धरान । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपालमा राजनीतिक स्थायित्व पहिलो सर्त रहेको बताएका छन् ।

झापाको गौरादहमा नवनिर्मित बीपी स्मृति भवनको उद्घाटन गर्दै उनले राजनीतिक स्थायित्व भए मात्रै वैदेशिक लगानी भित्रिने बताएका हुन् । काङ्ग्रेस गौरादह नगर कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा देश विकासको बाधक राजनीतिक अस्थिरता भएको ठोकुवा गरे । उनले सरकारले गरेको लगानी सम्मेलनबाट अपेक्षा गरिएअनुसारको लगानी नआउने बताए ।

कोइरालाले सरकार चलाउनभन्दा पनि निर्वाचन प्रणाली परिवर्तन गरेर राजनीतिक स्थायित्वका लागि काङ्ग्रेस र एमाले एकै ठाउँमा उभिनुपर्ने बताए । अहिलेको निर्वाचन प्रणाली नै राजनीतिक स्थायित्वको बाधक रहेको भन्दै कोइरालाले यो निर्वाचन प्रणाली रहँदासम्म राजनीतिक स्थायित्व नहुने बताए । यतिबेला आफू कुनै पनि हालतमा निर्वाचन प्रणाली परिवर्तन गरिछाड्ने अभियानमा लागेको समेत बताए । उनले सङ्कटको यो समयमा देशलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको समेत बताए ।