युवापुस्ताका सफल र चलेका लेखक हुन् सुविन भट्टराई । उनी आइतबार र सोमबार इटहरी आउँदैछन् । इटहरीका कलेजहरुमा उनले विद्यार्थीहरुसँग लेखन, पठन र पछिल्लो कृति इजोरियाको बारेमा कुरा गर्दैछन् । कवि मनु मञ्जिल, पत्रकारहरु विराट अनुपम र मिलन बिछोडसँग प्यानल छलफल गर्ने भट्टराई आइतबार कस्तुरी कलेज, कोसी कलेज र विश्व आदर्श कलेजमा हुनेछन् भने सोमबार उनले सुष्मा कलेज र नमुना कलेजमा कुराकानी गर्नेछन् । इटहरी जुरियर जेसीजको आयोजनामा हुने आइतबार र सोमबारको कार्यक्रमभन्दा भिन्न रहेर लेखक भट्टराईसँग गरिएको संवादः


१. तपाईंको पहिलो उपन्यास समर लभको स्टीकरमा ‘तन्नेरीले तन्नेरी भाषामा लेखेको तन्नेरीहरूको कथा’ भनेको छ। आखिर त्यो साबित भयो। तन्नेरीले अत्यन्तै रुचाए । तपाईंलाई के लाग्छ, तन्नेरीले पढ्छन् ?
–समर लभ युवाहरूकै लागि भनेर युवाले नै लेखेको कथा थियो । लेख्दै गर्दा पाठकको एउटा निश्चित घेराको कल्पना गरेको थिएँ । तर, मेरो कल्पनाको आकारलाई सानो बनाइदिँदै त्यस्ता धेरै घेराहरू यसले तोड्यो । युवा पाठकहरूले कथामा आफूलाई भेटे, आफ्नै जीवनका केही कालखण्ड देखे, आफूलाई नदेखेपनि आफ्ना वरिपरिका परिचित, साथीसङ्गी, आफन्त आदिलाई भेटे र मन पराए । युवापुस्ताले एकदमै हार्दिक भावले समर लभलाई अपनाए । समर लभका पाठकको विशाल सङ्ख्या देखेर म कसरी भनूँ युवा पुस्ताले पढ्दैन भनेर । बरु जोड दिएर भन्छु, पढ्ने भनेकै विशेष युवापुस्ताले हो ।

२.  १२ वर्षमा छ पुस्तक ल्याउनुभयो। तन्नेरी केन्द्रित पुस्तकहरू ल्याउनुभयो। अहिलेसम्म कथाकी पात्राबाट इजोरियासम्म आउँदा कस्तो अनुभव छ ?
–कथाकी पात्रादेखि इजोरियासम्म आइपुग्दा मभित्रको पाठक हुर्किंदै गयो होला । मभित्रको लेखक तिखारिँदै गयो होला । मेरो चेतना सङ्लिँदै गयो होला । समाजलाई हेर्ने दृष्टिकोण थोरबहुत तङ्रियो पनि होला । समग्रमा म परिपक्व भएँ कि भन्ने लाग्छ । बाँकी त पाठकले नै नियाल्नुभएको होला मेरो परिवर्तित स्वरूपलाई ।  

३. नेपाली किताबका बारेमा बेखबर तन्नेरीहरू तपाईंका किताबका अतीत शर्मा, साया शाक्यदेखि सिम्रिक अनि ठाकुर पात्रलाई एक–एक गरी व्याख्या गर्न सक्छन् । अरू पुस्तक नपढ्ने सुविन भट्टराईको चैं पढ्ने किन भैरहेको छ ?
–पाठकले मलाई किन र कति प्रेम गर्नुहुन्छ, मलाई कत्तिको पढ्नुहुन्छ, भनेर म भन्न सकुँला, तर पाठकले अरू लेखकलाई कति प्रेम गरिरहनुभएको छ, अरू लेखकका किताब कत्तिको पढ्नुहुन्छ, त्यो भन्न सक्ने हैसियत म राख्दिनँ ।
आधा दर्जन पुस्तक लेखिसकेको छु । हरेक पुस्तकको व्यग्रतापूर्वक प्रतीक्षा पाठकहरूले गर्नुहुन्छ । जसलाई प्रेम गरिन्छ, उसैलाई त पर्खिन मन लाग्ने रैछ । मैले सिर्जना गरेका पात्रमा पाठकले आफ्नो छायाँ देख्छु भन्नुहुन्छ । यो पाठकले मप्रति देखाउनुभएको विश्वास हो । समर लभ र साया पढेर कहाँ दूरदराजदेखि काठमाडौं आउनुभएका पाठक त्रिभुवन विश्वविद्यालयमा अतीत र साया खोज्दै गएँ भन्नुहुन्छ । त्रिचन्द्र कलेज र त्यहाँको सेरोफेरोमा फुल्ने निला वैजनी ज्याकारान्डा देखेर प्रिय सुफीको स्मृतिमा पुगेँ भन्नुहुन्छ । तराईतिर जोसुकैले साइकिल चलाउन्, दिमागमा ठाकुर र सिम्रिकका छायाँ पैया झैँ घुम्छन्, भन्नुहुन्छ । पाठकलाई मैले सिर्जना गरेका पात्रहरू जीवन्त लागेकोले होला । मैले भनेका कथामा आफ्नै जीवनका झस्काइ र सुस्केराहरू फेला पार्नुभएकोले पनि होला ।

४. तपाईंका किताब एक–एक गर्दै आइसके। लेख्ने र पढ्ने कुनमा बढी समय जान्छ, तपाईंको दैनिक ?

