तेह्रथुम/ फेदाप गाउँपालिका ओयाक्जुङ जोगी गाँउका ७६ वर्षिय कृष्ण वहादुर जोगी आज भोली घर आँगन भन्दा टाढा हिडडुल गर्न सक्दैन् । उमेरमा जंगली जनावर वराँठको सिंग फुक्दै रातको समयमा देश विदेश डुल्दाको याद उनी झल्झली सम्झन्छन् ।

ति दिन सम्झदा उनलाई अहिले पनि फेरी लगाउदै देश परदेश सम्म जाउँ जाउँ लाग्छ, तर सो कामका लागि उनका हातखुट्टा चल्दैनन् ।सोही ठाउँका ६९ वर्षिय चन्द्र वहादुर जोगी पनि वुढौली उमेरका कारण घरमै थलीएका छन् । शरिर पाको भएको छ । उनी कान सुन्दैनन् । घरको आ“गन नै उनका लागि यतीवेला परदेश समान भएको छ । अरुले भनेको सुन्न नसक्ने उनी उमेरमा फेरी लगाउदै गाउँ देखी परदेश सम्म चहार्दा भोगेका राम्रा नराम्रा कुराहरु भने घरमा आउने जो कोही संग वताउन आतुर हुन्छन् । गाउँकै अगुवा यि वृद्ध जोगीहरुलाई पछिल्लो समय एउटै चिन्ताले सताएको छ, अहिलेका छोरा नाती पुस्ताले परम्परा नधानीदिएलान भन्ने ।ओयाक्जुङ्गको साविक ५, ७, ८ र ९ वडामा रहेका जोगी समुदायको मुख्य पेशा अहिले संकटमा छ ।

रातको समयमा फेरी लगाउदा गाउँ शहर डुल्ने र उज्यालो भएपछि ति घर वाट अन्न, नुन तेल र आनासुकी पैसा संकलन गरेर जीविकोपार्जन गर्दै आएका पाका पुस्ताका जोगीहरु पछिल्लो पुस्ताले यो पेशा अपनाउन नमानेपछि निरास छन् । ‘अव हाम्रो जातीय परम्परा नासीने भयो’ स्थानीय वृद्ध कृष्ण वहादुुरले जोगीले भने ‘फेरी लगाउदै गाउँ डुल्न त मन छ नी, के गर्नु शरिरले सक्दैन् ।’साउन, भदौ, असोज, कात्तिक र चैत्र महिना गरी वर्षको पाँच पटक नेपालका गाउँ शहर फेरी लगाउदै डुल्ने र वाँकी समय भारतका सिक्कीम, गान्तोक, मणिपुर, दार्जिलिङ, खर्साङ, कालिङपोङ लगायतका शहर वजार सम्म पुगेर फेरी लगाउने र तिन चार महिनामा घर फर्किने पाका पुस्ताका जोगीहरुको दिनचर्या नै थियो ।

भारतीय भुमीमा फेरी लगाउदा कमाई पनि राम्रो हुने र फर्किएर आउदा परीवारलाई लत्ता कपडा र अन्य घरायसी प्रयोजनका समान लिएर आउदा परीवारका सवैको मुख हंसिलो हुन्थ्यो ।

‘अहिले त वुढाले फेरी लगाउन सक्न छोडे, छोराले मान्दैन’ कृष्ण वहादुरका ५९ वर्षिय श्रीमति टंकमायाले स्थानीय लवजमा भनिन् । जवानीमा फेरी लगाउन भारत छिरेका श्रीमानले चार महिना पछि फर्किएर आउदा ल्याईदिएको नयाँ फरिया उनले अहिले पनि जतन गरी राखेकी छिन् ।

