नेपाल भारत बिचको सीमा क्षेत्रबाट बिहिबार लुटिएको प्रहरीको पेस्तोल अझै फेला पर्न सकेको छैन । बर्जु गाउँपालिकाको सीमा क्षेत्रबाट प्रहरीको हतियार बिहिबार राती लुटिएको थियो । हतियार लुटिएको विषय स्थानीयबाट सुनिएपछि मात्र सो विषय बाहिरिएको हो ।

स्थानीयका अनुसार बर्जु १ मा रहेको  शुक्रबारेस्थित सादा पोशाकमा रहेका प्रहरीमाथि कुटपिट गरी उनीहरुको साथबाट पेस्तोल लुटिएको थियो  । 

उक्त लुटिएको पेस्तोलबारे बुझ्दा जिल्ला प्रहरी कार्यालय सुनसरीले समेत घटना स्विकारेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रहरीको हतियार लुटिएको घटना बिहिबार राती करिब १२ देखि १ बजेको समयमा घटना भएको जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी बिपिन रेग्मीका अनुसार सादा पोशाकमा रहेका प्रहरीको साथमा रहेको एकथान लोडेड पेस्तोल अज्ञात समूहले लुटेको बताए । रेग्मीका अनुसार सीमा क्षेत्रमा तस्करीको खबर सुनेर पुगेको सादा पोशाकका २ जना प्रहरीमाथि ५–७ जनाको अज्ञात समूहले आक्रमण गरेको थियो ।

प्रहरीमाथि जाइलागेको समूहले कुटपिट गरी पेस्तोल लुटेर लगेको उनले बताए । एसपी रेग्मीले चाइनिज पेस्तोल सहित म्यागजिन र ७ राउण्ड गोली लुटिएको बताएका छन् ।  

एसपी रेग्मीका अनुसार अज्ञात समूहको कुटाईबाट इलाका प्रहरी कार्यालय दुहवी बाट खटिएका सादा पोशाकका जबानद्वय बिमल परियार र प्रेम चौधरी घाइते भएका छन् ।  जसमध्ये परियारको टाउकोमा चोट लागेको जानकारी गराएका छन् ।  एसपी रेग्मीले घटना लगत्तै लुटपाट तथा प्रहरीमाथि कुटपिटको आशंकामा ५ जनालाई पक्राउ गरी अनुसन्धानमा राखिएको बताए । उनले लुटिएको हतियार फेला नपरे पनि सो उपरको अनुसन्धान भने अन्तिम चरणमा पुगेको बताएका छन् ।