वराहक्षेत्र । लगातारको वर्षाका कारण रूख ढलेर वराहक्षेत्र नगरपालिका–१ खहरेमा अवस्थित छिन्नमस्ता शक्तिपीठको मन्दिर भत्किएको छ । 

बुधबार राति करिब १० बजेतिर मन्दिर नजिकै रहेको ठूलो ‘हलुंडे’ को रूख अचानक ढलेर मन्दिरमाथि खसेको थियो । रूख ढलेपछि मन्दिरको जस्तापाताले छाएको छाना र पर्खालको आधा भागमा क्षति पुगेको जनाइएको छ । यस घटनाबाट मन्दिरमा करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको औलिया बाबा मठ तथा छिन्नमस्ता संरक्षण समितिका पूर्व उपाध्यक्ष बुद्ध श्रेष्ठले जानकारी दिए । मदन भण्डारी राजमार्ग नजिकै जङ्गलमा रहेको यो मन्दिरलाई वराहक्षेत्रकै प्रमुख शक्तिपीठ मानिन्छ ।

वर्षाले यस क्षेत्रमा पु¥याएको क्षति यो मात्रै होइन । मङ्गलबार राति करिब ९ बजेतिर सोही वडाको बगुवा गाउँमा खहरे खोलाले कटान गर्न थालेको थियो । कटानले गाउँ नै जोखिममा परेपछि वराहक्षेत्रका प्रमुख रमेश कार्की र वडाध्यक्ष किसन थापाको पहलमा तत्काल जेसिभी प्रयोग गरी कटानलाई रोकिएको नगरका प्रेस सल्लाहकार सङ्गम विष्टले जानकारी दिए । समयमै गरिएको प्रयासले ठूलो क्षति हुनबाट जोगिएको स्थानीयले बताएका छन् ।

यससँगै सोही दिन नगरको वडा नं. ३ नडाहा क्षेत्र पनि वर्षाका कारण जलमग्न भएको बुझिएको छ । लगातारको वर्षाले यस क्षेत्रका विभिन्न स्थानमा क्षति पुर्याएको र स्थानीय जनजीवन प्रभावित भएको देखिएको छ । जोखिममा रहेका स्थानहरूको पहिचान गरी थप क्षति हुन नदिन नगरपालिकाले सतर्कता अपनाएको जनाएको छ ।