तेह्रथुम/तेह्रथुम, धनकुटा र संखुवासभाका किसानले लगाएको बन्दाकोपी बारीमै कुहिन थालेको छ । यि क्षेत्रका किसानले लगाएको बन्दाकोपीमा क्लबरुट अर्थात् गाँठे रोगको संक्रमणका कारण बारीमै कुहिन थालेको हो ।तीन वर्षअघि पनि यस क्षेत्रको बन्दाकोपीमा क्लबरुटको प्रकोप देखिएको थियो ।

नेपाल कृषि अनुसन्धान परिषद नार्कको बाली रोग विज्ञान महाशाखा खुमलटारले किसानका बारीमै आएर अनुसन्धान गरेको थियो । दुई वर्षसम्म नदेखिएको यो रोग यो वर्ष फेरि देखा परेको छथर गाउँपालिका–१, आङ्दिमका किसान टीका लिम्बुले बताए । सुरुमा बन्दाकोपीमा मात्रै देखिएको प्रकोप अहिले अन्य बालीमा समेत फैलिएर दुःख दिन थालेको किसान बताउँछन् ।

अहिले किसानले लगाएको काउली, रायो, ब्रोकाउली, तोरी, चम्सुर, सलगम लगायत बालीमा समेत क्लबरुटको संक्रमण फैलिएको छ । बन्दा, काउली फक्रेर बजारमा पठाउने बेलामा रोगले आक्रमण गरेको र बारीमै कुहिन थालेको किसान लिम्बुले बताए । ‘बजारमा पठाउने बेलामा बारीमै बन्दा कुहिएपछि ५ लाख रुपैयाँ बराबरको नोक्सान भएको छ,’ उनले भने ।

तेह्रथुमका छथर गाउँपालिकाका विभिन्न वडा र लालीगुराँस नगरपालिकाका धेरै किसानले बन्दाकोपीको व्यवसायिक रुपमा खेती लगाएका छन् । किसानले बारीबाट टिपेर बिक्रीका लागि पठाएको बन्दाकोपी समेत बाटोमै कुहिएपछि व्यापारीले समेत किसानबाट बन्दाकोपी खरिद गर्न छाडेका छन् ।

व्यापारीले पनि नलैजाने र बारीमै नटिपी राख्दापनि कुहिन थालेपछि किसान चिन्तामा परेका छन् । एक हप्ता यता मात्रै झण्डै १५ करोड रुपैयाँ बराबरको नोक्सान भएको सिधुवा कृषि भण्डारका बजार प्रमुख मेघेन्द्र गुरुङले बताए ।‘किसानले लगाएको बन्दाकोपीमा रोगको संक्रमण छ, त्यसैले टिपेर बेच्न लैजाँदा पनि गाडीमै कुहिन थालेको छ, किसानको बारीमै पनि ठूलो परिणाममा बन्दाकोपी कुहिएको छ,’ उनले भने ।

बन्दाकोपीबाटै यहाँका किसानको दैनिकी टर्ने गरेको छ । अरु अन्नबालीको खेती छाडेर किसानले बन्दाकोपीको व्यवसायिक खेती थालेका हुन् । तर यो वर्ष बन्दाकोपीमा रोगको संक्रमण देखा परेको र बजारमा पु¥याइएको बन्दाकोपीले समेत मूल्य नपाएकाले समस्यामा पारेको लालीगुराँस नगरपालिकाको चित्रेका किसान जगत काफ्लेले बताए ।

अघिल्ला वर्षमा कम्तिमा पनि १० रुपैयाँदेखि ३५ रुपैयाँ प्रतिकिलोसम्म कारोबार भएको बन्दाकोपी यो वर्ष ३ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ । त्यो पनि बन्दामा रोगको संक्रमण भएको थाहा पाएपछि व्यापारीले खरिद गर्नै मान्न छाडेका किसान काफ्लेले बताए । बन्दाकोपीको मात्रै खेती गर्दै आएका किसानहरुले बिहान बेलुका छाक टार्नै समस्या हुने गुनासो गरेका छन् ।

बारीमा बन्दा रोप्दा बीउ, प्लास्टिक, मल, विषादी, बारीको खनजोत र कामदार समेत गर्दा २ लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च भएको किसान काफ्लेले बताए । तर उत्पादन लिने समयमै रोग फैलिएकाले धेरै नोक्सानी भएको उनको गुनासो छ । किसानबाट लिएको बन्दाकोपी दुई दिनमै कुहिएर नष्ट हुन थालेपछि व्यापार ठप्प पारेको धरानका व्यापारी शिवचन्द्र चौधरीले बताए । उनले भन । ‘यसअघिका वर्षमा कम्तीमा चार–पाँच दिनसम्म कुहिँदैनथ्यो ।

यो वर्ष अत्यधिक कुहिन थालेकाले व्यापार बन्द गर्नुपरेको हो ।’ उनका अनुसार यो वर्ष तेह्रथुम र धनकुटाबाट लगेको बन्दा धरान नपुग्दै कुहिएको छ । कुहिएकाले भारत निर्यात गर्न नसकिएको व्यापारीहरुले बताएका छन् । बन्दा टिपेकै दिनदेखि कुहिन थालेको विषयमा किसानले अत्याधिक रासायनिक मल प्रयोग, झरी परेको बेला टिप्नु, हरियो तरकारी ढुवानीमैत्री गाडी नहुनु र बिक्री भण्डारस्थल पनि व्यवस्थित नहुनुजस्ता कारण रहेको व्यापारीको आरोप छ ।

काफ्लेका अनुसार ३० रोपनीभन्दा बढी जमिनमा लगाएको १५ लाख रुपैयाँ भन्दा बढीको बन्दा बारीमै कुहिएको छ । अघिल्लो वर्ष १४ लाख रुपैयाँको बन्दा बिक्री गरेका उहाँको बारीमा यो वर्ष खेती थप सप्रिएको थियो । तर फल लागेर बेच्ने बेलामा रोगको प्रकोप फैलिएर नोक्सानी बेहोर्नु परेको उहाँले बताउनुभयो ।

यहाँको बन्दाकोपी धनकुटाको सिधुवा हुँदै धरानको कृषि उपज बजारमा पुग्छ, र त्यहाँबाट मात्रै भारतीय बजारतर्फ निकासी हुन्छ । जिल्ला कृषि विकास कार्यालय तेह्रथुमका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराजा घिमिरेले बेमौसमी तरकारी खेतीको पकेट क्षेत्र घोषणा गरेकै क्षेत्रमा महामारीको रूपमा रोगको फैलिएपछि बाली चक्र परिर्वतन गरी खेती गर्न किसानलाई सुझाव दिएको र यस बारेमा आनुसन्धान भै रहेको बताए ।