बेलबारी । मोरङको बेलबारी नगरपालिकाको वडानम्बर ७ का वडासचिव उमेश खनाल मङ्गलबार दिउँसो साढे तीनबजे वडा कार्यालयमै कुटिएका छन् । सेवाग्राहीको रूपमा आएका शहरी विकास कार्यालय विराटनगरका लेखा अधिकृत मदनबहादुर कार्कीले खनाललाई कुटपिट गरेको पीडित खनालले बताएका छन् । सेवाग्राहीका रूपमा छोराको जन्मदर्ताको प्रतिलिपि बनाउन आएका लेखाअधिकृत कार्कीले आफ्नो काम नबनेपछि सचिवमाथि कुटपिट गरेको बुझिएको छ । घटना विवरणअनुसार छोराको जन्मदर्ताको प्रतिलिपि बनाउन आएका कार्कीलाई वडासचिव खनालले साविक बाहुनी–१ को श्रेस्ता बेलबारी वडा नं. ९ मा रहेकोले वडा नं. ७ बाट नहुने बताएर वडा नं. ९ मा पठाएका थिए । तर वडा नं. ९ मा सचिव नभएपछि उनी फर्केर वडा नं. ७ मा नै आएका थिए । ‘मेरो काम यहीँ बन्ने रै’छ, वडानम्बर ९ मा पठाएर किन तातो घाममा दुःख दिएको’ भन्दै उनले गाली गरेको र कार्यकक्षबाट आफू बाहिर निस्किएपछि घाँटीमा समातेर भित्तातिर धकेलेको खनालले बताएका छन् । वडा कार्यालय र बाहुनी प्रहरी चौकीसँगै हुँदासमेत कार्यालयमा आएर सचिवमाथि कुटपिट गर्ने कार्की पक्राउ परेनन् । घटनापश्चात् उनीसँगै आएका साथीसँग सेतो प्लेटको मोटर साइकल चढेर त्यहाँबाट हिँडेका थिए । उता बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले भने, ‘कर्मचारीको कमीकमजोरी हो भने त्यसलाई कानूनसम्मत ढङ्गले कारबाही गरिनुपर्छ, तर त्यसरी हातपात गर्नु गलत छ, त्यस्ता जो कोहीलाई पनि कारबाही हुनेछ ।’