स्मृति केवल विगतको सम्झना होइन, त्यो वर्तमान र भविष्यबीचको एक पुल हो । जहाँ एक पुस्ताले अर्को पुस्तालाई प्रेरणा सुम्पिन्छ । यही स्मृतिको उज्यालो यात्रामा जोडिन्छ इजा स्मृति दिवस । जुन हरेक वर्ष भारतको दार्जिलिङमा एउटा भावनात्मक साहित्यिक उत्सवको रुपमा मनाइन्छ । एउटा छोरीको स्मृतिमा उनको जन्मदिनलाई एउटा ‘साहित्य उत्सव’ को रुपमा मनाइँदै आएको १२ औं संस्करण पुगेको छ ।

यस वर्षको १२ औँ इजा स्मृति दिवस अगस्त १० मा सम्पन्न भएको छ । दार्जिलिङको नेपाली साहित्य सम्मेलनको भव्य सभाहलमा आयोजित समारोह केवल साहित्यिक सम्मानको उत्सव मात्र थिएन, त्यो एक आमाले आफ्नी दिवङ्गत छोरीप्रति अर्पण गरेको अविरल माया र जिउँदो सम्झनाको जीवन्त दस्तावेज पनि थियो । नेपाल, भारतको तेजपुर, गान्तोक, सिक्किम, खरसाङ आसमलगायत दार्जिलिङका वरपरका क्षेत्रका नेपाली भाषी साहित्यानुरागी मनहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । 

कार्यक्रमको सुरूवात दीप प्रज्वलनबाट भयो ।  इजा प्रकाशनकी अध्यक्ष साहित्यकार अमला सुब्बा, कार्यक्रमका प्रमुख अतिथि समाजशास्त्री, इतिहासकार डा. टी.बी. चन्द्र सुब्बा, विशिष्ट अतिथि ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की र इजा प्रकाशनका संस्थापक नवीन सुब्बाले संयुक्तरुपमा दीप प्रज्वलन गरेर कार्यक्रमलाई सुरूवात गरियो । त्यहाँ दीप मात्र प्रज्वलन थिएन, त्यहाँ इजा हाङ्मा सुब्बाको स्मृतिको उज्यालो पनि थियो । जहाँ इजा सुब्बाको तस्बिर अगाडि पुष्पार्पण गरियो । अनि दार्जिलिङकी उदयमान गायिका सोनु राईको मिठो स्वरमा सरस्वती वन्दनाको सङ्गीतले आत्मालाई छुने प्रयास गरियो । 

यही क्रममा कवि हेमन्त सुब्बाले इजा र दार्जिलिङको कथा सुनाए । इजा प्रकाशनकी सल्लाहाकार कमला लेप्चाको स्वागत सम्बोधन र मञ्चमा बसेका अनुहारहरुले एउटा सन्देश दिइरहेका थियो, साहित्य एक सामाजिक शक्ति हो, जसले मृत्युपारिको जीवनमा पनि सास फेर्न सक्छ । कार्यक्रमका प्रस्तोता साहित्यकार सुनिल राई प्रणामीको सुन्दर उद्घोषणले सम्मेलन भवनको माहौल झनै तताएको थियो । कार्यक्रमको मुख्य आकर्षण ‘इजा स्मृति प्रतिभा सम्मान’ थियो । बहुप्रतिभासम्पन्न वसन्ती शाह र वरिष्ठ सङ्गीतकार राम विष्टलाई सम्मान गर्नु केवल व्यक्तिलाई होइन, त्यो व्यक्तित्वभित्रको सङ्घर्ष, सिर्जना र संवेदनशीलतालाई सम्मान गर्नु थियो । वसन्तीले धेरैलाई नृत्यमा पारङ्गत बनाएकी छन् । गायक राम विष्टको जीवन सङ्गीतको उर्वर जलधारा जस्तै छ । जसले विभिन्न मोडहरु पार गर्दै अन्ततः साङ्गीतिक महासागरमा आफ्नो अस्तित्व अमर छाप छोडेका छन् । त्यस्ता व्यक्तिलाई इजाले नगद पुरस्कारसहित सम्मान गर्दा उमेर ढल्कँदै जाँदा पनि आफ्नो कर्ममा निरन्तर लागिरहन प्रेरणा मिलेको छ । 