 –पढ्नु त के र, चाख्नुजस्तो भएको छ हिजोआज । साहित्य साधना सिङ्गै घर हो भने पढ्नुको स्पेसले एउटा कोठाजतिको ठाउँमात्रै ओगटेको छ । धेरैजसो ऊर्जा लेखनमा लाग्छ । यो गलत हो, मलाई थाहा छ । पढ्नुलाई कम से कम समयको तीनचौथाइ हिस्सा दिनुपर्ने । लेखरै जीवन धान्नुपर्ने बाध्यताले गर्दा पनि होला, ‘अब के पढ्ने ?’ भन्ने प्रश्नभन्दा ‘अब के लेख्ने ?’ भन्ने प्रश्नमा बढी घोरिनुपर्छ ।  तर पनि जेनतेन पढाइ र लेखाइको सन्तुलन बनाउने यत्न सधैँ गरिरहेको हुन्छु । लेखिरहँदा पनि पढ्छु । नलेख्दा पनि पढ्छु । तर, सधैँ अपर्याप्त महसुस हुन्छ ।

५. तन्नेरीले किन पढ्नुपर्छ ?
–तन्नेरीले मात्र होइन, तन्नेरी भइनसेकाहरूले पनि पढ्नुपर्छ (कम से कम आफ्नो उमेरअनुसारको किताब खोज्ने बानीको विकास शिक्षक र अभिभावकले गराइदिनुपर्छ) । कुनै बेला तन्नेरी थिएँ भन्नेहरूले पनि पढ्नुपर्छ । सबै उमेर समूहले आफ्नो रुचि र क्षमताअनुसारको किताब छानेर पढ्नुपर्छ । चारजना मान्छेका अघि आत्मविश्वासका साथ बोल्नसक्ने हुनका लागि पढ्नुपर्छ । प्रश्न गर्न, तर्क गर्न पनि पढ्नुपर्छ । पढेको कुरा कहिल्यै खेर जाँदैन । भोलि आफ्नो ज्ञान जहाँ पनि जस्तोरूपमा पनि बेचेर पैसा कमाउन सकिन्छ । एउटा किताब सधैँ बोकर हिँड्ने बानी बसाल्नुपर्छ । कसैलाई पर्खिंदा पनि समय कट्छ । समय कसरी कटाउने भनेर कहिल्यै छट्पटिनु पर्दैन । जुनसुकै पेसामा गए पनि पढ्ने बानी भएको व्यक्तिलाई उसको अध्ययनले छुट्टै उचाइ दिइरहेको हुन्छ । उसको व्यक्तित्व अरूभन्दा विशिष्ट भइरहेको हुन्छ । हामी समय पचासौँ प्रत्युत्पादक थोकमा छर्दै हिँडिरहेका हुन्छौं । त्यसले हामीलाई क्षणिक सन्तुष्टि मात्र दिन्छ । छरिएर खेर गइरहेका ती चिजलाई एकत्रित गरेर पढाइमा लगाउन सके दोहोरो फाइदा हुन्छ भन्ने बुझ्न सक्नुप¥यो ।

६. नेपाली तन्नेरी पाठकहरूले पढ्नैपर्ने तपाईंको नजरका किताबहरू के के हुन् ?

 –भरखर सुरु गर्दै गरेका विशेषगरी तन्नेरी पाठकलाई म सकभर त आफ्नो रुचिअनुसारकै किताब छान्न अनुरोध गर्छु । किताबको आकार देखेर तर्सिनुहुन्छ भने पातला किताबबाट सुरु गर्नुहोस् भन्छु । सकभर सरल भाषाबाटै सुरु गर्नुहोस् । नेपाली भाषामा लेखिएका पातला र ठिक्क अनि सरल किताबहरूमा नारायण वाग्लेको पल्पसा क्याफे पढ्नुस्, कर्ण शाक्यका सोच, खोज पढ्नुस्, विजय मल्लको अनुराधा, हरिवंश आचार्यको चिना हराएको मान्छे, विनोद चौधरीको आत्मकथा, मदनकृष्ण श्रेष्ठको महको म, तारिणीप्रसाद कोइरालाको सर्पदंश, विश्वेश्वरप्रसाद कोइरालाको दोषी चश्मा, नयनराज पाण्डेको उलार, जियस पौडेलको एक सर्को माया, मनु ब्राजाकीको तिम्री स्वास्नी र म, गोविन्द मल्ल गोठालेको कथैकथा र पल्लो घरको झ्याल, तीर्थ गुरुङको पाठशाला आदि...।
धेरै किताबको नाम लिन पाइनँ । पठनको यत्ति खुड्किलो उक्लिसकेपछि चढ्नुपर्ने उकाली पाठकले आफै देख्नुहुनेछ । कम से कम यति पढिसकेपछि पाठकले आफै फेला पार्नुहुनेछ, अध्ययनको आफ्नै क्षितिज ।