भद्रपुर । वैदेशिक रोजगारीअन्तर्गत अरबको खाडीमा रहेका आफन्तलाई बन्धक बनाएको भन्दै झापामा रहेका आफन्तबाट करिब तीन लाख रुपैयाँ ठगी गरेको घटना बाहिरिएको छ ।
घटना विवरणअनुसार कतारमा रहेका श्रीमान् आफ्नो कब्जामा रहेको र उसलाई प्रहरीले पक्राउ गरी कारबाही गर्नसक्ने डर देखाउँदै झापामा रहेकी श्रीमतीलाई अज्ञात व्यक्तिबाट म्यासेज पठाएर ‘पाँच लाख रुपैयाँ दिनू नत्र तपाईंको श्रीमान्को ज्यान खतरामा छ’ भनेपछि श्रीमती आत्तिइन् । श्रीमान्लाई फोन गर्दा तत्काल नलागेपछि डराउँदै उनले ठगले दिएको खातामा २ लाख ३७ हजार रुपैयाँ जम्मा गरिन् । पछि बुझ्दा उनका श्रीमान्लाई त्यस्तो केही पनि नभएको पाइएको थियो ।
त्यसैगरी खाडीमै रहेका सालोको ज्यान खतरामा रहेको भन्दै झापा निवासी उनका भिनाजुलाई त्यसरी नै अज्ञात व्यक्तिबाट म्यासेज पठाएर उनीसँग ८० हजार भारु मागिएको थियो । सालोलाई जोगाउन भन्दै भिनाजुले ४८ हजार रुपैयाँ खातामा हालिदिए । पछि थाहा भयो कि उनी पनि ठगीमा परेछन् । झापामा यस किसिमको ठगी बढ्दै भएपछि प्रहरीले सार्वजनिक सूचना जारी गरी आम सर्वसाधारणलाई सचेत गराएको छ ।
रोजगार तथा अन्य कामको सिलसिलामा विदेशमा रहेकाहरूको परिवार, आफन्त र साथीभाइहरूलाई ह्वाट्सएपलगायतका विभिन्न सामाजिक सञ्जाल, फोन तथा म्यासेजमार्फत् सम्पर्क गरी विदेशमा रहेका तपाईंको आफन्त आफ्नो कब्जामा रहेकोले पैसा नदिए ज्यान लिने धम्की दिने, त्यस्तै दुर्घटनामा परेकाले तत्काल उपचार गर्न पैसा चाहिने वा प्रहरीले पक्राउ गरी जेल हाल्न लागेकोले छुटाउन पैसा चाहिनेजस्ता त्रास देखाएर ठगी गर्ने क्रम बढेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी खगेन्द्र खड्काले बताए । यस्ता प्रकारका म्यासेज आएमा प्रहरीलाई तत्काल खबर गर्न उनले बताएका छन् ।
उनले त्यस किसिमको ठगीको एकपछि अर्को गर्दै उजुरी पर्दै गएको बताए । विभिन्न ठगी गर्ने गिरोहहरू सक्रिय रहेकाले सजग रहन सबैलाई अनुरोध गरेका छन् । यस्ता किसिमका फोन तथा म्यासेज प्राप्त भएमा प्रहरी कन्ट्रोल रुम १०० मा डायल गरी जानकारी दिन वा नजिकको प्रहरी कार्यालयमा सूचित गर्न उनले अनुरोध गरेका छन् । यसरी ठगी गरेका घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।