श्रीमानले परदेश वाट ल्याईदिएको नयाँफरीया गाउँमा कसैको शुभकार्य हुदा र हाटवजार जा“दा मात्र लगाउने गरेको उनले वताईन् ।तन्नेरी जोश र जाँगर हुदा फेरी लगाउदै गाउँ शहर हुदै परदेशी मुलुक सम्म चहार्ने गरेका चन्द्र वहादुर र कृष्ण वहादुरका गाउँले दाैतरी यतिवेला घरमै थला परेका छन् । अधिकांशको मृत्यु भैसकेको छ । भएकाहरु पनि पुख्र्यौली यो पेशा धानी राख्न सक्ने अवस्थामा छैनन् । ‘फेरी लगाउन हामी युवाहरु मिलेर निस्कीए पछि केही महिना सम्म गाउँमा आईमाई केटाकेटी मात्र हुन्थे’ चन्द्र वहादुरले ती दिन सम्झीए । आफना छोरा नातीले आफुले धान्दै आएको फेरी लगाउने पुख्र्यौली पेशा संहाल्न नमानेपछि जातीय पहिचानको रुपमा रहेको पेशा नै लोप हुने अवस्थामा पुगेको जोगी अगुवाहरुको गुनासो छ ।

पछिल्लो पुस्ताका जोगी युवाहरु फेरी लगाउनु भन्दा बरु वैदेशीक रोजगारीमा जाने तथा अरु नै पेशा व्यावसाय संहाल्ने तर्फ लागेपछि यो समुदायको जातीय पहिचानको रुपमा रहेको फेरी लगाउने पेशा नै संकटमा परेको स्थानीय सिद्धकाली मावीका प्रध्यानाध्यापक कमल दुलालले वताए । ‘जोगी समुदायको ढुंग्रे अरव अहिले संकटमा पयो’ प्रअ दुलालले भने । स्थानीयहरु जोगीले घर वाहीर गएर फेरी वजाउने पेशालाई ढुंग्रे अरव भन्ने गर्छन् ।जोगी समुदायमा आºना छोरा नातीलाई विवाह पछि परिवार वाट छुटिएर जाँदा समेत अंशको रुपमा त्यही फेरी लगाउने वराँठको सिंग दिने चलन थियो ।

‘पुख्र्यौली पेशा नछोड्नु, फेरी लगाएर जीविकोपार्जन गर्नु’ अंशको रुपमा फेरी लगाउने वरा“ठको सिंग दिदै अभिभावकहरुले यही आशिस दिन्थे । तर यसरी अंशको रुपमा फेरी लगाउने सिंग पाउने धेरै छोरा नाताीले पेशा नै त्याग्दै लगेका छन् । वावुले अंशको रुपमा दिएको सिंग पुजा गर्ने थानमा राखेको स्थानीय २९ वर्षिय युवा दुर्गा वहादुर जोगीले वताए । ‘अहिलेको समयमा फेरी लगाएर पहिलेको जस्तो जीविकोपार्जन हुदैन’ उनले भने ‘वरु अरव गयो दुईचार पैसा त्यतै वाट कमाई हुन्छ ।’

उनका भनाईमा पछिल्लो पुस्ताका युवाहरुले लाज मान्नु, पेशा वाट आत्म सम्मान नपाउनु, अन्य समुदायले हेयका दृष्टिले हेर्नु, वर्षभरी नै काम नपाउनु, आकर्षक कमाई नहुनु जस्ता धेरै कारणले पेशालाई अंगाल्न नमानेका हुन् । जातीय पहिचानका रुपमा रहेको पुख्र्यौली यो पेशालाई वचाएर लैजाने सोचाईमा आफुहरु जस्ता युवाहरुको सोचाई रहेपनि नसकीएको उनले वताए ।जातीय पहिचान वोकेको पेशाको स्थायीत्वको लागि सरकारले समेत हाल सम्म केही सहयोग नगरेकोमा भने जोगी समुदायहरु निरास छन् । संस्कार धानी राख्ने सवालमा सरकारी सहयोग एक पैसा नपाएको उनीहरुको भनाई छ ।