उर्लाबारी/ वर्षौदेखि महँगो भारतीय सयपत्री फूल खरिद गरी तिहार मनाउन बाध्य पूर्वीमोरङका बासीन्दाका लागि यस वर्षको तिहार सहज हुने भएको छ ।

उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले यस वर्षदेखि फूलको व्यवसायिक खेती गरेपछि उर्लाबारी, पथरी, दमक र आसपासका स्थानीयका लागि फूल खरिदमा सहज हुने भएको हो ।

भारतीय सिमानाका बजारहरू झापाको काँकडभिट्टा, मोरङको विराटनगरमा प्रति केजी पाँच सय रुपैयाँमा खरिद गरी स्थानीय बजारमा बिक्रीका लागि ल्याउने साना व्यापारीहरूसँग सर्वसाधारणले अत्यन्तै चर्को मूल्य लगाएर सयपत्री फूल खरिद गरी तिहार मनाउनेहरूका लागि प्रतिष्ठान वरदान सावित भएको हो ।

सो प्रतिष्ठानका कार्यकारी निर्देशक विनोद अर्यालले प्रतिष्ठान सेवा प्रदायक संस्था भएकाले लागत शुल्क कटाएर सर्वसाधारण सबैका लागि प्रति केजी २ सय ५० रुपैयाँमा सयपत्री फूल बिक्री गर्ने योजना रहेको बताएका छन् । एक परिवारका लागि सामान्यतया एक केजी फूल भए तिहारमा पुग्ने जानकारहरू बताउँछन् ।

प्रतिष्ठानको परिसरमा उपयोगविहीन अवस्थामा रहेको ३० कट्ठा क्षेत्रफलमा डेढ महिना अघि १५ हजार बिरुवा रोपेर व्यवसायिक पूष्प खेती गरी तिहारलगायतका चाडवाडलाई लक्षित गरी सयपत्री फूल उत्पादन गरेको बताउँदै कार्यकारी निर्देशक अर्यालले सानो लगानीबाट राम्रो आम्दानी हुने अनुभव सङ्कलन एवम् प्रतिष्ठानसँग समाजका सबै समूहको साक्षतकार हुने समेत बताएका छन् ।

असोजको तेस्रो साताबाट उत्पादन शुरु भएको फूलले तिहार एवम् छ्रैठ पर्व र मङ्सिर अन्तिम सातासम्म उत्पादन दिने र पूष्प खेतीलाई निरन्तरता दिने बताउँदै कार्यकारी निर्देशक अर्यालले उर्लाबारी, पथरी, दमकका स्थानीयलाई पुग्ने गरी सयपत्री थुँगे फूल उपलब्ध गराउने प्रतिष्ठानको दाबी छ ।

प्रतिष्ठानलाई समाजका सबै समुदाय र वर्गसँग जोड्न र चाडवाडलाई लक्षित गरी अत्यन्तै उपयोगी पूष्प खेती गरी शुलभ मूल्यमा सयपत्री फूल सर्वसाधारणलाई बिक्री वितरण गरेकामा खुशी व्यक्त गर्दै उर्लाबारी नगरपालिकाका प्रवक्ता भानुभक्त शर्मा पराजुलीले यस्तै किसिमका थप जनमुखी कार्य गर्न सुझाव दिएका छन् ।