धरान । धरान–१२ स्थित स्वस्तिका चोकमा सांस्कृतिक अधिकार संरक्षण समितिको स्थापना दिवस मनाइरहेको बेला प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । 

गोरुको मासु खाएको आरोपमा २ महिलासहित ७ जनालाई इलाका प्रहरी कार्यालय धरानले सोमबार पक्राउ गरेको हो । कार्यक्रमस्थलबाटै उनीहरूलाई पक्राउ गरिएको बताइएको छ । 

प्रहरीले नाम भने सार्वजनिक गरेको छैन । अमित थेबेसहितका व्यक्ति पक्राउ गरिएको बताइएको छ । उनले आफै इलाका प्रहरी कार्यालयमा रहेको भनेर सामाजिक सञ्जालमा लेखेर पक्राउको पुष्टि गरेका छन् । कार्यक्रमस्थलबाट पकाएको केही मासुसमेत प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुका अनुसार गोरुको मासु पकाएर खाँदै गरेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । “मासु बरामद भएको छ । केको मासु हो भन्ने परीक्षणपछि आवश्यक कारबाही पक्रिया अगाडि बढाइनेछ ।”–डिएसपी जवेगुले ब्लाष्टसँग भने । तत्काल कागज गराएर उनीहरूलाई छाडिने र मासु परीक्षणपछि कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।