शनिश्चरे /मोरङको पथरीशनिश्चरे १ को घिमिरे परिवारका लागि ‘जो होचो, उसैको मुखमा घोचो’ उखान चरितार्थ भएको छ । घरका अगुवा तोयानाथ र सरस्वती घिमिरे जटिल रोगको शिकार भएपछि विपन्न परिवार उपचार खर्चको समस्या छट्पटाइरहेको छ ।

सरस्वतीको जीवन संघर्षको कथाव्यथा निकै मार्मिक छ । पथरी बजारको पूर्वपश्चिम मुख्य सडक किनारामा हरिया मकै पोलेर बेच्दै ३ छोरा, १ छोरी गरी ६ जनाको परिवार धानेकी उनको जीवन अहिले संकटपूर्ण मोडमा पुगेको छ । ‘मैले लगातार ३२ वर्षसम्म आगोको रापमा मकै पोलेर परिवार पालें तर अहिले मेरो जीवन क्यान्सरको रापले पोलिदै छ ।’– आगोको राप र क्यान्सरको रापसँग तुलना गर्दै भावुकता प्रकट गरिन् । ६० वर्षीया उनको पाठेघरमा ऐंजेरु पलाउँदै गएर गत वर्ष वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शल्यक्रिया गरियो । ४ किलोको ऐंजेरु निकालियो । त्यसपछि ढुक्क बनेकी उनको शरीर फेरि शिथिल बन्दै गयो । त्यहाँ जेकजाँच गर्न जाँदा पुन ऐंजेरु पलाएको र क्यान्सर नै हुन थालेको थाहा पाएपछि परिवार चिन्तासँगै आर्थिक संकटमा पर्यो । क्यान्सर अस्पताल भरतपुरमा गएर हालसम्म ६ पटक किमोथेरापि गरिएको छ । लगातार कतिवटा किमो दिनुपर्ने हो यकिन छैन । ‘ऋण गरेर अहिलेसम्म १० लाख रुपैयाँ उपचारमा सकियो । अव फेरि भरतपुर जानका लागि पैसाको समस्या छ । कसरी उपचार गराउनु ?’– उनका कान्छा छोरा मोहनले विलौना गरे ।

त्यसो त उनका श्रीमान तोयानाथको ६ वर्षअघि फोक्सो प्वाल परेर शल्यक्रिया गरेर वल्लतल्ल वाँच्न सफल भएका छन् । ‘धेरै वोल्न समेत मिल्दैन, अरु काम गर्न त परै जाओस् । फेरि अहिले श्रीमती उस्तै रोगले थलिइ । जो होचो उसैको मुखमा घोचो भनेझैं हामीलाई संकट परिरहेको छ ।’– उनले भनें । उनको उपचारमा सवै १३ लाख ऋण परेको थियो । छोराहरु खाडी मुलुक गएर कमाउँदै त्यो ऋण सकेपनि आमाको उपचारमा फेरि ऋण परेपछि २ छोराहरु पुन विदेशिएका छन् । मकै पोलेर जोडेको ५ धुर जग्गामा सानो टिनको घर बाहेक उनीहरुसँग कुनै सम्पत्ती छैन । सरस्वतीले मकै पोल्न नसकेपछि उनका कान्छा छोराले घर नजिकै सानो खाजा पसल सञ्चालन गरेका छन् । उनीहरुको समस्या बुझेर स्थानीय युवा समाजसेवी भीमकुमार राईको अगुवाईमा १४ हजार ५० र राधिका चाम्लिङ र लीला गौतमको अगुवाईमा २ हजार ७ सय गरी शुक्रबार १६ हजार ७ सय ५० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । ‘लामो समयदेखि सडक किनारा बसेर मकै पोल्दै अरुको ज्यान बचाउने मानिस अहिले आर्थिक संकटमा आफ्नै ज्यान जान लागेको थाहा पाएर हामीले केही सहयोग संकलन गर्यौं । सवैले थोरै थोरै सहयोग गर्ने हो भनें उहाँका लागि उपचार गराउन सकिन्छ ।’– सहयोगी राईले मानवीयता प्रकट गर्दै भने ।

पिडीत परिवारले थाहै नपाई आफ्नै हिसावले सहयोग संकलन गरी हस्तान्तरण गर्न गएको टोलीसँग सरस्वतीले पैसा लिन मानिनन् । आफैं परिश्रम गरी जीवन जीउनु पर्छ भन्ने पाठ सिकेर सोही अनुरुप संघर्ष गर्दै आएकी उनले विदेशमा रहेका छोराहरुले के भन्छन् भनेर सहयोग ग्रहण गर्न मानिनन् । तर टोलीका सदस्यले उनको स्वाभिमानीपनलाई सम्मान गर्दै यसखाले समस्या पर्दा सहयोग आदान प्रदान गर्नुपर्ने कुरा सम्झाएपछि मात्र उनी बल्ल पैसा समात्न राजी भइन् ।