काठमाडौं/ प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको अन्तिम नतिजा अझै आएको छैन ।  सुनसरीको क्षेत्र नम्बर ३ र सर्लाहीको क्षेत्र नम्बर २ को मतगणना बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार शनिबार दिउँसो सम्ममा अन्तिम मतगणना आउने भएको छ ।

अन्तिम अवस्थामा आइपुग्दा सम्ममा नेकपा एमालेले अग्रता कायमै राखेको छ । प्रत्यक्षमा तेस्रो बनेको नेपाली कांग्रेसले समानुपातिकमा आफ्नो उपस्थिति कायमै राख्दै दोस्रोमा उक्लिन सफल भएको छ ।

शनिबार बिहान साढे ९ बजेसम्म प्राप्त विवरण अनुसार  करिब १ करोड मत गनिइसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको एमालेले समानुपातिकतर्फ समेत सबैभन्दा धेरै मत ल्याएको छ ।

गणनाअनुसार एमाले, कांग्रेस र माओवादी केन्द्रबाहेक संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले मात्रै समानुपातिकमा ३ प्रतिशत बढी मत पुर्याए ।

समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत ल्याउनेले मात्रै समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न पाउने संवैधानिक प्रावधान छ ।

राजनीतिक दलसँग सम्बन्धित ऐनले प्रत्यक्षतर्फ न्यूनतम एक सिट जितेको र समानुपातिकमा ३ प्रतिशत मत ल्याएको राजनीतिक दलले मात्रै संसद्मा राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था रहेकोे छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एमालेले ८०, माओवादीले ३६, कांग्रेसले २३, राजपाले ११ र फोरमले १० सिट जितेका छन् । समानुपातिकतर्फ ४ र ५ प्रतिशत हाराहारीमा मत बदर हुने अनुमान गरिएको छ । समानुपातिकको सिट बाँडफाँट गर्दा सदर भएको मतको ३ प्रतिशतभन्दा कम ल्याएका दलको मतलाई भने गणना गरिने छैन ।

३ प्रतिशत बढी मतको कुल योगफल निकाली समानुपातिकको १ सय १० सिट बाँडफाँट हुनेछ । समानुपातिकमा ३ प्रतिशत नकटाउने दलले एउटा सिट पाउनेछैनन् ।

प्रत्यक्षतर्फ एक सिट जितेको राप्रपा समानुपातिकमा ३ प्रतिशत र्पुयाए मात्र राष्ट्रिय पार्टी बन्ने छ । प्रत्यक्षतर्फ एक सिट पनि नजितेको विवेकशील साझा पार्टीले समानुपातिकमा ३ प्रतिशत र्पुयाएमा प्रतिनिधित्व गर्न पाएता पनि प्रत्यक्षमा सिट नजितेकाले राष्ट्रिय पार्टीको मान्यता भने पाउनेछैन ।