अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटनमा अड्डा जमाएर बसेका संस्थापन पक्षका भ्रष्टहरूलाई हटाएर अमेरिकालाई फेरि महान् बनाउने नारा दिँदै चुनाव जितेका थिए । तर तिनै ट्रम्प अहिले संस्थापन पक्षको कठपुतली बन्न लागेको टिप्पणी हुन थालेको छ ।

कार्यकालको शुरुवातमा उठाएका कदमहरूले ठूलै झड्का लागेपछि ट्रम्पको समर्थन सूचक (अप्रुभल रेटिङ) ह्वात्तै झरेर जम्मा २८ प्रतिशतमा पुगेको थियो । पूर्ववर्ती बाराक ओबामा सरकारको स्वास्थ्यनीतिको ठाउँमा नयाँ नीति ल्याउने अनि मुसलमानबहुल सात देशका नागरिकलाई अमेरिकामा प्रवेश गर्न रोक्ने उनको कदम पूर्णतः असफल भयो । यसबाट आफ्नो छवि उकास्न ट्रम्पले संस्थापन पक्षलाई मन पर्ने काम गरे ।

त्यो काम भनेको अर्को देशमा क्षेप्यास्त्र प्रहार गर्नु हो । मोनिका लेविन्स्की काण्डबाट ध्यान हटाउन बिल क्लिन्टनले इराकमा क्षेप्यास्त्र प्रहार गरेजस्तै आफ्ना विरोधीहरूको मन जित्न ट्रम्पले सिरियामा क्षेप्यास्त्र प्रहार गरे । सिरियाली सरकारले विद्रोहीको कब्जामा रहेको खान शेखूनमा रासायनिक ग्यास प्रयोग गरेर ८९ जनाको हत्या गरेको अपुष्ट खबर आएपछि ट्रम्पले हृदयपरिवर्तन भएको घोषणा गरे । अनि अर्को देशको युद्धमा अमेरिकालाई नफँसाउने आफ्नो प्रतिबद्धताबाट पछि हट्दै उनले सिरियामा ५९ वटा टोमाहक क्षेप्यास्त्र प्रहार गरे । यसरी अर्को देशमा आक्रमण गर्दा संस्थापन पक्ष खुशी भयो ।

यहाँ संस्थापन पक्ष भन्नाले डीप स्टेट, उदारवादी सम्भ्रान्तहरू, मूलधारे मिडिया, हतियार उद्योग सञ्चालक र कठोर विदेशनीतिका समर्थक बुझ्नुपर्छ ।

ट्रम्पका राष्ट्रवादी सल्लाहकार स्टिभ ब्यानन अन्य देशमा युद्ध मच्चाउने पक्षमा नभएपछि उनलाई राष्ट्रिय सुरक्षा परिषदबाटै बाहिर निकालियो । अनि ट्रम्पलाई अहिले सैनिक पृष्ठभूमिका हर्वर्ट रेमन्ड मकमास्टरले राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा र जेम्स म्याट्टिसले रक्षामन्त्रीका रूपमा सल्लाह दिइरहेका छन् ।

यिनीहरूसँग मिलेर विदेशमन्त्री रेक्स टिलरसन र संयुक्त राष्ट्रसंघका लागि अमेरिकी दूत निक्की हेलीले ट्रम्पलाई युद्धका लागि उक्साइरहेका छन् । पूर्ववर्ती ओबामा सरकारलाई लिबियाको दलदलमा फँसाएजस्तै संस्थापन पक्षले ट्रम्पलाई सिरियामा फँसाउन खोज्दैछ र बुद्धिको कमी अनि अहंकारको खानीलाई विशेषता बनाएका ट्रम्प युद्धसरदार बन्दैछन् ।

ट्रम्पलाई समर्थन गर्ने कन्जर्भेटिभहरू भने पछिल्लो कदमका कारण निराश भएका छन् । स्तम्भकार बेन शपिरो, रेडियोकर्मी लउरा इन्ग्राहाम, इन्फोवार्सका पल क्रेग रोबर्ट्सले ट्रम्पलाई अमेरिकामा मात्र ध्यान देलान् भनेर समर्थन गरेका थिए । तर सिरियाको युद्धमा संलग्न भएपछि उनीहरू ट्रम्पबाट आशा राख्न छोडेका छन् ।

कंग्रेसको समर्थन नलिइकन बम खसाल्ने ट्रम्पलाई उदारवादी वामढल्कुवा बुद्धिजीवीले भने समर्थन गरेका छन् । केही समयअघिसम्म पनि ट्रम्पलाई सत्तोसराप गरेर नथाक्ने बुद्धिजीवीहरू बम खसालेपछि अहिले ट्रम्पको प्रशंसामा शब्द खर्चिरहेका छन् । सीएनएनमा फरीद जकारिया, द न्युयोर्क टाइम्समा निकोलास क्रिस्टोफ र मार्क स्यान्डलर, द वाशिङटन पोस्टमा डेभिड इग्नेसियस लगायतका टिप्पणीकारले आक्रमणको प्रशंसा गर्दै ट्रम्पको पनि सराहना गरे ।

