भद्रपुर । झापाको शिवसताक्षीमा घरायसी झगडा हुँदा शनिबार बिहान बुबाले आफ्नै छोरालाई खुकुरीले हानेर घाइते बनाएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी–३ पाराबारी बस्ने ४० वर्षीय मनकुमार तामाङले १८ वर्षीय छोरा सुसन तामाङलाई खुकुरीले हानेर घाइते बनाएका हुन् । उनीहरूबीच घरायसी विवाद भई झगडा हुँदा मनकुमारले सुसनलाई एक्कासि खुकुरी प्रहार गर्दा टाउको र दाहिने खुट्टाको घुँडापछाडि चोट लागेको प्रहरीको भनाइ छ ।

छोरालाई खुकुरीले हान्ने मनकुमारलाई धरमपुर प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइते सुसनलाई उपचारका लागि निम्स अस्पताल दमक पठाइएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय झिलझिलेले सुरु गरेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।