धरान । विगत वर्षको तुलनामा यस वर्ष खर्बुजाको मूल्य कम भएको छ । नेपालमै खर्बुजा खेती हुन थालेपछि उत्पादन बढ्दा मूल्य घटेको हो ।

धरान–३ स्थित पालिका तरकारी बजारका व्यापारी फडिन्द्र कार्कीले गतवर्षको तुलनामा यस बर्ष खर्बुजाको मूल्य १० देखि २० रुपैयाँले कम भएको बताए । उनले भारतबाट खर्बुजा आउने गरेको र मूल्य अभिवृद्धि कर (भ्याट)समेत तिर्नुपर्ने भएकाले मूल्य बढ्ने गरेको बतए । उनका अनुसार आफूले दैनिक २ सय केजीसम्म खर्बुजा बेच्ने गरेको बताए । पालिका बजारमा खुद्रा मूल्य प्रतिकेजी ४० रुपैयाँले बिक्री हुँदै आएको छ ।

व्यापारीका अनुसार थोकमा २५ देखि ३० रुपैयाँ प्रतिकेजी रहेको छ । पालिका बजारकै फलफूल व्यवसायी रामकुमारी श्रेष्ठका अनुसार गतवर्ष सुरुवातमा ६० देखि ७० रुपैयाँ प्रतिकेजी रहेको खर्बुजा यस वर्ष ४० रुपैयाँमा बेचिरहेको छु । नेपालमै खर्बुजाको उत्पादन हुन थालेकाले पनि मूल्य घट्दै आएको बताइन् । अर्की व्यापारी मञ्जु जैसवाल भन्छिन्, ‘गतवर्षभन्दा यस वर्ष सजिलै खर्बुजा पाइने र सस्तो पाइने भएकाले बेच्दा पनि सस्तोमै बेच्दै आएका छौँँ ।’

उनले दिनमा ५० देखि ६० केजीसम्म खर्बुजाको व्यापार गर्दै आएको बताइन् । त्यसैगरी कमला थापाले खर्बुजाको मूल्य घटेपछि अरू फलफूलभन्दा खर्बुजा बढी बेच्ने गरेको बताइन् । उनका अनुसार दैनिक करिब २ सय केजीसम्म बिक्री गर्दै आएको बताइन् ।

कृषिउपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार गतवर्ष २५ सय मेट्रिक टन खर्बुजा धरान भित्रिएको थियो । यस वर्षको हालसम्म १६ सय मेट्रिक टन खर्बुजा भित्रिसकेको छ । आउँदो असारसम्म ३५ सय मेट्रिक टन पुग्ने अनुमान गरिएको व्यवस्थापक भट्टराई बताउँछन् । उनका अनुसार विगत वर्षभन्दा यस वर्ष २५ प्रतिशतले उत्पादनसमेत बढेको कृषकहरूले बताइरहेका छन् । उनका अनुसार विगत वर्षहरूमा भारतबाट खर्बुजा आउने गरेको थियो । नेपालमा पछिल्ला वर्षहरूमा खर्बुजाको खेती हुन थालेको छ ।

व्यवस्थापक भट्टराईका अनुसार नेपालमा ८० प्रतिशत खर्बुजा उत्पादन हुने गरेको छ भने २० प्रतिशत खर्बुजा मात्रै भारतबाट आयात हुने गरेको छ । झापाको रतुवाइमाई, माईधार, इनरुवा, कोशी ब्यारेजलगायत क्षेत्रमा खेती हुने गरेको छ । गर्मी मौसमका लागि उपयुक्त मानिने यो फल स्वास्थ्यका निम्ति लाभदायक मानिन्छ । यो फलमा अत्यधिक मात्रामा पानी पाइने गरेको छ । यसका साथै खनिजसमेत पाइन्छ । एक पुस्तकमा उल्लेख भएअनुसार खर्बुजाले उच्च रक्तचाप नियन्त्रण गर्ने, दम, क्यान्सर, छाला र पाचन प्रणालीलाई पनि स्वस्थ राख्ने गर्दछ ।