । भारतसँग विगतमा गरिएका सम्झौताको कार्यान्वयन नै भएन । बरु, ती सम्झौताको मर्मविपरितका कार्यले नेपालको भूमि नै बर्सेनि डुबानमा पर्ने गरेको छ ।

असमान सन्धि(सम्झौताको पुनरावलोकनमा समेत भारतले खासै चासो दिँदैन भन्नेजस्ता विषयमा पनि खुबै चर्चा हुने गरेको पाइन्छ । तर, छिमेक सम्बन्धको आधारको मिलनविन्दु भनेको सुरक्षा सरोकार हो भन्ने विषयमा यथेष्ट ध्यान दिएको देखिन्न ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा संसदमा दिएको मन्तव्यमा नेपालका सीमालाई साँघुमा रुपान्तरण गर्ने धारणा व्यक्त गर्दा हाम्रा सबै सांसदले ताली बजाएका थिए । उनले व्यक्त गरेको धारणा नदी प्रवाह रोक्ने र कहिल्यै नखोलिने ढोका पनि राख्ने तर्फ संकेत थियो ।

पुलहरु आवतजावतका लागि मात्र निर्माण गरिन्न । यो नियन्त्रणात्मक रणनीतिक योजना पनि हो । यसैगरी दुई मुलुकबीच पारस्परिक कानुनी सन्धि र सुपुर्दगी व्यवस्थामा तेस्रो मुलुकको नागरिकलाई समेत सुपुर्दगी गर्ने व्यवस्था रहनुपर्ने अडानमा भारत रहेको देखिन्छ । यी विषय भारतका लागि सुरक्षा सरोकारका दृष्टिले महत्वपूर्ण हुन् ।

राजेन्द्रसिंह भण्डारी राष्ट्र-राष्ट्रबीचको कुटनीतिक सम्बन्ध, सहयोग र समझदारीका विषयमा छलफल गर्दा दृष्यमा जुनसुकै मुद्दा वा एजेन्डा देखिए पनि सुरक्षाको चासोले अन्य सरोकारका विषयलाई अतिक्रमण गरेको पाइन्छ । कुनै राष्ट्र विशेषको उपस्थिति र गतिविधिले अन्य कुनै राष्ट्रको सुरक्षामा प्रतिकुल प्रभाव पार्छ भने राष्ट्रिय हितका मुद्दा सुरक्षा सरोकारको कित्तामा समाहित हुने गर्छन् ।

छिमेकी राष्ट्रहरुको सुरक्षा चासो सीमा सुरक्षामा मात्र सीमित नरही आन्तरिक सुरक्षा समेतमा पनि प्रवेश गरेको देखिन्छ । हाम्रा दुई छिमेकी राष्ट्रसँगको सम्बन्धको आधारभूत सिद्धान्त र केन्द्रमा रहेको हल गरिनुपर्ने सरोकारको विषय पनि सुरक्षा नै हो ।

सन् १९९२ मा भएको मुम्बई बम विस्फोटपछि सुरक्षित सेल्टरको खोजीमा दाउद इब्राहिम समूहको नेपाल प्रवेश भएको देखिन्छ । र, उक्त समूहको खोजीमा छोटा राजन समूहका बब्लु श्रीवास्तवलगायत आपराधिक समूहको नेपाल प्रवेशपछि भएका विभिन्न आपराधिक घटनाको अध्ययन र विश्लेषणबाट पनि भारतको सुरक्षा सरोकारको विषयले महत्व पाएको देखिन्छ ।

तत्कालीन सांसद मिर्जा दिलसाद वेगको हत्या, जमिम शाहलगायत विभिन्न हत्याका घटना र यासिन भटकल काण्ड यिनै विषयका उपज हुन् । सुरक्षा उल्झनको सुल्झन नगरी छिमेकीको हित सरोकारको मुद्दालाई समाधान गर्न सकिन्न भने आफ्नो सुरक्षा आश्वसताका लागि वैधानिकरअवैधानिक उपायको प्रयोग गर्ने छिमेकी प्रवृत्तीलाई पनि निराकरण नगरी पारस्परिक हितको मुद्दामा आशंकाको बादल लागिरहने देखिन्छ ।

यसका लागि नेपालले क्षेत्रीय सुरक्षा वातावरणको सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भने अर्कोतर्फ आफ्नो रणनीतिक उपस्थितिको फाइदा उठाउँदै राज्य शक्ति र सार्वभौमिकताको रक्षाका आधारस्तम्भका रुपमा रहेका सुरक्षा संयन्त्रको सुदृढीकरण र व्यावसायिककरणको अवसरलाई पनि सदुपयोग गर्न सक्छ ।

तसर्थ, हामीले पनि हाम्रो भूउपस्थिति र हामीप्रतिको छिमेकी राष्ट्रहरुको सुरक्षा निर्भरताको आवश्यकता वोध गराउने विषयलाई महत्वका साथ उठाउन जरुरी छ । छिमेकी राष्ट्रसँगको सम्बन्धमा कुनै न कुनै ढंगको परस्परको निर्भरताको विषयलाई स्थापित गर्न सकेमा कुटनीतिक सम्बन्धको सन्तुलन विन्दु पनि भेटाउन सकिन्छ ।

छिमेकीको उपस्थितिको अपरिहार्यतावोध दुवै पक्षलाई त्यतिकै मात्रामा हुन सकेमा मात्र आपसी हितको सम्बन्ध वाञ्छनीय हुन जान्छ । अन्यथा असम्वद्ध पक्षसँग मित्रवत सरोकार र व्यवहार कायम रहन सक्दैन । नेपालले छिमेकी राष्ट्रहरुसँगको सम्बन्धलाइँ सुरक्षा सरोकारका माध्यमबाट पारस्परिक हितको मुद्दामा संलग्न गराउने रणनीति अवलम्बन गर्नु आवश्यक छ ।

सुरक्षा सरोकारको मुद्दामा छिमेकी राष्ट्रको हितका विषयमा चर्चा गर्दा आफ्नो राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र आमनागरिकको प्रतिष्ठामा आँच आउने गरी बेला न कुबेला, उपलब्धिविहीन भ्रमणका लागि दलबलसहित पाहुना लाग्ने गरी दिल्ली दौडिरहने प्रवृत्ती पनि निरुत्साहित हुनु आवश्यक छ । आफ्नो स्वाभिमानको सम्मान गर्न नसक्नेले न त आफ्नै न अरुको सुरक्षा सरोकारको मुद्दा हल गर्न सक्छ ।

(भण्डारी नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक हुन्)