विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिकामा सार्वजनिक यातायात साधनहरूले लिइरहेको भाडादरको अनुगमन गरेको छ ।

लोकसेवा आयोगको परीक्षामा सहभागी हुन आउने विद्यार्थीहरूबाट सिटी सफारीलगायतका सार्वजनिक सवारी साधनहरूले मनपरी भाडा लिइरहेको गुनासो बढेपछि यो अनुगमन अभियान थालिएको हो । मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजन लम्साल शनिबार आफै सडकमा उत्रिएर अनुगमन गरेका छन् । लम्सालको नेतृत्वमा खटिएको ट्राफिक प्रहरी टोलीले विराटनगर महानगरपालिकाका विभिन्न स्थानमा बस, बिङ्गर, माइक्रो, म्याजिक, ई–रिक्सा र टेम्पोजस्ता यात्रुवाहक सवारी साधनहरूले लिइरहेको भाडादरको निरीक्षण गरेको हो ।

‘परीक्षार्थीहरू लगायत आम यात्रुहरूलाई मनपरी भाडा लिएर ठगी भइरहेको गुनासो आएपछि हामीले यो अनुगमन अभियान चलाएका हौँ’–इन्स्पेक्टर लम्सालले भने । उनका अनुसार अनुगमनका क्रममा केही सवारी साधनहरूले निर्धारित भाडादरभन्दा बढी रकम असुलेको पाइएको छ । यसरी बढी भाडा लिनेलाई फिर्ता गराउन लगाएको र फेरि लिएको पाइए कारबाहीको दायरामा ल्याउने उनले बताए । 

अनुगमनका क्रममा प्रहरीले सवारी चालकहरूलाई निर्धारित भाडादर लागू गर्न निर्देशन दिएको छ । साथै यात्रुहरूलाई पनि भाडा तिर्नुअघि भाडादर बारे सोधपुछ गर्न आग्रह गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले यस्ता अनियमित क्रियाकलापमा संलग्न सवारी चालकहरूलाई कानूनी कारबाही गरिने चेतावनीसमेत दिएको छ । इन्स्पेक्टर लम्सालले अनुगमनलाई निरन्तरता दिइने बताए । 

‘हामीले आगामी दिनहरूमा पनि विभिन्न स्थानमा यस्तै अनुगमन गर्नेछौँ’ उनले भने, ‘यसबाट सार्वजनिक यातायात व्यवस्थापनमा अनुशासन कायम हुनेछ ।’