इलाका प्रशासन कार्यालय हरिनगर सुनसरीको टालटुले भवन उद्घाटन गरिएको छ । हस्तान्तरण लगत्तै जीर्ण बनेको कार्यालय भवन टालटुल गरी उद्घाटन गरिएको हो । 

इलाका प्रशासन कार्यालयको भवन हस्तान्तरण भएको तीन महिना मात्रै भएको छ । औपचारिक कार्यक्रमका बीच भवनको उद्घाटन भने शुक्रबारै गरिएको छ । उद्घाटन गरिएको इलाका प्रशासन कार्यालयको नयाँ भवनको छत पटक–पटक टालिएको देखिन्छ ।

भवनको छत तथा भित्री कोठाको भूईं उप्किएको, प्लाष्टर फुटेको र चर्केको अवस्थामा रहेको छ । २ करोड १३ लाख ५३ हजारको लागतमा निर्मित भवन गत जेठ २ गते हस्तान्तरण भएको थियो । स्थानीय रामप्रसाद मेहताले निःशुल्क उपलब्ध गराएको ३ कठ्ठा जग्गामा इलाका प्रशासन कार्यालय हरिनगरको अपाङ्गमैत्री भवन निर्माण गरिएको छ । निर्माण व्यवसायी शाह पण्डित जे.भी.इनरुवा रहेको उक्त भवन सहरी विकास मन्त्रालयका इन्जिनियरको रेखदेखमा निर्माण सम्पन्न भई हस्तान्तरण भैसकेको हो । जसको प्रदेश सांसद्सहितको उपस्थितिमा शुक्रबार समुद्घान गरिएको हो । 

दक्षिणीभेगका जनतालाई सहज सेवा पु¥याउने उद्देश्यका साथ हरिनगरमा यसअघिबाटै साँघुरो कोठामार्फत् इलाका प्रशासनको सेवा भने सञ्चालनमा थियो । नयाँ भवन निर्माण गरी कार्यालयको सेवा प्रवाह थाल्ने क्रममा भवन टालटुले र चर्केको पाइएपछि समग्र भवन निर्माण कार्यको गुणस्तरमाथि नै प्रश्न उब्जेको छ ।

जसप्रति छानबिन हुनुपर्ने स्थानीयको माग छ । यता निर्माण व्यवसायी शाह पण्डित जे.भी.इनरुवाले भने भवनको छत उप्किएको र चर्केको भन्ने विषयलाई सामान्य कमीकमजोरी भनेको छ । उसले धेरै पानी जमाउँदा छत उप्किएको प्रतिक्रिया दिएको छ । अन्य स्थानमा समस्या नरहेको दाबी गरेको शाह पण्डित जे.भी.ले समस्या रहेको ठाउँमा मर्मत हुने जनाएको छ ।

यता कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले छत उप्किएको र चर्केको भन्ने विषय जानकारीमा आएको बताइन् । हस्तान्तरणको केही समयमै भवनमा समस्या देखिनुले निर्माण गुणस्तरमा आशङ्का उब्जाएको उनले बताइन् । पाण्डेले सो बारे सत्य–तथ्य बुझी गुणस्तरीयता जाँच गरिने बताइन् ।

उनले निर्माण व्यवसायी र इन्जिनियरलाई झिकाएर सो बारे जानकारी लिने समेत बताइन् । पाण्डेले गुणस्तरमा सम्झौता नहुने भन्दै गलत काम भएको प्रमाणित भए कानून बमोजिम कारबाहीको प्रक्रिया थालिने बताइन् । इलाका प्रशासन कार्यालय हरिनगरको उद्घाटन कार्यक्रममा प्रदेश सांसद्हरू इस्राइल मन्सुरी, रामप्रसाद मेहता, सदानन्द मण्डलका साथै जिसस सुनसरीका प्रमुख राजन मेहता र हरिनगर गाउँपालिका प्रमुख गफार अन्सारीलगायतको उपस्थिति रहेको थियो ।