
‘म्याडम नमस्कार । मेरो नाम पवन कार्की (नाम परिवर्तन) । मेरी श्रीमती आज बिहानदेखि घरमा छैन । छोरी लिएर निस्किएकी अहिलेसम्म घरमा आएकी छैन । फोन गर्दा घरमै छु भन्छे तर म घरबाट नै आएको ... उ घरमा छैन ।’ ‘हजुरहरुले छोडपत्रका लागि निवेदन लेखेर जिल्ला पठाए पनि उ जान मान्दिन । घरमा बसेर खाना समेत बनाउँदिन । म मजदुरी गर्ने मान्छे कसरी सधैँ यस्तो झेल्न सकुँला र ? न त मिलेर बस्न सकिन्छ न त छोडेर जान सकिन्छ ? म के गरौं म्याडम ?’ तेह्रथुमका पवन महानगरी प्रहरी महिला सेल कालिमाटीमा यसरी आएको दोस्रो पटक हो । पहिलो पटक साउन ४ गते श्रीमतीले उजुरी दिएपछि महिला सेल आएका थिए । अहिले श्रीमतीले दुःख दिएको भन्दै उनी फेरि महिला सेल कालिमाटी आएका हुन् । तेह्रथुम घर भएका पवन कार्कीलाई श्रीमतीसँग छोड पत्र गर्न मन छैन । सँगै मिलेर घरजम गर्ने रहर छ । तर श्रीमतीको व्यवहारले भने उनलाई अहिले नै छोडौं भइरहेको छ । छोडपत्रका लागि जिल्लामा नै जानु पर्छ । ‘श्रीमती जान मान्दिन, म गएर छोडपत्र हुँदैन’ उनले भने । प्रहरीले उनको श्रीमतीको मोवाइलमा फोन गर्दा फोन उठेन । प्रहरीले उनलाई सम्बन्धित निकाय जान सुझाव दिए । तर श्रीमती नै जान नमानेपछि समस्या भएको उनले बताए । प्रहरीले स्थानीय तहमा गएर मुद्दा हाल्न सकिने तर ढिला हुन सक्ने जानकारी गराए । प्रहरीले धेरै सम्झाए, तर उनको अनुहारमा खुशी भने छाउन सकेन । यस्तै अर्काे व्यथा काठमाडौंमा बसोबास गर्दै आएका एक जोडी प्रहरी चौकीमा भनाभन गर्दै थिए । तिमी र यो केटीबिच के सम्बन्ध छ ? तिमी सधैं घर नआएर कहाँ जान्छौ ? रातदिन तिम्रो अफिसमा के काम हुन्छ ? यसैसँग हिँड्नका लागि मसँग झुटो बोलेको ? म यो केटीलाई चिन्दिन । म अफिस कै कामले घर बाहिर हुन्छु । पाल्न पर्ने मैले हो क्यार शंका गरेर हुन्छ ? म आफैं कम्पनी चलाएर बसेको मान्छे । आफैंले काम नगरे खाना पाईंदैन । अनि काम कै लागि बाहिर निस्कँदा नि किन यत्रो हल्ला ? म उहाँहरु दुवैलाई चिन्दिन । के कारणले मलाई आरोप लगाउनु भाको मैले बुझेकी छैन । उहाँसँग मेरो कुनै सम्बन्ध पनि छैन । म केही बोल्दा पनि बोल्दिन । श्रीमतीले केटीलाई राम्रोसँग ‘अस्ति तिमीले भनेको कुरा भन, यदि तिमी मेरो लोग्नेलाई छोड्नै नसक्ने हो भने त्यही अनुसार कुरा गर्नुपर्याे हैन भने दुवैलाई मुद्दा हालिदिन्छु’ भनिन् । तर केटीले मुख खोल्न मानिनन् । श्रीमती चाहिँ भन्दै थिईन् ‘यो घरमा नआएको तीन चार दिन भयो, सँगै बसेर केही नबोल्ने बोले एउटै कुरा गर्ने भनेर कुरा मिलाएर आए ।’ थानकोटका किशोर महर्जन (नाम परिवर्तन) का श्रीमती वैदेशिक रोजगारमा छिन् । उनीहरुका दुई सन्तान छन् । घरमा वृद्ध आमा छिन् । कमाउनका लागि श्रीमती बाहिर गएपछि किशोरको गाउँकी एकजना केटीसँग आउजाउ चल्यो । घरको रेखदेखमा उनले खुबै सहयोग गरिन् । अहिले आएर ती केटीले आफू किशोरसँगै बस्न पाउँ भनेर मुद्दा हालिन् । तर किशोर उनलाई स्वीकार्न तयार छैनन् । ‘मेरी श्रीमती विदेशबाट आउँदै छिन् यिनलाई सँगै राखेर उनलाई के जवाफ दिउँ’ उनले भने । प्रहरीमा उजुरी परे पनि श्रीमती हुँदाहुँदै अर्को श्रीमती भित्र्याउन भन्न कानुनले दिँदैन । त्यसमा पनि केटा आफैं उनलाई श्रीमती स्वीकार्न तयार छैनन् । केटी केटालाई छोड्न तयार छैन । केटा आफू दोषी भए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको बताउँदै थिए । प्रहरी भने एक आपसमा मिलापत्र गरेर अलग बाटो हिँड्दा राम्रो हुन्छ भन्दै थिए । ‘हामी तपाईंलाई कसरी अरुको श्रीमानसँग बस्न सक्नुहुन्छ भनेर भन्न सक्छौं, तपाईंले नि पहिले नै विचार गर्नुपर्दैनथ्यो पछि यस्तो हुन सक्छ भनेर’ प्रहरीले अलिक ठूलो स्वर गरेपछि भने उनले आफूले गल्ती गरेको स्वीकारिन् । प्रहरीले किशोरलाई पनि हकार्यो । ‘श्रीमती हुँदा हुँदै अर्को केटीलाई आँखा लगाउने ? त्यतिबेला चाहिँ तपाईलाई मेरो पनि श्रीमती छ है भन्ने लागेन ?’ किशोर केही बोलेनन् । प्रहरीले दुवै जनालाई के गर्ने एक्लै बसेर सल्लाह गरेर आउन भने पछि बाहिर निस्किए । महानगरीय प्रहरी महिला सेल कालिमाटीमा यस्ता घरायसी झगडा, आपसी मनमुटाव र महिला हिंसाका मुद्दा दैनिक १५/२० वटा जति आउने प्रहरी निरीक्षक सुरक्षा केसीले जानकारी दिए । ‘कहिले बहुविवाह को मुद्दा त कहिले घरेलु हिंसा तथा महिला हिंसाका मुद्दा आइराख्छन्’ उनले भने । कतिपय अवस्था पढेलेखेका र बुझेका मान्छे नै हिंसामा परिरहेका छन् ।
उज्यालोअनलनइनबाट