इजाको मुख्य सम्मान ‘इजा स्मृति युवा साहित्य सम्मान’ आसामका सन्तोष राउतको ‘ऐन फ्रेङ्को देशमा’ कृतिले पायो । इन्जिनियरसमेत रहेका राउत उपस्थित नभए पनि उनका पिता ज्ञानबहादुर छेत्रीको उपस्थिति भावनात्मक थियो । उनी आसामको मात्र नभएर नेपाली साहित्याकाशका चम्किलो तारा हुन् । छोराको सम्मान उनले थापे । एउटै मञ्चमा दुई पुस्ताको सहभागिता साहित्यको निरन्तरताको परिचायक पनि बन्यो । इजा प्रकाशनको पहिलो सम्मान कालेबुङकी निर्दाेषिका तामाङ र दोस्रो सम्मान बिजबारी दार्जिलिङका कर्ण विरहले पाएका थिए । 

‘इजा’ केवल नाम होइन, त्यो एउटा भाव हो । यही भाव मञ्जुला तामाङ सुब्बाको मुक्तक सङ्ग्रह ‘अक्षर तरङ्ग’ र नुरन राई ‘जुदु’ को ‘जिन्दगीले कुँदेका कथाहरु’ मा स्पष्ट झल्किन्छ । यी पुस्तकहरु पनि यही मञ्चबाट सार्वजनिक भए । जुन पुस्तक इजा प्रकाशनले प्रकाशन गरेको हो । मुक्तक सङ्ग्रहमाथि युवा कवि प्रदीप रसाइलीको टिप्पणी, कथा सङ्ग्रहमाथि डा. योगेश खातीको कृति परिचयसहितको टिप्पणीले दुवै पुस्तकको सारसङ्क्षेप उजागार गरेको थियो । खातीले प्रस्तुत गरेको ९ पृष्ठ लामो समीक्षा, साहित्यिक आलोचना कति सूक्ष्म र गहिरो हुन सक्छ भन्ने प्रमाण थियो ।

iza

कार्यक्रमको मैजारो हुँदै गर्दा इजा प्रकाशनकी संस्थापक मञ्जुला तामाङको सम्बोधनले दर्शकदीर्घा र मञ्च मौन बनायो । उनका भावना र छोरीका निम्ति पोखिएका शब्दहरुले उपस्थित सबैका आँखा रसाए । उनी आफै मञ्चमा बोल्न रोकिएर रोइन् । उनले भनिन्, “छोरीका लागि एउटा स्मारक बनाउन सक्छे हरेक आमाले, तर म चाहन्थेँ मेरी छोरी बाँचिरहोस्, किताबका पानामा, कविताका हरफमा, पाठकका आँखा र मुटुमा ।” इजाको स्मृतिमा सुरू गरिएको प्रकाशन आज १२ वर्ष पुगेको छ । इजाको स्मृतिमा यही प्रकाशनबाट १५ कृति प्रकाशित भएका छन् । कतिपय दराजमा थन्किएका पाण्डुलिपि पुस्तक बनेर पाठकका हातहातमा पुगेका छन् । दर्जनौं व्यक्तित्व पुरस्कृत भइसकेका छन् । इजा प्रकाशनको यो अभियानले दार्जिलिङमा नेपाली भाषा साहित्यको साख अझ उचो बनाएको छ । यो प्रोत्साहनले साहित्यप्रेमीहरुलाई निकै उत्साह जगाएको पनि छ । अझ भनौं, प्रकाशन गृह त मुनाफाका लागि खोलिएका हुन्छन् । तर इजा प्रकाशन दार्जिलिङ भने अलिक फरक छ । मुनाफाभन्दा माया र सम्झनालाई प्राथमिकता दिइएको यो संस्था वास्तवमै एक अद्वितीय साहित्यिक मिसाल बनेको छ । इजा प्रकाशनले ‘प्रकाशन’ भन्ने शब्दलाई मुनाफा होइन, सम्झना र ममतासँग जोड्ने काम गरेकोमा संस्थापकहरु धन्यवादका पात्र मात्र बनेका छैनन्, नेपाल र भारतमा उनीहरु उदाहरणीय पनि बनेका छन् ।  

