बाल हठी स्वभावका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः जेन जी पुस्ताको दोस्रो दिनको आन्दोलनका अगाडि घुँडा टेक्नु पर्यो । १९ जना निहत्था जेन जी पुस्तामाथि गोली बर्साएर बर्बरताको कालो इतिहास रचेका ओलीको बहिर्गमन भइछाड्यो । उनले आफ्नो पार्टीलाई मात्रै सिध्याएनन् । अन्ततः अन्य पार्टीलाई पनि सिध्याइ छाडे । हुनत सबै पार्टीहरु कुनै न कुनै रुपमा भ्रष्टाचारका हिमायती थिए । उनीहरु तै चुप मै चुप गर्दै आआफ्नो दुनो सोझ्याउँदै आएका थिए । त्यसैको फल नै जेन जीको आन्दोलनको कारण बन्यो । आखिर जेन जीले पनि खासै ठूलो माग राखेका थिएनन् । तत्काल बन्द भएको फेसबुक जस्ता सामाजिक सञ्जाललाई विकल्प दिएर अगाडि बढ र भ्रष्टाचारको अन्त्यसँगै जवाफदेहिताको माग उठाएका थिए । ती मागहरु पूरा गर्न नसक्ने भन्ने खालका दिएनन् । तर बोलीमा छुद्रो व्यवहार देखाउँदै आएका प्रम ओलीको दम्भ र हठका कारण इतिहासमा भदौ २३ कालो दिनका रुपमा अंकित हुन पुगेको छ भने त्यही कालो दिनले उनलाई सत्ता सधैँका लागि च्यूत पनि गराएको छ ।

देश झण्डै श्रीलंका र बंगलादेशको मार्गमा जाँदै गरेको अवस्था छ । भीडले मन्त्री तथा सांसदहरुको घरहरु जलाउने मात्रै हैन, संसद् भवन तथा सिंहदरबारसम्ममा क्षति पुर्याइरहेको अवस्था छ । देशव्यापी नेताहरुको घरमाथि लक्षित गर्दै जेन जी पुस्ता अगाडि बढेको छ । यसलाई नेतृत्व गर्ने कोही पनि देखिएका छैनन् । यसकारण पनि अब कसै न कसैले यो पुस्तालाई नेतृत्व गर्न आवश्यक छ । यो पुस्ताले औधि रुचाएको पात्रको रुपमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह छन् । उनले यसको नेतृत्व गरेर अन्तरिम सरकार बनाउनेतर्फ अगाडि बढ्दा देशको लागि हित हुने देखिन्छ । यो संक्रमणकालीन अवस्थाको फाइदा उठाउनेहरु धेरै हुन सक्छ । यो पुस्ताले न त कांग्रेसलाई स्वीकार गर्ने स्थिति छ न त एमालेलाई न त माओवादी वा त्यस्तै अन्य दलहरुलाई । 

यसकारण पनि अब बन्ने अन्तरिम सरकारमा ताजा जनादेशमा जानुको विकल्प छैन । ताजा जनादेशका लागि कसै न कसैले नेतृत्व गर्नुपर्छ । स्वच्छ छवि भएका युवा नेताहरुबाटै देशलाई अगाडि बढाउनुपर्ने अवस्था छ । यसमा नेपाली सेनाले पनि सही मार्गनिर्देशन गर्नुपर्ने अवस्था छ । बालेन र बालेन जस्ता युवा पुस्ताहरुलाई नै अबको नेतृत्व सुम्पेर पुराना नेताहरु संरक्षक रहेर बस्नुको विकल्प छैन । त्यसकारण अहिले तत्काललाई एउटा जनादेशमा जानका लागि सबैले आआफ्नो तर्फबाट पाइला चाल्न आवश्यक छ । अहिले जे जति सरकारी भवन तथा भौतिक संरचनामा क्षति पुर्याउने काम भइरहेको छ त्यसलाई रोक्नका लागि पनि यो आवश्यक छ । यसका लागि पनि कसैले नेतृत्व गर्नै पर्छ । यदि कसैले नेतृत्व नगर्ने हो भने देश अर्को भुँमरीमा फस्ने देखिन्छ । 

ताजा जनादेशका लागि स्वच्छ छवि भएका नेतृत्वलाई सुम्पेर अगाडि बढ्नु पर्छ । त्योसँगै १९ जना निहत्थाको हत्या गर्ने हत्याराहरुलाई पनि कारबाही गर्ने वातावरण तयार गर्नुपर्छ । त्यसो गर्न सकेमा मात्रै यो आन्दोलन स्थगित हुने देखिन्छ । हामीले श्रीलंकाको आन्दोलन देख्यौँ । बंगलादेशको आन्दोलन देख्यौँ । ती आन्दोलनलाई हामीले देखेका मात्रै हौँ, पढेका र सुनेका मात्रै हौँ तर त्यही रुपको आन्दोलन पहिलो चोटि हामीले महसुस गर्न र सहभागी हुन पाएका छौँ । यसकारण पनि नेपाल र नेपाली जनताको समृद्धिका लागि पनि कसै न सकैले चुनौती मौल्नै पर्छ । त्यसका लागि जेन जी पुस्ताको मागलाई सम्बोधन गर्ने गरिको पुस्ता आउन जरुरी छ । ताजा जनादेशमा अन्य राजनीतिक दलहरुले घूसपैठ गर्ने वातावरण नबनाउँदा नै श्रेयष्कर हुन्छ ।