भद्रपुर । झापाको भद्रपुरमा सम्पन्न हाफ म्याराथुन प्रतियोगितामा महिला धाविका पुष्पा शेर्मा र पुरुषतर्फ करुण रावलले उपाधि जितेका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भद्रपुर नगरपालिका नगर युवा परिषद्को आयोजनामा मङ्गलबार भएको दौड प्रतियोगितामा पुरुष र महिलाको अलग अलग प्रतियोगिता गरिएको थियो । भद्रपुरको पर्यटकीयस्थल चन्द्रगढदेखि ऐतिहासिक धार्मिकस्थल किचकबधसम्म पुरुषको १९.२ कि.मि. दौडमा ७० जना र भद्रपुर नगरपालिका कार्यालय अगाडिबाट किचकबधसम्म २९ जना महिलाहरू १३ कि.मि. हाफ म्याराथनमा सहभागी रहेको परिषद्ले जनाएको छ ।
भद्रपुरका नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा नगरपालिका क्षेत्रमा क्रियाशील सङ्घ–संस्था र क्लबहरूको सहयोगमा म्याराथुन प्रतियोगिता सम्पन्न गरिएको परिषद्का सदस्य–सचिव योगेन्द्र पौडेलले जानकारी दिए ।
एथ्लेटिक्सको नियमानुसार गरिएको प्रतियोगितामा दुवै समूहबाट प्रथम हुनेले जनही नगद २५ हजार, दोस्रो हुनेले १५ हजार, तेस्रो हुनेले १० हजार र चौथो हुनेलाई नगद ५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको छ । दौडमा महिला धाविकातर्फ प्रथम हुने पुष्पा शेर्मा (दमक) ले ५४ मिनेट ४७ सेकेन्डमा दूरी पूरा गर्दा द्वितीय, तृतीय र चतुर्थ हुनेमा क्रमशः यदिका देवान (दमक), विन्दा राई (भद्रपुर) र रीता मुर्मु ( भद्रपुर) रहे ।
त्यसैगरी पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुनेमा करुण रावल (बझाङ), धनु मानन्धर (स्याङ्जा), शरद सिंह (दमक) र सागर लिम्बू (दमक) भएका थिए । प्रथम हुने रावलले एक घण्टा ८ मिनेट २९ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए । ‘दिगो विकास लक्ष्य र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू’ भन्ने मूल नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ ।
युवाहरूले अगुवाइ गर्ने समुदायस्तरका विकास लक्ष्यहरू गुणस्तरीय शिक्षा, जलवायु कार्य, लैङ्गिक समानता र सम्मानजनक रोजगारी प्राप्त गर्ने चुनौतीहरूलाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने सरकारले २०७२ सालमा युवा परिषद् गठन गरेपछि परिषद्कै अगुवाइमा २०७३ सालदेखि यो दिवस मनाउन थालेको हो ।