सिक्किमका साहित्यकार डा. टी.बी. चन्द्र सुब्बाले १९ वर्ष लगाएर लेखेको २३ सय पृष्ठको जातजातिको इतिहास ‘विश्वमा मानव सभ्यता’ इजा प्रकाशनका संस्थापकलाई हस्तान्तरण गरे । निकै बाक्लो जातीय समाजको उत्पत्तिको कथा लेखिएको  पुस्तक कार्यक्रमको अर्को आकर्षण बन्यो । गिनिज बुकमा रेकर्डका लागि तयार गरिरहेको यो पुस्तकको नेपाली मूल्य २७ हजार रहेको छ ।

कार्यक्रमको समापन मञ्जुला तामाङको शब्द, राजेन्द्र तामाङको सङ्गीत र सोनु राईको स्वरमा प्रस्तुत गरिएको ‘इजा स्मृति गीत’ बाट गरियो । त्यो गीत केवल सुरको प्रस्तुति थिएन, त्यो भावनाको फेहरिस्त थियो । एउटा छोरीको अनुपस्थितिमा पनि उपस्थितिको अनुभूति गराउने प्रयास गरिएको थियो । दार्जिलिङको यो समारोह कुनै औपचारिक कार्यक्रम मात्र थिएन । यो एउटा सन्देश थियो । स्मृतिमार्फत् साहित्य जिउँदो रहन्छ र साहित्यमार्फत् इजालाई युगौँसम्म सम्झिरहन सक्छौं भन्ने सन्देश बाँडिरहेको थियो । इजा स्मृति दिवसले फेरि एक पटक प्रमाणित गरेको छ कि साहित्य केवल पढ्नका लागि होइन, महसुस गर्नका लागि पनि हुन्छ ।

iza book

माया, स्मृति र साहित्यको मिलनबिन्दुः इजा प्रकाशन

इजा प्रकाशन केवल एउटा प्रकाशन संस्था होइन, यो एउटा स्मृति हो । जसमा आमाले आफ्नी छोरीको आत्मालाई किताबहरुमा बचाइरहेकी छन् । मञ्जुला तामाङ र नवीन सुब्बाले यो प्रकाशनमार्फत् नयाँ पुस्ताका साहित्यकारहरुलाई प्रोत्साहित गरिरहेका छन् । साहित्यकार अमला सुब्बाको नेतृत्वमा कार्यकारिणी समिति बनाएर इजा प्रकाशनलाई हाँकिरहेका छन् । इजाको सम्झनामा स्थापना गरिएको यो संस्था चाँडै नै दार्जिलिङ मात्र होइन, सिक्किम, नेपाल र भारतभरिका नेपालीभाषी समुदायबीच लोकप्रिय बनेको छ । नेपाली साहित्यमा आवाज गुमाएका, ओझेलमा परेका र नवोदित लेखकहरुका कृतिहरुलाई मञ्च दिँदै इजा प्रकाशन अघि बढिरहेको छ । 

इजा प्रकाशनले दर्जनौं कविता सङ्ग्रह, कथा सङ्कलन, निबन्ध र उपन्यास प्रकाशित गरिसकेको छ । त्यसमा नयाँ पुस्ताको स्वर मात्र होइन, महिला लेखकहरुको आवाज पनि समावेश गरिएको छ । जुन सामान्य प्रकाशनहरुले अक्सर बेवास्ता गर्दथे । इजाको अभियानसँगै दार्जिलिङमा महिला सर्जकहरुको उपस्थिति बाक्लो बनेर गएको छ । देशबाहिर बसेर नेपाली साहित्य र नेपाली भाषाका लागि अतुलनीय देन छ त यही दार्जिलिङ, आसाम, सिक्किम क्षेत्रमै छ । नेपाली भाषा साहित्यमा बढी चिन्ता र चासो पनि यहीँका नेपालीभाषी बासिन्दामा भएको पाइयो ।

iza2