इटहरी । झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म ९६ किलोमिटर लामो चार लेन सडक निर्माणअन्तर्गत इटहरीमा रोकिएको आयोजनाको काम केही दिनपछि सुरु हुने भएको छ ।
धमाधम निर्माण कार्यलाई तीव्रता दिइरहँदा इटहरीमा लामो समयदेखि विवादका कारण काम रोकिएको थियो । राजमार्ग अन्तर्गत इटहरी आइपुग्दा सहरको नक्सादेखि वातावरण र विविधता नै मासिने भन्दै सरोकारवालाले उपमहानगरलाई सचेत गराउँदै दुई पटकसम्म ज्ञापन–पत्र बुझाएका थिए । सम्झौता अनुरूप २०८१ असोजदेखि नै इटहरीमा काम थालिसक्नुपर्ने हो तर विवादै विवादका कारण नापजाँच र रुखहरू काटिसकेर बाँकी अधुरै छोडिएको काँकरभिट्टा–लौकही सडक आयोजनाका प्रमुख जगत प्रजापतीले बताए ।
पहिलो चरणमा नापजाँच सकेर दोस्रो चरणअन्तर्गत सडकको सीमाभित्र पर्ने रुखहरू काट्ने काम सकेको उल्लेख गरे । करिब ९ दिन लगाएर इटहरी क्षेत्रका ४ सय बढी साना तथा ठूला रुखहरू काटिएको पनि आयोजना प्रमुख प्रजापती बताउँछन् । मापदण्डभित्र अझै पनि केही घरहरू परेका छन् । घरधनीहरूसँग संवाद र सहकार्य जारी भए पनि उपमहानगरले समन्वय नगरेको प्रजापतीको दुःखेसो छ ।
सडक विस्तारका लागि नगर प्रमुखसँग पटक–पटक समन्वय गर्न खोज्दा समय नदिएको प्रजापतीको भनाइ छ । इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले भने कामको सिलसिलामा बाहिर रहेको कारण भेट गर्न असहज भएको बताए । जनताले चाहे अनुरूपको विकास दिन सुझाव दिइसकेको पनि उनले उल्लेख गरे । इटहरीमा राजमार्ग विस्तार गर्दा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसारको दुवैतर्फ ड्याम निर्माण गर्नुपर्ने भएको हुँदा नगरका सामाजिक अगुवाहरूले विरोध जनाएको प्रमुख प्रजापतीको भनाइ छ । इटहरीका सामाजिक अगुवाहरूले भने ड्याम बनाएर राजमार्ग विस्तार गर्दा सहरको स्वरूप बिग्रने कारण देखाउँदै दुवैतर्फ पिलर उठाएर स्काई ब्रिज निर्माण गर्न सुझाव दिँदै आएका छन् ।
बाँध बनाएर सडक विस्तार गर्दा इटहरीको स्वरूप नै बिग्रनुका साथै नगरलाई नकारात्मक असर पर्ने हुँदा त्यसको सट्टा दुवैतर्फ पिलर उठाएर स्काई ब्रिज निर्माण गर्नुपर्ने सामाजिक अगुवा मोदनीप्रकाश सिटौलाले बताए । इटहरीमा पुरानो डिजाइनअनुसार राजमार्ग विस्तार भए नागरिक आन्दोलनमा उत्रने नागरिक समाजका पूर्व अध्यक्ष राजु केसी बताउँछन् । यता आयोजना भने इटहरीलाई पेलेरै अघि बढ्ने रणनीति अपनाउन थालेको छ । पटक–पटक उपमहानगरका प्रमुख हेमकर्ण पौडेललाई समन्वय गरिदिन गरेको आग्रहको बेवास्ता गरेपछि आयोजना पेलेरै अघि बढ्ने र काम सक्ने दौडाहामा लागि परेको सडक आयोजनाभित्रकै अधिकारीहरू बताउँछन् ।
आयोजनाका प्रमुख प्रजापती पनि यो कुरालाई नकार्न सक्दैनन् । समन्वय नगर्दा काम गर्न असहज भएकाले जसरी हुन्छ अघि बढ्ने र काम सक्ने प्रजापती बताउँछन् । एसियाली विकास बैङ्कको ऋण सहयोग र नेपाल सरकारसँगको साझेदारीमा करिब ३४ अर्ब ९० करोडको लागतमा राजमार्ग विस्तारको काम भइरहेको आयोजनाको कार्यालय इटहरीले जनाएको छ । तीन वर्गमा निर्माण हुने सडक बजार, जङ्गल र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुने आयोजनाले जनाएको छ ।
इटहरीमा तीनवटा ओभर पास बन्ने
निर्माणाधीन एसियन हाइवेअन्तर्गत इटहरीमा तीनवटा ओभरपास बन्ने भएको छ । इटहरी खण्डमा बूढीखोलादेखि लबीपुरसम्म तीनवटा ओभरपास बन्ने आयोजनाका इन्जिनियर पल्लव श्रेष्ठले बताए । इटहरी चोकमा एउटा, पूर्वतर्फ जुटविकास वा तालतलैया जाने क्षेत्रमा अर्को र पश्चिमतर्फ इटहरी बसपार्कबाट हाइवे जोड्ने कलङ्कीमा अर्को ओभरपास बन्ने इन्जिनियर श्रेष्ठ बताउँछन् ।
‘आइरन वाल कन्स्ट्रक्सन’ गरेर ‘ओभरपास’ बन्ने उनले बताए । इटहरी चोकमा ४२ मिटरको चौडाइ र साढे ५ मिटरको उचाइमा ‘ओभरपास’ बन्नेछ भने ‘पूर्व र पश्चिमतिर १३ मिटर चौडाइ र साढे ५ मिटर हाइटको ओभरपास बन्ने इन्जिनियर श्रेष्ठको भनाइ छ । ‘दुवैतिर साढे ६ मिटरको सर्भिस लेन, साढे ५ मिटरको फुटपाथ, साइकल लेन र बीचमा साढे ३३ मिटरको सडक गरी ५० मिटर मापन गरेर काम सम्पन्न हुने श्रेष्ठको भनाइ छ ।