बेलबारी/ विपन्न परिवारका नानीहरु पढ्ने मोरङको बेलबारी १ स्थित शहिद स्मृति आधारभूत विद्यालयलाई सहयोग आउने क्रम जारी रहेको छ । सोमबार पनि विद्यालयका विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ । विद्यालयमा विपन्न परिवार तथा मजदुरका नानीहरु पढ्छन् ।

क्वीक भोलियन्टरले एक कार्यक्रमको आयोजना गरि विद्यालयका ५४ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामाग्री कपी र कलम वितरण गरिएको हो । उर्लाबारी निवासी मित्रबहादुर बास्तोला र उनकी श्रीमती सरिता बास्तोलाले ५४ सेट पोशाकको प्रदान गरेका थिए । त्यसैगरी ईश्वरी गुरुङ,सुजता भण्डारी र सरिता तामाङले तीन सय ३४ थान कपी विद्यार्थीहरुलाई प्रदान गरेका थिए । त्यसैगरी लालभित्ती युवा समुह दोहाकतारको सहयोगमा विद्यालयमा निर्मित खानेपानीको लागि ट्युबवेल पनि हस्तान्तरण गरिएको छ । सोही अवसरमा विद्यालयको प्राङ्गणमा हेल्पिङ हेण्डस्का सदस्यहरुले अशोकका बिरुवाहरु पनि रोपेका छन् । कार्यक्रममा बेलबारी नगरपालिका वडा नं. २ का वडाध्यक्ष घनश्याम गौतम प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । कार्यक्रममा क्वि भोलेन्टीयर बेलबारीका अध्यक्ष सुनिता हुमागाईं तिवारी,सुन्दर हरैंचा सुदन भट्टराई,हेल्पिङ हेण्ड्स्का मेघराज परियार, ईटहरीका अरुण खड्का र लालभित्ती युवा समुह दोहाकतारका अध्यक्ष रमेश बस्नेतले नागरिकका अप्ठ्याराहरुमा आफ्नो सहयोग जारी रहने बताएका छन् । कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष भक्तशेर लिम्बूको सभापतित्वमा सम्पन्न भएको थियो । विद्यालयलाई यस अघि पनि क्वीक भोलेन्टिरकै संयोजनमा विद्यार्थीहरुलाई जुत्ता तथा फर्निचर प्रदान गरिएको थियो । त्यसैगरी स्थानीय युवा समाजसेवी पेरिस सुवेदीले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका थिए ।