भद्रपुर । लागूऔषध कारोबारमा संलग्नलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर घाइते भएका झापा गाउँपालिका–४ खयरबारी बस्ने सरिफुल आलमको भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार साँझ ६ बजे झापा गाउँपालिका वडानम्बर ३ कामाटोलीमा स्थानीय अक्कलबहादुर विश्वकर्माको घरको तेस्रो तलामा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले छापा मारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सो क्रममा अताउल रहमानका छोरा २५ वर्षीय आलमलाई नियन्त्रणमा लिन खोज्दा उनले आफ्नो साथमा रहेको दाउ र खुकुरीबाट प्रहरीमाथि आक्रमण गर्न खोज्दा प्रतिरक्षास्वरूप प्रहरीले गोली चलाएको झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रहरीको गोलीबाट आलमको बायाँ खुट्टाको तिघ्रा र पिँडुलामा २ राउन्ड गोली लागेको थियो । उनको हाल प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको चन्दले जानकारी दिए । पक्राउ परेका कारोबारीबाट १ सय १६ ग्राम ६० मिलिग्राम खैरो हेरोइन, एक–एक थान खुकुरी र दाउसमेत बरामद भएको उनले जनाए ।