मुम्बाई/ के एउटा अपराधको अखडा नै बनेको गरिब गाउँ मात्र केही वर्षको अवधिमै देशको सबैभन्दा धनी गाउँ बन्न सम्भव छ ? धेरैले भन्लान्, असम्भव । नेपालमा हामीले धेरै पटक १० वर्षमा नेपालको कायापलट गर्ने नेताहरुको भाषणा सुनेकै हो । त्यसलाई सायद कमैले विश्वास गरे । धेरैले असम्भव नै भने । तर, भारतमा यस्तो एउटा गाउँ छ, जसले त्यो असम्भवलाई सम्भव तुल्याइदिएका छन् ।

भारतको हिवारे बजारका बासिन्दाहरुले आफ्नो भाग्य परिवर्तन गरेका हुन् । महाराष्ट्र राज्यको अहमदनगर जिल्लास्थित यो गाउँका बासिन्दा सन् १९९० को मध्यसम्म भारतकै गरिब जनतामध्ये एक थिए । तर अहिले यो गाउँ भारतकै धनी गाउँ बनेको छ । भारतका सबै गाउँमध्ये हिवारे जिल्लाको औसत प्रतिव्यक्ति आम्दानी सबैभन्दा राम्रो छ । झन्डै १२ सय ५० जनसंख्या रहेको यस गाउँमा प्रतिव्यक्ति आयदर प्रतिमहिना ३० हजार भारु छ । सन् १९९५ यो दर ८ सय ३० प्रतिव्यक्ति थियो । यो गाउँमा २ सय ३५ भन्दा बढी परिवार छन् जसमध्ये ६० जना लखपति छन् । प्रत्येक वर्ष जौ, लसून, आलु लगायतको उत्पादन यो गाउँमा हुन्छ । यसअघि सन् ९० सम्म यो गाउँमा कृषिको चेतना कसैमा थिएन । त्यसैले गाउँले गरिब थिए । ८२ वर्षका रावसाहेक पन्वर भन्छन्, मानिसहरु तनावमा थिए । उनीहरु संघर्ष गर्दै थिए । तर के गर्नुपर्छ भन्ने उनीहरुलाई थाहा थिएन । बिस्तारै उनीहरुले खेती थाले ।

त्यतिबेला गाउँबाट तनाव बोकेर थुप्रै गाउँले नजिकका बस्ती तथा शहरमा जान्थे र कुली काम गर्ने गर्दथे । गाउँमै प्रशस्त जग्गा जमिन भएपनि त्यसको उपयोग गर्न यस क्षेत्रका बासीन्दाले जानेका थिएनन् । ९० को दशकमा झन्डै ९० प्रतिशत जनसंख्या गाउँबाहिर मजदूरीमा सक्रिय थियो । गाउँको मुखियामा पनि त्यतिबेला कुनै सोच र स्पष्ट विचार थिएन । उनीहरुले सन् १९८९ मा एकजुट भएर गाउँकै एकमात्र बिए पास व्यक्ति पोपाटाओ पन्वरलाई नेता चुने । त्यतिबेलासम्म पोपाटाओ पनि गाउँ छाड्ने योजनामा थिए । उनी राम्रो जागिर खोज्नका लागि शहर पस्ने धूनमा थिए । तर गाउँलेले उनलाई स्थानिय चुनावमा लडेर नयाँ मुखिया बन्न सुझाए । सुरुआतमा गाउँलेको प्रस्ताव नमानेका पोपाटाओ अन्त्यमा राजी भए । उनी सर्वसम्मत रुपमा सरपन्च अर्थात मुखिया चुनिए । मुखिया चुनिएपछि उनले हिवारे बजारमा सुखमा दिन आउने घोषणा गरे ।

Hiware-Bazar उनले सरपन्च बनेपछि गाउँमा सबैभन्दा पहिले रक्सी पसल बन्द गर्ने काम गरे । गाउँमा त्यतिबेलासम्म २२ वटा रक्सी पसल थिए । यो काम सहज थिएन । तर गाउँले तयार भए । उनले त्यसपछि महाराष्टको एक बैँकबाट गरिब गाउँलेका लागि ऋण उपलब्ध गराए । त्यसमध्ये केही रकम उनले नयाँ योजना सुरु गर्नका लागि खर्चिए । त्यो नयाँ योजना गाउँमा पानी ल्याउने थियो । उनले पानी जोगाउनका लागि आकाशबाट खसेको पानी संकलन गर्नेदेखि विभिन्न पोखरीहरु बनाउने काम समेत थाले । पन्वर भन्छन्, हाम्रो गाउँमा थुप्रै समस्या थिए । त्यसमध्ये पानीको व्यवस्थापनका लागि समूदायको गतिलो साथ आवश्यक थियो । मैलेँ यदी हामीले आकाशबाट झरेको पानी जोगाउन सक्यौँ भने पानीको समस्या बिस्तारै कम हुदैँ जान्छ भन्ने तर्क राखे । परियोजना सुरु भयो । शुरुमै हिवारे बजारलाई आकाशबाट संकलन गरेको पानीले पुगेन । तर बिस्तारै एक सिजनपछि खेतीयोग्य जमिन बढ्न थाल्यो । त्यसपछि जमिनको पानी पनि बढ्न थाल्यो । गाउँलेहरुले पाठ सिके । पानीको संकट समाप्त हुनासाथ गाउँ छाडेर हिडेँका थुप्रै व्यक्ति फर्किए । ९० जना परिवारमात्रै बस्ने गाउँमा परिवार संख्या २ सय ३५ पुग्यो । मानिसहरु एकआपसमा मिलेर समस्याको समाधान निकाल्न पाउँदा निकै सुखी थिए । पन्वरले दुई वा तीन परिवारले एकआपसमा मिलेर एकअर्काको खेती हेरिदिने परम्परा सुरु गरे । यस परम्पराले पैसा तिरेर कामदार ल्याउनुपर्ने अवस्था बन्द भयो ।

Hiware-Bazar21 स्थानीय यादव दादा भन्छन्, म सन् १९६५ मा मुम्बई गएँ र त्यहाँ ३५ वर्ष काम गरेँ । मैलेँ मेरो गाउँका मानिसहरुले एक आपसमा मिलेर कसरी पानीको समस्या हटाउँदैछन् भन्ने सम्बन्ध सुने । त्यसपछि आफ्नो जागिर छाडेर हिवारे बजार फर्किए । मलाई अहिले खेतीका लागि पर्याप्त पानी छ । सामूदायिक एकताको उदाहरणका कारण अहिले हाम्रो गाउँमा चमत्कार भएजस्तो देखिएको छ । सन् २०१० मा यो गाउँमा १ सय ९० मिलिमिटर मात्रै पानी परेको थियो । तर त्यही पानीलाई व्यवस्थापन गरेर गाउँलेले समस्या टारेको हबिब सायेब बताउँछन् । उनीहरु पानीको व्यवस्थापन गर्न खप्पिस छन् । अहिले यो गाउँलाई नमूना गाउँ मानिन्छ । सडकहरु सफा र योजनाबद्ध छन् । पुराना बस्तीहरु हटाएर नयाँ पक्की घरहरु बनाइएको छ । गाउँमा रक्सी, धुम्रपान र सूर्तिसेवन बन्चित छ । प्रत्येक घरमा शौचालय छ । यस्तो अवस्था भारतका कमै मात्र गाउँमा छ । –तहल्का डटकमबाट

[embed]https://www.youtube.com/watch?v=9hmkgn0nBgk[/embed]