धरान । गैह्रनेपालीलाई नागरिकता दिएको आरोप लागेका कर्मचारी, वडाअध्यक्ष, टोली प्रमुख, स्थानीय, एजेण्ट गरी ४६ जनाको नाममा प्रहरी कार्यालय झापाले पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाबाट १६ जना गैह्रनेपालीलाई नागरिकता दिएको घटनामा झापा जिल्ला अदालतबाट पुर्जी जारी भएको हो । अदालतबाट भदौ १३ गते जिल्ला प्रहरीले पक्राउ अनुमति प्राप्त गरेको थियो ।

पत्रका आधारमा खटिएको प्रहरी टोलीले सोहीदिन प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपाने, बिर्तामोड नगरपालिका–८ नम्बर वडा कार्यालयका वडासचिव लोकराज बराल, बिर्तामोड–५ का टेकबहादुर गुरुङ, भद्रपुर–१० का प्रेम तिम्सिना र भद्रपुर –१० धनुषमोडका विकेन्द्र भन्ने भीमबहादुर लिम्बूलाई पक्राउ गरिएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । पक्राउ परेका पाँचै जनालाई प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको उनले बताए ।

पक्राउ पर्न बाँकी रहेका बिर्तामोड नगरपालिका–८ नम्बर वडाध्यक्ष अजय कार्की, भद्रपुर नगरपालिका–९ नम्बर वडाध्यक्ष शनिलाल राजवंशी, प्रशासन झापाका अधिकृत गौरव ढुङ्गेल, नायव सुब्बा मेघराज निरौला, प्रशासकीय अधिकृत चूडाराज भट्टराई, टोली प्रमुखद्वय नारायण काफ्ले र चिरञ्जीवी अधिकारी, भद्रपुर नगरपालिका ९ नम्बरका वडासचिव अरुणा भट्टराई, तत्कालीन बाहुनडाँगी र शरणामती गाविसका सचिव भवकृष्ण न्यौपानेलगायत रहेका छन् । फरार रहेका आरोपितलाई पक्राउ गर्न प्रहरी परिचालन गरिसकेको एसपी दिनेशराज मैनालीले बताए ।

विदेशीलाई नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्ति, झुटो र कीर्ते प्रमाण–पत्र खडा गरी वा बनाई प्रचलनमा ल्याउने लगायतका कार्य गर्ने गरेको भन्ने गृह मन्त्रालयमा उजुरी परेपछि गृह मन्त्रालयले प्रशासन कार्यालय झापामा २०७६ असार ३ गते छानबिन शुरु गरेको थियो । गृहले सोही मितिमा थप अनुसन्धानका लागि सिआईबीलाई जिम्मा दिएको थियो । गृहको आदेशबमोजिम सिआईबीले नागरिकताको विषयमा छानबिन गरेको राय भदौ २ गते गृहमा पेस गरेको थियो । गृहले सिआइबीको राय बमोजिम प्रशासन कार्यालय झापामा भदौ ५ गते पत्र पठाएको थियो ।

त्यसपछि प्रशासन कार्यालय झापाले प्रहरी कार्यालय झापालाई भदौ ८ गते पत्र पठाएको र भदौ १३ गते झापा अदालतमा मुद्दा दर्ता भएको प्रहरी जनाइएको छ । पक्राउ पुर्जीको बारेमा प्रहरी कार्यालय झापाले भदौ १३ गते नै बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिकालाई बोधार्थ पत्र पठाइसकेको छ ।

१६ गैह्रनेपालीलाई नागरिकता दिँदा प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेले सनाखत गराएको, नायव सुब्बा निरौलाले टिप्पणी पेश गराएको आरोप लगाइएको छ भने अधिकृत ढुङ्गेलले सही गरेर नागरिकता जारी गरेको अहिलेसम्मको छानबिनमा देखिएको प्रहरीले जनाएको छ ।

नागरिकता जारी गर्दा झुठा विवरण बनाउँदा टेकबहादुर गुरुङ र रिना गुरुङलाई नौ जनाको बाबु आमा एउटै कायम गरिएको छ भने विभिन्न एजेन्ट र बिचौलियामार्फत् नक्कली जन्मस्थान कायम गराएको खुलेको छ ।