भद्रपुर । टिपरको ठक्करबाट मोटरसाइकल सवार रहेका एक दम्पती सख्त घाइते भएका छन् । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर –१४ स्थित दुवागढी चौकमा टिपरको ठक्करबाट दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा नम्बर –१३ बस्ने ५५ वर्षीय मनप्रसाद लिम्बू र पछाडि सवार उनकी श्रीमती अन्दाजी ५२ वर्षीया टिकाकुमारी श्रेष्ठ (लिम्बू) घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आइतबार मध्यान्ह १२ बजे दुवागढी चौकस्थित मेची राजमार्गमा चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको स१क १८१ नम्वरको टिपरले सोहि दिशातर्फ जाँदै गरेको प्र.१–०१–००१८प.००७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । घटनापछि घाइतेहरुको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको  उनले जनाए ।

मनप्रसादको पिसाव थैलीमा चोट लागेको छ । त्यस्तै टिकाकुमारीको दुवै खुट्टामा चोट लागेको छ । दुवैको अबस्था गम्भीर रहेको छ । तत्काल फरार रहेका टिपर चालक गौरीगञ्ज १ महाभारा बस्ने विजय सरदारलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि चालकसहित मोटरसाइकल र टिपर इलाका प्रहरी कार्यालय धुलाबारी पठाइएको उनले जानकारी दिए ।