कुनै समयमा सिरियाका पाँच वर्षीय बालक अमेरिकामा शरण माग्न आए भने भगाइदिन्छु भन्दै घमण्ड गरेका ट्रम्पले अहिले रासायनिक आक्रमणमा परेका बालबालिकाप्रति दया जागेको भन्नु नै कति विश्वासयोग्य छ रु तर विदेशीको रगत बगाउन रमाउने अमेरिकी संस्थापन पक्षलाई ट्रम्पको हृदयपरिवर्तन प्रशंसायोग्य लाग्दैछ र यसलाई उनीहरू नैतिक कदमका रूपमा व्याख्या गर्दैछन् ।

डीप स्टेट त अमेरिकाले मध्यपूर्वका ‘शत्रु’ देशहरूमा थप आक्रमण गर्नुपर्ने बताउँछ । अरब क्षेत्रको गरीब मुलुक यमनमा दुई वर्षदेखि आक्रमण गर्दै त्यहाँ तहसनहस मच्चाएर अनि भोकमरीको स्थिति ल्याएर पनि अमेरिका अघाएको छैन । त्यसैले रक्षामन्त्री म्याट्टिस त्यहाँ अझै बम बर्साउनुपर्ने बताइरहेका छन् । शिया इरानको प्रभाव बढ्न नदिनका लागि साउदी अरब, कतार, बहराइन र जोर्डन लगायतका सुन्नी मुलुकले सिरिया र यमनमा मच्चाएको युद्धलाई अमेरिकाले साथ दिइरहेको छ ।

इरान र रुसको समर्थनमा सत्ता अड्याइरहेका सिरियाली राष्ट्रपति बशर अल–असदलाई जसरी पनि हटाउने अभियानमा लागेका अरब मुलुककै लहलहैमा लागेर अमेरिका युद्ध चर्काउने रणनीतिमा लागेको छ । खतरनाक आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) परास्त भइरहेको बेलामा असदलाई सत्ताच्युत गर्नु भनेको आईएसलाई प्रोत्साहन गर्नु हो । भरपर्दो विकल्पविना इराकमा सद्दाम हुसेनलाई सत्ताच्युत गरेपछि चर्केको युद्धमा नै आईएस जन्मिएको थियो । अब सिरियामा अमेरिकी तथा पश्चिमी हस्तक्षेपका कारण त्यसभन्दा खतरनाक समूहको जन्म नहोला भन्न सकिन्न ।

सैन्यशक्तिमा विश्वास गर्ने अनि विदेशी हस्तक्षेपलाई जायज ठह–याउने अमेरिकी नीति ट्रम्पको शासनकालमा परिवर्तन होला भनेर आशा गर्नु नै ट्रम्पका समर्थकहरूको मूर्खता साबित भयो । आफ्नो सरकारले विदेशी युद्धमा ध्यान नदिएर आफ्ना लागि रोजगारीको अवसर सिर्जना गरिदेला र सार्वजनिक सेवाहरू सहज बनाइदेला भन्ने आशामा ट्रम्पलाई मत दिएका बहुसंख्यक अमेरिकीहरू ट्रम्प पनि प्रतिस्पर्धी हिलारी क्लिन्टनजस्तै युद्धपिपासु रहेछन् भनी निराश हुन पुगेका छन् ।

त्यसैले ट्रम्प शासनकालको सय दिन पनि नपुग्दै अमेरिकी मतदाताहरू ठगिएको महसूस गर्दैछन् । तर मतदाताहरूको घाउमा नूनचुक दल्दै अमेरिकाको सैन्य उद्योग मृत्यु र विनाशको अर्को खेल खेल्नका लागि दाह्रा तिखारेर बसेको छ ।

अमेरिकी विकृत पूँजीवादको ठूलो हिस्सा सैन्य उद्योगले ओगटेको छ । संसारकै मुलुकहरूमध्ये अमेरिकाले सबभन्दा बढी बजेट सुरक्षामा खर्चिन्छ । हतियार उद्योग बन्द भयो भने अमेरिकाको पूँजीवाद नै लडखडाउँछ । अनि विश्वमा युद्ध र विनाश मच्चिएनन् भने अमेरिकाको सैन्यशक्ति खुम्चेर जान्छ । त्यसैले त ऊ नयाँ नयाँ युद्धका लागि उद्यत देखिन्छ ।

चुनाव जित्नका लागि ट्रम्पले नयाँ, शान्तिपूर्ण तथा समृद्ध अमेरिकाको गफ दिएका थिए । तर युद्धमा होमिन चाहेर उनले पनि अघिल्ला राष्ट्रपतिहरूभन्दा आफू फरक नरहेको देखाएका छन् । सिरियापछि ट्रम्पको लक्ष्य उत्तर कोरियाको विध्वंस रहेको छ । संसारले अझै युद्ध र विनाशका रक्तरञ्जित घटनाहरू सामना गर्नुपर्ने भएको छ ।

यो सामग्री तयार पार्न बीबीसी, द गार्डियन र स्पुतनिक न्युजमा प्रकाशित विश्लेषणहरूको सहायता लिइएको हो ।