वराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता भूपू लाहुरे र पीडितसम्मीलित वराह व्यवस्थापन समन्वय तथा अनुगमन समिति र वराहपीडित बचतकर्ताबीच जग्गालेनदेनका विषयमा मतान्तर भएपछि चर्काचर्की परेको छ ।

समिति र अन्य बचतकर्ता र सेयर सदस्यबीच लगानी गरेको रकमवापत जग्गा लिने विषयमा मत बाझिएपछि बिहीबार धनकुटे रोडस्थित वराह कम्प्लेक्समा बोलाइएको छलफलमा विवाद उत्पन्न भएको हो । विवादमा केही पीडितले आफ्नो रकम बराबरको जग्गा लिने तर थप रकम तिर्ने विषयमा असहमति जनाएका थिए । 

वराह व्यवस्थापन समन्वय तथा अनुगमन समितिलाई समर्थन गरेका पीडितहरुले भने आफ्नो लगानी फिर्ता गर्न समितिको सर्तअनुसार नै जग्गा लिने बताएका थिए । पीडितबीच नै मत बाझिएपछि केहीबेर माहोल तनावग्रस्त बन्यो । छलफलमा उपस्थित प्रहरी प्रशासनले स्थिति साम्य बनाएको थियो ।

समन्वय समितिले पीडितले लिएको जग्गा पाँच वर्षभित्रमा बिक्री नभएमा जेसिका नामक रियल स्टेट कम्पनीले खरिद गर्ने गरी समझदारी भएको बताएको छ । 

सहकारीका सन्चालक मानबहादुर विश्वकर्माले पीडितले रकम नै लिन चाहे सात वर्षभित्रमा रकम तिरिसक्ने बताए । उनले वराहले स्थानीय सरकार  र मन्त्रालयमा समेत वराह सन्चालन गर्ने र तिर्नुपर्ने दायित्व सात वर्षभित्रमा पूरा गर्ने कार्ययोजना निर्माण गरेर पेश गरेको बताए । उनले पीडितहरुलाई धैर्य गरिदिनसमेत आग्रह गरे । सन्चालक विश्वकर्माले रियल स्टेट व्यवसायीको सहयोगमा दायित्व फिर्ता गर्ने काम अघि बढाएकाले इच्छुकलाई सो प्रक्रियामा सहभागी हुन अनुरोध गरे । उनले स्थानीय सरकारलाई ५ अर्ब रुपैयाँको डिटेल बुझाएको बताए ।

सन्चालक र पीडित पक्षबीचको समझदारीमा धरानस्थित वराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई ५ करोड बराबरको जग्गा वितरण गरिएको बताइएको छ । 

कानेपोखरी, उर्लाबारी, गछिया, इटहरी, इनरुवा, झुम्का, धरान, पानबारी, सतिसाले, केराबारीलगायतका जग्गा बचतकर्ता र लगानीकर्ताको इच्छाअनुसार  लगानीकर्ताहरुको रकम बराबरको जग्गा फिर्ता गरेको सहकारी संचालक बिकले जानकारी दिए । उनले साना बचतकर्ता ५ हजार जनालाई नगदै भुक्तानी गरिरहेको बताए । 

वराह व्यवस्थापन समन्वय तथा अनुगमन समितिको समन्वयमा सन्चालक र पीडित पक्षबीचको समझदारीमा लगानीबापत जग्गा प्रदान गरिएको उनले बताए ।

रेस्क्यु फण्डमा थप लगानी बचत भू.पू. सैनिक आबद्ध संस्थाको संयुक्त खाता हिमालय बैंकमा खोलेर २ सय २७ जनाबाट ६१ लाख रुपैयाँ जम्मा गरिएको सन्चालक बिकले बताए । 

सन्चालक बिकले आफ्नो खातामा १ हजार भन्दा कम मौज्दात रहेका ४ हजार ७ सय ९२ जनालाई  पूर्ण भुक्तानी गर्न सुरु गरिएको बताए ।

बराह सहकारीमा २०८० असार मसान्तसम्म ४ हजार ९ सय ७२ जनाको शेयर रकम १० करोड ९ लाख ५ हजार ४ सय रुपैयाँ रहेको तथ्यांक छ । बचत रकम ६५ करोड ५१ लाख ४६ हजार ७ सय ४३ रुपैयाँ ४३ पैसा रहेको छ भने मौज्दात देखिएको ऋण लगानी ७१ करोड ८५ लाख ६२ हजार ९९ रुपैयाँ ९७ पैसा देखिएको छ । 


जग्गा लिन थप रकम तिर्ने सर्त पीडितका लागि अमान्य 

वराह सहकारीमा बचत र लगानी गरेका सेयर सदस्यले जग्गा लिन थप रकम तिर्ने सर्त अमान्य हुने आवाज उठाएका छन् । 

छलफलमा पीडितले आफ्नो रकमै माग गरेका छन् भने कतिपय पीडितले रकम बराबरको जग्गा उपलब्ध गराउन र आफूहरुले थप रकम नतिर्ने स्पष्ट पारेका छन् । 

उनीहरुले सस्तोमा जग्गा ’डिल’ गरेर पीडितबाट थप रकम लिई महँगो मूल्यमा पीडितलाई बोकाउने गरेको बताएका छन् । केही पीडित भने वराह सहकारीविरुद्ध कानुनी कारबाहीमा जानुपर्ने बताउँदै आएका छन् । अधिकांश लगानीकर्ता भने कानुनी कारबाहीमा जाँदा लगानी डुब्ने भएकाले लगानी उठाउन समन्वय समितिको शर्त मान्ने पक्षमा देखिएका छन् ।

छलफलमा एकमत नभएपछि छलफल सकिएको भन्दै प्रहरी प्रशासनले पीडितलाई छलफल स्थलबाट बाहिर जान अनुरोध गरेको थियो । 

सर्तानुसार अब वराह पीडितले समन्वय तथा अनुगमन समितिको समन्वयअनुसार इच्छाएको जग्गा रकम थप गरेर लिनुपर्ने छ, अन्यथा सात वर्षसम्म पर्खेर लगानी फरफारक गर्नुपर्ने छ ।