इनरुवा । रामधुनी मन्दिर हातामा निर्माण गर्न लागिएको निमकरोली बाबाको मन्दिर विवादमा परेको छ ।
नेपालमै पहिलो निमकरोली बाबाको मन्दिर बनाउने भन्दै निमकरोली बाबा सेवा समिति रामधुनीले मन्दिर शिलान्यास गरेको विषयलाई लिएर रामधुुनी बाबा वनस्खण्डी मन्दिर गुठी व्यवस्थापन समितिले विरोध जनाएको छ । गुठी संस्थानको अधीनमा रहेको रामधुनी मन्दिरमा जथाभावी मन्दिरसहितका संरचना निर्माण गर्न लागिएको भन्दै समितिले विरोध जनाएको हो ।
मन्दिर हातामा पत्रकार सम्मेलनको आयोजना गरेको समितिले रामधुनीको अस्तित्व सङ्कटमा पर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताएको छ । पत्रकार सम्मेलनमा बताइएअनुसार निमकरोली बाबाको मन्दिर र धर्मशाला निर्माणका लागि समितिसँग कुनै पनि किसिमको समन्वयसमेत गरिएको छैन ।
समितिले नगरपालिकाको सहकार्यमा मन्दिर र धर्मशाला निर्माण थाल्न लागिएको भन्दै उक्त कार्यलाई गैरकानूनी हुने भनेको छ । पुराताŒिवक सम्पदाका रूपमा रहेको मन्दिर परिसरमा रामधुनीसँग सम्बन्धित बाहेकका संरचना निर्माण गरिए रामधुनीको पहिचान र अस्तित्व खतरामा पर्ने समितिको ठहर छ । ७ करोड बढी लागतमा बनाइने भनिएको निमकरोली बाबाको मन्दिर र धर्मशालाका नाममा उठाइने चन्दाले रामधुनीकै गरिमामा आघात पुग्ने अध्यक्ष डिल्ली कार्कीको भनाइ छ । कार्कीले रामधुनी मन्दिर हाताभित्र रामसँग सम्बन्धित बाहेकका अन्य कुनै पनि मठ मन्दिर बनाउन नपाइने बताए ।
उनले भने, ‘रुख काटिएलान्, जग्गा हडपिएला, ठूला संरचना बन्लान् । भोलि अर्का बाबाले मन्दिर बनाउँछु भनेर आउलान्, आश्रम बनाउँछु भन्लान् ! रामधुनी मन्दिर त सिधँै ओझेल पर्ने भैगयो नि ! त्यसैले जुन स्थान जेका लागि प्रशिद्ध छ, त्यहाँ त्यसैको जगेर्ना र संरक्षण गरिनु पर्छ । अन्यथा हाम्रा सम्पदा र पहिचान लोप हुनेछन् ।’ पत्रकार सम्मेलनमा बोल्दै समितिकी सचिव निलम खतिवडाले निमकरोली बाबा नेपालका लागि आयातित बाबा भएको भन्दै उनको नाममा मन्दिर बनाउन दिने हो भने भोलिका दिनमा अन्यले समेत आफ्नो उपस्थिति खोज्दा परापूर्वकालदेखिको हिन्दूको आस्था र विश्वासको प्रतीक राम र रामधुनी ओझेल पर्ने बताइन् ।
खतिवडाले भनिन्, ‘कुनै पनि हालतमा रामधुनी मन्दिर हाताभित्र निमकरोली बाबाको मन्दिर बन्दैन । नगरपालिकाकै प्रमुख र उपप्रमुखसहितको उपस्थितिमा मन्दिर शिलान्यासको कार्य भएको छ । त्यसको जवाफ नगरपालिकाका जनप्रतिनिधिले दिनुपर्छ । कार्यपालिकाले निर्णय गरेर जग्गा दिइएको भनिएको छ । स्वयम् जनप्रतिनिधि नै रामधुनीको अस्तित्व सङ्कटमा पार्ने कार्यमा जुटेका हुन् भने सो कार्य नगर र नगरवासीको हित विपरीत हुनेछ । जसको मूल्य जनप्रतिनिधिले चुकाउनु पर्ने हुनेछ ।’ पत्रकार सम्मेलनमा समितिका रुद्र बस्नेत र राम कोइरालासमेतले निमकरोली बाबा मन्दिर निर्माण कार्य रोक्नुपर्ने बताए । जसका लागि अख्तियारदेखि सरकारको माथिल्लो निकायसम्म पुग्ने उनीहरूले बताए ।
केहीदिन अघि रामधुनी मन्दिर हाताभित्र निमकरोली बाबा सेवा समिति रामधुनीले निमकरोली बाबाको मन्दिर तथा धर्मशालाको शिलान्यास गरेको थियो । कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले निमकरोली बाबाको मन्दिर निर्माणको शिलान्यास गरेका थिए । शिलान्यास कार्यक्रममा रामधुनी नगरपालिकाका प्रमुख शङ्करलाल चौधरी र उपपमुख तारा थापासहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । उक्त शिलान्यास कार्यक्रममा बोल्ने क्रममा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बमोजिम निर्माण गर्न लागिएको संरचना बनाउन नगरपालिकाले समन्वय गरेको नगर प्रमुखले बताएका थिए । उनले नयाँ बन्ने संरचनाले रामधुनीको प्रचारप्रसारमा थप टेवा पुग्ने आशय व्यक्त गरेका थिए ।
शिलान्यास कार्यक्रममा आयोजक समितिकी उपाध्यक्ष प्रतीक्षा अधिकारीले बाबाको मन्दिर र तीन तल्लाको धर्मशाला ७ करोड लागतमा निर्माण हुने बताएकी थिइन् । उनले मन्दिर र धर्मशाला निर्माणमा नगरपालिकाले जग्गा उपलब्ध गराएको बताएकी थिइन् । सोही बमोजिम शिलान्यास गरिएको उनको भनाइ थियो । सेवा समितिले २ वर्षभित्र बनाइसक्ने लक्ष्य लिइएको मन्दिर र धर्मशाला निर्माणमा देशभित्र र बाहिर रहेका बाबाका अनुयायीहरूबाट सहयोगबापत चन्दा सङ्कलन गरिने जनाएको थियो ।
शिलान्यास कार्यक्रममा सहभागि मन्त्रीसहित नगरपालिकाका जनप्रतिनिधिले निमकरोली बाबाको मन्दिर र धर्मशाला सहितका संरचना निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । यसैबीच मन्दिर निर्माण बारेको जिज्ञासा राख्दा नगर प्रमुख शङ्करलाल चौधरीले निमकरोली बाबा सेवा समितिले आफूलाई झुक्याएको प्रतिक्रिया दिए । उनले भने, ‘धर्मशालाको लागि नगरपालिकाले डीपीआर तयार गरेकोमा उक्त समिति आएर काम गर्छु भनेपछि कार्यपालिकाले निर्णय गरेर धर्मशालाको लागि इजाजत दिएको हो । त्यसका अलावा मन्दिर बनाउने र निमकरोलीको नाम राख्ने बारेमा नगरपालिकाले कुनै सहमति दिएको छैन ।’
नगर प्रमुख चौधरीले थपे, ‘नगरपालिकालाई समेत गुमराह राखेको पाइएपछि उक्त निमकरोली बाबा सेवा समितिलाई छलफलका लागि डाकेका छौँ । रामधुनीको अस्तित्व सङ्कटमा पर्ने र पार्ने कुनै पनि कार्यलाई नगरपालिकाले स्वीकार्दैन ।’ उनले कुनै पनि हालतमा निमकरोलीको मन्दिर बनाउन नदिइने बताए ।