विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका–४ का तीन जना श्रमिकलाई निर्घात कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न माग राख्दै मोरङ प्रहरीमा उजुरी परेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गत ‘रिट’ मा कार्यरत प्रहरी हवल्दार दावा शेर्पा लामाले तीनजना श्रमिकमाथि कुटपिट गरेको भन्दै उनीहरूले प्रहरीमा शुक्रबार उजुरी दिएका हुन् । लामाले बूढीगङ्गा गाउँपालिका–४ का ३९ वर्षीय नासिर मियाँ, ३० वर्षीय कासी शर्मा र ३४ वर्षीय रमान मियाँलाई कुटपिट गरेको आरोप छ । उनीहरूलाई लामाले इलाका प्रहरी कार्यालय रानीमा बोलाएर बिहीबार बुट, पाइप र लात्तीले निर्घात कुटपिट गरेको आरोप छ ।
प्रहरी हवल्दार लामाले बिहीबार दिउँसो ट्रान्सफर्मर चोरीको आशङ्कामा श्रमिकहरूलाई बोलाएर शारीरिक यातना दिएका हुन् । तीनैजना श्रमिकहरू ‘जनसेद मियाँ मल्टीपर्पाेज प्रा.लि.’ मा कार्यरत छन्, जसले मोरङ र सुनसरी क्षेत्रमा ट्रान्सफर्मर जडान तथा मर्मतको काम गर्दै आएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका नासिर मियाँको कानको भित्री भागमै चोट लागेको छ । पीडितको भनाइमा, कुटपिटपछि प्रहरीले उल्टै धम्की दिँदै भनेका थिए, “कसैलाई भनिस् भने लागूऔषध राखेर मुद्दा हालिदिन्छौँ ।”
नासिरको अवस्था झन् बिग्रिएपछि उनलाई तत्काल दुहबी हुँदै विराटनगरस्थित कोशी अस्पताल ल्याइएको थियो । हाल उपचारपछि उनलाई घर लगिएको सञ्चालक जनसेद मियाँले जानकारी दिए ।
कुटपिटको शिकार बनेका श्रमिकहरू दैनिक ज्यालादारीमा काम गरेर जीविका चलाउँदै आएका सर्वसाधारण हुन् । उनीहरूविरुद्ध कुनै प्रमाण वा उजुरी नभए पनि प्रहरीले अनुसन्धानको नाममा सडकमै हिँड्ने जनतालाई कुटपिट गर्नु गम्भीर अपराध हो । “हामीलाई ट्रान्सफर्मर चोरीको आरोप लगाएर बोलाइएको थियो । तर बयान लिने बहानामा छुट्टाछुट्टै कोठामा लगेर पाइपले हान्न थाले । हाम्रो अपराध के थियो ?” –उनले भने ।
विना कारण आफ्ना कमदारलाई प्रहरीले कुटपिट गरेपछि कम्पनी सञ्चालक जनसेद मियाँ आफै प्रहरी प्रशासनमा पुगेका छन् । उनले मोरङ जिल्ला प्रहरी कार्यालयमा शुक्रबार औपचारिक उजुरी दर्ता गरेका छन् । “प्रहरीमा विश्वास गरेर गए पनि त्यहीँबाट हातपात भयो । अब हामीले कहाँ न्याय माग्ने ?” –सञ्चालक मियाँले गुनासो पोखे । उनले भने, “जनताको सुरक्षामा खटिने प्रहरीबाटै असुरक्षित महसुस भयो । यस्तो अत्याचार सहनै सकिन्न ।”
पीडितहरूले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी कोपिला चुडालले घटनाको पुष्टि गर्दै आवश्यक छानबिन सुरु गरिएको जानकारी दिइन् । “हामीले पीडितको उजुरी लिएका छौँ, घटनाबारे बुझ्ने काम भइरहेको छ । दोषी पुष्टि भएमा कारबाही अगाडि बढाइनेछ”–उनले भनिन् ।