विराटनगर । निश्चित तापक्रम खोप भण्डारण स्टोर अर्थात् कोल्ड चेनमा राख्नुपर्ने भ्याक्सिन फार्मेशीहरूले खुल्ला ठाउँमा राखेर बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

कोशी प्रदेशको तराईको जिल्ला र पहाडी क्षेत्रमा फार्मेशीहरूले भ्याक्सिन सुरक्षित नराखी बिक्री गर्ने गरेको पाइएको हो । औषधि व्यवस्था विभाग विराटनगरले बुधबार गरेको अनुगमनको क्रममा झापा, मोरङ, सुनसरी, इलाम र सिरहाको फार्मेशीहरूले भ्याक्सिन कोल्ड चेनमा नराखी बिक्री गरेको पाइएको हो । यसरी कोल्ड चेनमा राख्नुपर्ने भ्याक्सिन नराखी बिक्रीको लागि राखेको पाइएपछि विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्रले बताए ।

अनुगमनको क्रममा २२ वटा फार्मेशीले उचित मात्रामा कोल्ड चेनमा नराखी खुल्ला ठाउँमा भ्याक्सिन राखेको पाइएपछि बरामद गरी नष्ट गरिएको बताए । इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारस्थित सृजना मेडिकल हलबाट ६० हजार मूल्य बराबरको भ्याक्सिन खुल्ला ठाउँमा राखेर बिक्री गरेको पाइएको उनले बताए । सृजना फार्मेशीले इन्सुलिन, हर्मनल, टिटी, ऐन्टि रेविज भ्याक्सिनहरू खुल्ला ठाउँमा राखेर बिक्री गरेको अनुगमनको क्रममा पाइएपछि बरामद गरिएको उनले बताए ।

भ्याक्सिनलाई निश्चित तापक्रममा खोप भण्डारण अर्थात् कोल्ड चेनमा सुरक्षित राख्नु पर्ने उनले बताए । खोपमा रहेको गुण र यसको प्रभावकारितालाई कायम राख्न उत्पादनदेखि लगाउने समयसम्म तोकिएको तापक्रममा भ्याक्सिन राख्नुपर्दछ । यो प्रक्रियालाई नै कोल्ड चेन भनिन्छ । कोल्ड चेन, भ्याक्सिन व्यवस्थापनको महत्वपूर्ण र चुनौतीपूर्ण पाटो हो । ‘भ्याक्सिन २ देखि ८ डिग्री सेल्सियससम्मको स्टोर क्षमता भएका कोल्ड चेनमा राख्नुपर्ने हुन्छ’ विभागका प्रमुख मिश्रले भने, ‘त्यसपछि मात्र भ्याक्सिन सुरक्षित हुन्छ ।’ यसरी कोल्ड चेनमा तापक्रम नमिलाए भ्याक्सिनले काम नगर्ने उनले बताए । त्यही भएर यसरी बाहिर राखिएको भ्याक्सिनहरू बरामद गरी नष्ट गरिएको उनले जनाए ।

‘अनुगमन गरिएर बाहिर खुल्ला ठाउँमा राखिएको भ्याक्सिनहरू बरामद गरेर नष्ट गरेपछि हामीले फार्मेशीहरूलाई सचेत पनि गराएका छौँ । बिरामीको लागि आवश्यक पर्ने भ्याक्सिन कोल्ड चेनमा तापक्रम मिलाएर मात्र बिक्री वितरण गर्न निर्देशन दिने गरेका छौँ’ उनले भने, ‘अटेरी गरी फेरि पनि भ्याक्सिन कोल्ड चेनमा तापक्रम मिलाएर बिक्री नगरेको पाइए त्यस्तो फार्मेशीलाई हामी कारबाहीको दायरामा ल्याउने छौँ ।’