रंगेली /मोरङको रंगेली नगरपालिका ७ स्थित मालपोत अगाडी कामी टोलमा घर भएका रोशन विश्वकर्मा यतिबेला निकै तनावमा छन्।
उनी पैसाको अभावका कारण आफ्नो ५ वर्षीय छोरालाई उपचार गराउन नसक्ने अवस्थामा पुगेका छन्। रोशनका छोरा उपचारको अभावमा ५ वर्ष बितिसक्दा राम्रोसँग उभिन सक्दैनन्। उनको बोली पनि फुटेको छैन्। विगत १० वर्षदेखि ५ धुर एैलानी जग्गामा सानो फुसको घर बनाएर बसेको विश्वकर्मा परिवारको अवस्था दयनीय छ। आमा शान्ता विश्वकर्मा छोराको जर्जर बन्दै गइरहेको स्वास्थ्य अवस्थाले आफूहरुलाई झन चिन्तित तुल्याएको बताउँछिन्। रोशनको बुवा १५ वर्ष अगाडि बितेका थिए। आमा ७ वर्षदेखि भारतको लुधियानामा दैनिक ज्यालादारी काम गरेर बसिरहेकी छिन्। रोशन घरमा अपाङ्ग छोरा भएका कारण अन्य विकल्प खोज्न विदेशिन सकेका छैनन्। ‘बुवा बित्नुभयो। आमा लुधियानामा हुनुहुन्छ। छोराको अवस्था दयनीय छ। काम गर्न बाहिर जान सकेको छुइन्। उपचार गराउन पर्याप्त पैसा पनि छैन्,’ उनले दुःखेसो गरे। रोशन रंगेलीबाट काठमाडौं चल्ने बसमा दैनिक सरसफाइको काम गर्छन्। कहिले उनी दैनिक ४ सय रुपैयाँ पारिश्रमिकबापत घर लिएर जान्छन्। कहिले बस नआउँदा रित्तै हात घर फर्किन्छन्। ‘उहाँको कमाइँले जेनतेन खान पुग्छ। उपचारको लागि पैसा छैन,’ शान्ता भन्छिन्। दुई वर्ष अगाडि उपचारका लागि यो जोडीले आफ्नो बच्चालाई विराटनगरस्थित शारीरिक पुनःस्थापना केन्द्रमा पुर्याएको थियो। तर, त्यहाँ राम्रो उपचार गर्नुको साटो घरमै मालिस गर्नु भनेर फर्काएको शान्ता बताउँछिन्। ‘खै हजुर, गरिबको कसैले नसुन्ने रहेछ,’ उनले भनिन्। उनीहरुले छोरालार्इ उपचारका लागि थुप्रै ठाउँ पुर्याइसकेका छन्। तर, सबै ठाउँमा पैसा नभएका कारण उपेक्षित बन्नु परेको उनीहरुको अनुभव छ। अहिले नेपालमा विदेशी सहयोगको नाममा थुप्रै संस्थाहरु खुलेका छन्। तर, तिनीहरु पनि पहुँचभन्दा बाहिर पुग्न नसकेको उनीहरुको ठम्याई छ। ‘गरिब र बोली नभएका व्यक्तिको पहुँच नपुग्ने रहेछ। अब हामीलाई सरकारको आशा छ। उपचार गरिदिए धन्य हुनेथियौं,’ उनीहरु भन्छन्।
सेताेपाटीबाट
































