धरान । दिवङ्गत एमाले नेता एवम् सभामुख सुवासचन्द्र नेम्वाङको राजनीतिक ‘विरासत’ लाई छोरा सुहाङ नेम्वाङले कायम राखेका छन् । सुहाङले शनिबार सम्पन्न इलाम २ को उपनिर्वाचनमा २७ हजार सात सय ७२ मत प्राप्त गर्दै सांसद् प्रवेशको ढोका खुला गरे ।

२०४८ पछि एकछत्र रूपमा सुवासचन्द्रले इलाम २ मा जित्दै आएका थिए । २०७९ को निर्वाचनमा भने १ सय १४ मतान्तरले निकटतम् प्रतिद्वन्द्वी डम्बर खड्कालाई पराजित गरेका थिए । यसपटक सुहाङले पनि उनैलाई पराजित गरे । तर, भारी मतान्तरमा खड्कालाई पराजित गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी खड्काले २१ हजार नौ सय ४२ मत ल्याए । मङ्गलबार बिहान प्राप्त मतपरिणामअनुसार सुहाङले पाँच हजार ८ सय ३० मतान्तरले खड्कालाई पराजित गरे । सुहाङले यसअघिको निर्वाचनमा समानुपातिकतर्फ एमालेले पाएको मतभन्दा धेरै पाएका छन् । २०७९ को निर्वाचनमा एमालेले समानुपातिकतर्फ २६ हजार ५ सय ६२ मत ल्याएको थियो । सुहाङलाई माओवादी केन्द्र र नेकपाले सघाएको थियो ।

मुख्य चुनौतीको रूपमा लिइएको पहिचानवादी दलहरूबाट स्वतन्त्र उम्मेदवार रहेका डकेन्द्रसिंह थेगिम लिम्बूले भने ११ हजार चार सय ५७ मत प्राप्त गरे । उनलाई ४३ वटाभन्दा बढी घटकले साथ दिएका थिए । यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गरे । तर, कुल सदर मतको १० प्रतिशत कटाउन सकेनन् । इलाम २ मा यसपटक एक लाख १५ हजार ८ सय ८९ मतदाता रहेका थिए । २०७९ मा भने एक लाख १५ हजार ४ सय ६७ मतदाता रहेका थिए । निर्वाचन आयोगको कार्यालयका अनुसार यसपटक ६९ हजार तीन सय ७४ मत खसेको थियो । कुल मतको ५९ दशमलव ८६ प्रतिशत हो । जसमध्ये ६८ हजार ४ सय ७२ सदर मत रहेको छ भने नौ सय दुई मत बदर भएको थियो ।

सुवासचन्द्र नेम्वाङको गत वर्षको भदौ २६ गते हृदयाघातका कारण निधन भएपछि उपचुनाव भएको हो । सुवासचन्द्रले यसअघि ३० हजार २० मत प्राप्त गर्दै चुनाव जितेका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरेका थिए । तर, त्यसबेला नेपाली काङ्ग्रेसका खड्कालाई माओवादी केन्द्र र एकीकृत समाजवादीले साथ दिएको थियो ।

तीनजनाबाहेक सबै उम्मेदवारको जमानत जफत
इलाम २ को उपनिर्वाचनमा विभिन्न पार्टीसहित कुल १९ जना चुनाव लडेका थिए । यसमध्ये एमाले, काङ्ग्रेस र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबाहेक सबैको जमानत जफत भएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार रास्वपा, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसनलगायत स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ ।

प्रतिद्वन्द्वीद्वारा बधाई ज्ञापन
एमाले नेता सुहाङ नेम्वाङ विजयी भएपछि काङ्ग्रेसका जिल्ला सभापतिसमेत रहेका उम्मेदवार डम्बर खड्काले बधाई दिएका छन् । उनले जनताका आशा, अपेक्षा र आवश्यकता पूरा गर्नका लागि आग्रह गरे । विजय सार्थक बनाउनका लागि जनताको अपेक्षालाई पूरा गर्न शुभकामना दिए । उनले लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन रहेकाले स्वस्थ प्रतिस्पर्धा गर्ने र विजयी भएकाले सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्ने बताए । काङ्ग्रेस इलाम सचिव पूर्णप्रसाद गौतमले पनि विजयी उम्मेदवार सुहाङलाई बधाई दिए । उनले प्राप्त जनमतको सम्मान गर्न, जनअपेक्षा पूरा गर्न आग्रह गरे ।

मतदाताको शिर झुक्न दिने छैनः सांसद् नेम्वाङ
इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले मतदाताको शिर झुक्ने कुनै पनि काम नगर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङले मतदाताको मतलाई शिरोपर गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार आयोजित प्रमाण–पत्र वितरण कार्यक्रममा सांसद् नेम्वाङले इलामेली मतदातालाई कुनै प्रकारको सङ्कोच नहुने गरी काम गर्ने प्रतिबद्धता जनाए । ‘म मेरो बुबा (सुवासचन्द्र नेम्वाङ) को अपूरो र अधुरो सपना पूरा गर्न राजनीतिमा आएको हुँ, इलामे जनतालाई कुनै सङ्कोच नहुने गरी काम गर्नेछु’ उनले भने, ‘मलाई निर्वाचित गराउनुभएकोमा सम्पूर्ण मतदातामा धन्यवाद ज्ञापन गर्दछु ।’

कार्यक्रममा सांसद् नेम्वाङलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले प्रमाण–पत्र प्रदान गरे । कार्यक्रममा सांसद् महेश बस्नेत, कोशी प्रदेशसभा सदस्य रामबहादुर मगर राना, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो । (रासस)