पहिले एकअर्कालाई देखिनसहने केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रेम एकाएक झाँगियो । आपसी प्रेम बढेकै कारण प्रचण्डले ओलीलाई डोलीमा बसाएजसरी थपक्क उचालेर बालुवाटारमा बसाले ।
वर्षौंदेखि बन्न नसकेको र छिटै बन्ला भनेर आशा पनि नगरिएको संविधान बनाएरै छाडे । कम्युनिष्टहरु यसैगरी मिल्नुपर्छ भनेर धेरै ठाउँमा भन्दै पनि हिँडे । केही दिनअघिसम्म पनि प्रचण्ड भन्दै हुनुहुन्थ्यो–ओली सरकार परिवर्तन गर्ने होइन, यही सरकारमा कांग्रेसलाई पनि ल्याउने हो ।
तर ओली र प्रचण्डको मायाप्रेम एकाएक खलबलियो । रेल कुदाउने, ग्यास जोड्ने सपना बाँडेर नभ्याउँदै ओलीलाई प्रचण्डले सत्ताबाट खसाल्ने तयारी गरिसक्नुभएको छ । सत्ताका मुख्य दुई कम्युनिष्ट पार्टीभित्र फेरि कचकच बल्झिएको छ । कम्युनिष्टहरु किन कचकचमै रमाउँछन् त ? कारण खोज्न व्यंग्यात्मक विश्लेषणमा लागौं है त ?
कम्युनिष्ट भनेर कन्नुभन्दा कम्निष्ठ भन्नु कता कता सजिलो । न घाँटी र जिब्रोलाई सकस, न उच्चारणमा समस्या । कम्निष्ठ भन्दा आफूलाई पनि सजिलो, चिनाउनुपर्नेको पनि व्यवहार अनुसारको नाम । कम्युनिष्ठहरुले कम्निष्ठकै व्यवहार देखाइरहेका छन् क्यारे ।
पार्टी, परिवार र समाजप्रति कम निष्ठावान हुने भएर होला कम्युनिष्टहरु कम्निष्ठको नामबाट बढी चिनिन्छन् । हुन पनि आफूलाई कम्युनिष्ट भन्नेहरुको व्यवहार यस्तै कम निष्ठावान् देखिन्छ । आफू रहेको पार्टीमा निष्ठावान् भएको भए त छिनछिनमै फुट्ने, जुट्ने, बरालिने, भौंतारिने, घुक्र्याउने, फुक्र्याउने, पद र कुर्सीको अघिपछि कुद्ने किन गर्थे होला र ?
विश्वका कम्युनिष्टहरुलाई एकजुट आह्वान गर्दै हाम्रा कम्निष्ठहरु फूट र गुटमा रमाउँछन् । एउटै घरमा हुँदा सबैलाई मूली हुने अवसर मिल्दैन । मूलीलाई बेलाबेला मुला बनाएपनि मुला बनाएको मूली मूलाजत्रो नाक ठाडो पारेर बसिनै रहन्छ । मूलीको लागि पालो पर्खंदापर्खंदै काल बित्छ । एउटै घरमा बसेर कच्कच्. गर्नुभन्दा छुट्टिएर मूली बन्नुको फाईदा बढी छ । बाहिरबाट मुला देखिएपनि ऊ मूली नै कहलिन्छ ।
त्यसमाथि ठूलो आकारभन्दा सानो आकार हुँदा नै घुसपैठ र चलखेल गर्न सजिलो । ठूला आकार भएकाहरुलाई न्वारनदेखि बल लगाउँदासम्म कुर्सी भेट्न मुश्किल । सानाहरुलाई त कहिले यसकोमा, कहिले उसकोमा छिर्दै, आड लिँदै पालैपालो सत्ताको स्वाद लिँदैमा भ्याईनभ्याई छ ।
त्यसैले ठूलो परिवारमा रुमल्लिएर हराउनुभन्दा एक्लिएर स्वाद लिनुको मजा नै बेग्लै । त्यसैले हाम्रा कम्निष्ठहरु संसारकालाई एक हुन आह्वान गर्दै आफू चिराचिरामा एक्लिएका छन् ।
फुटाउन र चिरा पार्न बाहिरी हातहतियार भन्दा आफैंभित्रका स्वभाव र चिज नै काफी छन् । चर्चर् चिरा पार्ने हँसिया र ब्वाङ्की ब्वाङ्की ठोकेर चोइटाउने हथौडा खोज्न अन्त भौँतारिनु नै पर्दैन । हँसिया भन्दा तिखा जिब्रा सबै नेताको मुखभित्र छ । धार भुत्तिन लागेको हँसिया उदाउँदै र टाउको खियिएर दोब्रिन लागेको हथौडा सोझ्याउँदै उनीहरु बेलाबेला घरको भित्ता फोर्न र थाम काट्न जाइलाग्छन् ।
आफ्नै खुट्टामा घाऊ लागेको पत्तो नपाएर उनीहरु घर भत्काएर निस्कन पाएकोमा खुशी हुन्छन् । छोडेर हिंडेको घरलाई धारे हात लगाउँछन् । अस्तिसम्म मिलेर बसेका परिवारका सदस्य अब उनीहरुका लागि सबैभन्दा शत्रु ठहरिन्छन् । आफू बस्दासम्म चिरिच्याट्ट मिलेको घरलाई उनीहरु कुरुप र काम नलाग्ने देख्छन् ।
हँसिया भन्दा तिखो जिब्रो भएका कम्निष्ठहरु छुट्टाभिन्न हुने बित्तिकै अघिसम्म अँगालोमा बेरिएको अर्कोलाई सत्तोसराप गर्छन् । भित्तामा रहेको ठूलो ऐना अगाडि उभिएर उनीहरु अर्को कम्निष्ठलाई चोर औंला ठड्याई ठड्याई गाली गर्छन् । बिसर्जनवादी, फूटवादी, पदलोलुपतावादी, अन्तर्घाती, आत्मघाती, अवसरवादी मात्रै होइन चोर, फटाहा, गधा, तँलाई हरियो बाँसमा........सम्म भन्न पछि पर्दैनन् ।
कम्निष्ठहरु आफूलाई बाम पनि भन्छन् । कोही कोही बाम् आकारका पनि हुन खोज्छन् । तर बाम हुन लागेको बेला फेरि उनीहरुलाई झिँगे हुने रहर लाग्छ । सब बाम एक ठाम् भन्दै उनीहरु बेलाबेला उफ्रन्छन् । तर चाहिने भन्दा बढी उफ्रँदा पोखरीका सबै बाम पाखामा पछारिन्छन् ।
केहीबेरअघिको बाम छिनभरीमै झिँगे हुन्छ । कोही नामोनिशान भएर मेटिन्छन्, कोही पानीमा यसो तैरिन्छन् । तैपनि म भन्दा ठूलो कोही छैन भनेर झिँगे ताऊ मार्छन् । झिँगाले झैं सत्ता, पद र स्वार्थको वरपर भन्कन्छन् । आफ्नो आकार र औकात खिइएको पत्तो नपाएर उनीहरु आफूलाई फेरि कम्निष्ठ नै भनेर भुत्ते हँसिया र कुच्चिएको हथौडा उचालेर बुरुकबुरुक उफ्रन्छन् ।
तातो न छारोसँग उफ्रँदा त्यही हँसिया र हथौडाले आफ्नो टाउको ठोक्किएपछि रन्थनिन्छन् । तैपनि कहिल्यै चेत्दैनन् । हाम्रा देशका महान तथा गौरवशाली कम्निष्ठहरु !