काँकडभिट्टा–पानीट्याङ्की सीमावर्ती क्षेत्रमा तस्करीसहित अपराधिक क्रियाकलाप ह्वात्तै बढेपछि नेपाल–भारतका सुरक्षा निकाय तथा भन्सार अधिकारीबीच छलफल भएको छ ।

भारतको पानीट्याङ्कीस्थित सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले भेटघाट कार्यक्रममा दुवै देशका सुरक्षा तथा भन्सार अधिकारीले अपराधिक तथा तस्करी गतिविधि रोकथाम तथा नियन्त्रणका लागि आ–आफ्नो निकायबाट सहयोग पुर्याउनेबारे सहमति भएको बताएको छ । भन्सारबाट निकासी पैठारी हुने वस्तुहरूमा सहज बनाउने विषयमा छलफल गरिएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले बताए । सीमा क्षेत्रमा भएपछि सबै कुराहरू आदन–प्रदान हुन जरुरी रहेको प्रमुख भन्सार अधिकृत अर्यालले बताए । छलफलमा प्रमुख भन्सार अधिकृत अर्याल, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी महेश थापा, सशस्त्र प्रहरी बल भन्सार गुल्मका डिएसपी राजेश घिमिरे र भारतीय पक्षबाट एसएसबी एडीजी ज्योतिमय चक्रवर्ती, कमाण्डर राजिव राना, भन्सार प्रहरी इन्स्पेक्टर रीनालगायतको उपस्थिति रहेको थियो । केही दिनअघि भद्रपुरको सीमा क्षेत्र भारतको गलगलिया स्थित भातगाउँमा समेत जिल्लाका एसपी ढकाल र सशस्त्रका रेशमकुमार थाक्सू साथै भारतीय प्रहरी अधिकारीसँग छलफल भएको थियो ।