विजयपुर । सुनसरीको धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक्षा बोर्डद्वारा हालै प्रकाशित कक्षा–१२ को नतिजामा ‘ए प्लस’ ग्रेड प्राप्त गर्ने १३ जना विद्यार्थीलाई सम्मान गरेको छ ।


सोमबार कलेजमा आयोजित एक कार्यक्रममा ‘ए प्लस’ प्राप्त गर्ने १३ जना विद्यार्थीमध्ये ९ जना विज्ञान संकाय, ३ जना व्यवस्थापन संकाय र १ जना होटल व्यवस्थापन संकायका रहेका कलेजले जनाएको छ ।


सम्मान कार्यक्रममा ‘ए प्लस’ प्राप्त गर्ने अधिकांश विद्यार्थी उच्च शिक्षा अध्ययन तथा इन्जिनियरिङ र चिकित्सा शिक्षाको तयारीका लागि विभिन्न स्थानमा रहेकाले उनीहरूका अभिभावक उपस्थित भएका थिए । अभिभावकहरूले आफ्ना छोराछोरीको तर्फबाट सम्मान ग्रहण गरेका थिए ।


कलेजका अध्यक्ष राजेश बिद्रोही, शैक्षिक निर्देशक अर्जुन घिमिरे तथा शिक्षकहरू देवराज रेग्मी र प्रमोद श्रेष्ठलगायतले खादा, अबिर र सम्मानपत्र प्रदान गर्दै विद्यार्थी तथा अभिभावकलाई सम्मान गरेका थिए ।


कार्यक्रममा बोल्दै अध्यक्ष बिद्रोहीले उत्कृष्ट नतिजा हासिल गराउन योगदान पुर्‍याउने सम्पूर्ण शिक्षकप्रति धन्यवाद व्यक्त गर्दै सफल विद्यार्थी तथा अभिभावकलाई बधाई दिए । गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएकाले कलेजप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको उनको भनाइ छ । उनले आगामी दिनमा पनि शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अझ प्रभावकारी र सशक्त ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।