एकसाता अघि सुनसरीको भुटाहामा धार्मिक विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । विवाद बढ्दै जाँदा झडप, तोडफोडका घटना भएका थिए । बुधबार विराटनगरको रानी क्षेत्रमा पनि त्यस्तै किसिमको विवाद बढ्दै जाँदा झडप भएको छ । यी दुवै घटना नेपाल–भारत सीमावर्ती क्षेत्रमा भएका छन् र दुवैमा रामको विषय जोडिएको छ । विराटनगरको घटनामा रामनवमीको अवसरमा निकालिएको ¥यालीलाई अवरोध गरिएपछि विवाद झडपमा परिणत भएको थियो । सुनसरीको भुटाहामा भएको विवाद भारतको अयोध्यामा गत माघमा राम मन्दिरको प्राणप्रतिष्ठाका अवसरमा सुनसरीका विभिन्न ठाउँमा राखिएका झण्डा हराएपछि उत्पन्न भएको थियो । त्यही विषयमा विवाद बढ्दै जाँदा एक युवामाथि कुटपिट भएपछि घटनाले उग्ररुप लिएको थियो । यसरी सीमावर्ती क्षेत्रमा धार्मिक विवाद बढ्दै जानुले राम्रो सङ्केत गर्दैन ।

खासगरी भारतमा चुनाव नजिकिँदै गएका बेला नेपालमा सीमावर्ती क्षेत्रहरुमा यस्ता विवाद देखिने गरेका छन् । अझ पछिल्लो समय विवादले धार्मिक रुप लिने गरेको छ । अहिले पनि भारतमा लोकसभा निर्वाचन हुने तयारी भइरहेको छ । भारतमा यही वैशाख ७ बाट सात चरणमा लोकसभा निर्वाचन हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दुत्व अभियान तीव्र भइरहेका बेला सीमाक्षेत्रमा त्यसको प्रभाव पर्छ । किनभने सीमावर्ती क्षेत्रका धेरै बासिन्दाहरु नेपाल र भारत दुवैतिरका मतदातासमेत छन् । त्यसैले चुनावका बेला धार्मिक विषय उठ्ने गरेको देखिन्छ । यस्तो विवादलाई बेलैमा निराकरण गर्न नसकेमा कुनै पनि बेला यसले विकराल रुप लिन सक्छ । धर्म जस्तो संवेदनशील विषयमा समाजका अगुवा, बुद्धिजीवी, प्रहरी प्रशासन मिलेर काम गर्नु आवश्यक छ ।

नेपाललाई धार्मिक, सांस्कृतिक, जातीय विविधतायुक्त देशका रुपमा चिनिन्छ । फरक संस्कृति भएपछि विचारमा पनि विविधता आउनु स्वभाविकै हो । तर, एकले अर्काको धर्म, संस्कृति वा जातीय पहिचानलाई स्वीकार गर्न सक्दा मात्र विविधताबीच एकता कायम हुनसक्छ । आफ्नै धर्म, संस्कृति वा पहिचान मात्र विशेष हो, अरुको केही होइन भन्ने भावना विकास भयो भने त्यसले द्वन्द्व निम्त्याउने हो । मान्छेको भावनासँग जोडिएको विषयमा उत्पन्न भएको द्वन्द्व समाधान हुन सजिलो छैन । मान्छे भावनात्मक भएपछि उसले चेतना गुमाउन सक्छ । के गर्न हुने र के नहुने भन्ने हेक्का राख्न नसकेपछि उसले जेसुकै गर्न सक्छ । त्यसकारण पनि धार्मिक तथा जातीय भावना जोडिएका विषयहरु संवेदनशील हुन्छन् । यस्तो विषयलाई समुदायमा फैलिन नदिनका लागि सबैले बेलैमा सचेतना अपनाउनु जरूरी छ ।