तेह्रथुम/तेह्रथुममा पाँच/छ वर्ष देखि पर्याप्त बर्षात नहुदा अधिकाँस ताल– तलैया सुक्दै गएका छन् । जिल्लाको आधा दर्जन पोखरी सुकी सकेका छन् भने अरु पोखरी पनि क्रमशः सुक्दै गएका छन् । पर्यटनको लागि पिकनिक स्थल भनेर देउराली भुल्केधारा सामुदायिक नमूना वन लालिगुराँस नगरपालिका बसन्तपुरले तीन वर्ष अगाडी दुई लाख रुपैयामा बनाएको गैरी पोखरीमा चराले पिउने पानी समेत नभएको स्थानीयवासी रामकृष्ण निरौला बताउछन । यसै गरि आठराई छातेढुंगााको डेउडी पोखरी र सुङ्नामको पाँचपोखरी, पञ्चकन्याको छथर पोखरी, ओख्रेको साँघुरी पोखरी, मेहरतापा पोखरी र शुक्रबारेको मुड्के पोखरी सुकीसकेका छन् । बाहै महिना टनाटन पानी हुने ति पोखरीहरुमा हिजोआज बर्खा याममा मात्र पानी जम्ने गरेको छ । पानी सुकेपछी कतिपय पोखरीमा स्थानीयले खनजोत गरी अन्नवाली लगाउन थालेका छन् । पर्यटकीय तथा धार्मिक महत्व बोकेका जिल्लाको मार्गा पोखरी, चिचिलिङ्ग पोखरी, रातपोखरी लागायतका पोखरी पनि सुक्दै गएका छन् । ति पोखरीहरुमा पनि आधाभन्दा बढी पानी सुकिसकेका छन् । आङ्दीम र फुलेक गाविसको सिमास्थित मार्गा पोखरी सुकेर एक चौथाई भागमा खुम्चिएको छ । २४ सय मिटर उचाईमा रहेको उक्त पोखरीको ८० प्रतिशत पानी सुकिसकेको मार्गा पोखरी संरक्षण समितिका सचिव लाक्पा छुती सेर्पाले बताए । ‘विगत ४/५ बर्ष अघिदेखी पोखरी सुक्न थालेको हो,’ उनले भने । ‘अव स्थानीय मुहानबाट पानी नल्याए पोखरी हराएर जानेछ ।’ विगत बर्षहरुबाटै पोखरीमा क्रमशः पानीको सतह घट्दै आए पनि गत वर्ष देखि भने तिब्र रुपमा पानी सुकेको उनको भनाई छ । अव स्थानीय मुहानबाट पानी नल्याए पोखरी संरक्षण गर्न नसकिने सेर्पाले बताए । हिउँदमा हिउँ नपर्नु, बर्षातको मात्र घट्दै जानु र वरीपरीको घना जंगल तथा बुट्यान मासिदै गएकाले पोखरीमा पानी सुक्दै गएको उनको अनुभव छ । साविकका ओयाक्जुङ्ग, जल्जले, सिम्ले गाविसको सिमास्थित चिचिलिङ्ग पोखरी पनि सुकेर एक तिहाई भागमा खुम्चिएको छ । पोखरीको तिन भाग मध्ये दुई भाग सुकिसकेको चिचिलिङ्ग पोखरी संरक्षण ब्यवस्थापन समितिका पूर्व अध्यक्ष ज्ञानबहादुर हुक्पा चोङ्वाङ्गले जानकारी दिए । पोखरीमा पानीको स्रोत नभएकाले पर्याप्त बर्षात नहुदा चिचिलिङ्ग पोखरी सुक्दै गएको उनको भनाई छ । ‘पोखरीको एक मात्र स्रोत बर्षातको पानी हो,’ उनले भने । ‘बर्षायाममा पर्याप्त पानी पर्न छाडेपछी पोखरी सुक्दै गएको छ ।’ विगत केहीबर्ष यता बर्षातको मात्रा घट्दै जानुका साथै पानीका मुहान सुक्दै गएकाले पोखरीहरु पनि सुक्दै गएको सामुदायिक वन उपभोक्ता महासंघ तेह्रथुमका अध्यक्ष तुलसी संग्रौलाले बताए । यसरी जैविक विविधताले भरिएको क्षेत्रमा पानीको स्रोत पोखरी लोप हुदाँ पर्यावरणमा नकरात्मक असर पर्ने अध्यक्ष संग्रौलाको भनाई छ । जिल्लाका अधिकांश पोखरीहरुमा पानी नभएकाले पानीको स्रोत जुटाउन बहुसरोकारवाला वन कार्यक्रम मार्फत सामुदायिक वन उपभोक्ता महासंघ तेह्रथुमले काम गरिरहेको अध्यक्ष संग्रौलाले जानकारी दिए । यसै गरि जैविक विविधतायुक्त एवं पर्यटकिय तिनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रका पोखरी लोप हुदै छन । यहाँका ऐतिहासिक साना ठुला पोखरी बर्सेनि सुकिरहेका छन । नेपालमा पाईने ३२ मध्ये २८ प्रजातिका गुराँस रहेको टिएमजेलाई गुरासको राजधानी पनि भनिन्छ । टिएमजे क्षेत्रका अधिकाँस पोखरी लोप भईसकेका छन । बाँकी केही पनि सुकिरहेको स्थानीयको भनाई छ । लालिगुराँस संरक्षण समितिका अध्यक्ष लक्ष्मण तिवारीका अनुसार टिएमजेको पदमार्ग सुरु हुने बसन्तपुर देखि माथिल्लो क्षेत्र जलजले सम्म करिब एक दशक अघि दर्जनौं पोखरी थिए । एक दशकको अवधिमा पाँचपोखरी, सुकेपोखरी, जोरपोखरी, खोकिन पोखरी लगायतका ऐतिहासिक पोखरी लोप भईसकेका छन । गुफापोखरी, लामपोखरी, भुतेपोखरी र झ्याउ पोखरीको अस्तित्व रहे पनि बर्सेनी सुक्दै छन । यो क्षेत्रको पदमार्ग आसपासका बस्तीको नामा पनि पोखरीकै नामबाट राखिएको छ ।