सुनसरी । सुनसरीसहित पूर्वी तराई मधेसमा केही दिनयता जाडो बढेको छ ।
बिहानैबाट चल्ने चिसो हावासँगै जाडो बढ्दा जनजीवन कष्टकर बनेको हो । बिहान र साँझ शीतलहर तथा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बनेको छ । शीतलहर तथा बाक्लो हुस्सुका कारण खासगरी आर्थिक अवस्था कमजोर भएका वर्ग तथा आधारभूत
आवश्यकताको काम गर्ने सर्वसाधारण बढी प्रभावित भएका छन् ।
सुनसरी कोसी गाउँपालिका क्षेत्रका मुसहरी बस्तीका अधिकांश सर्वसाधारणसँग बाक्लो कपडा छैन, पातलो कपडा लगाएर जनमजदुर गर्न जाने गरेका छन् ।
शरीरमा लुगा नभएको र ह्वात्तै जाडो बढे पनि जीविका चलाउन सुकुम्बासी बस्तीमा बसोबास गर्ने दलित समुदाय जनमजदुरी गर्न जाने गरेको कोसी गाउँपालिका–२ लौकहीस्थित मुसहरी टोलकी आरती सदा बताउँछिन् । दिनभर गरेको मजदुरीबाट आएको आम्दानीले साँझ खान पुग्ने भएकोले मुसहरी बस्तीका अधिकांश सर्वसाधारण जाडोमा बाक्लो लुगा नभए पनि काम गर्नुपर्ने बाध्यता रहेको उनले बताइन् । ‘के गर्ने ? कमाइ गरेन भने के खान्छ’ आरती भन्छिन्, ‘गरिबलाई के जाडो, के गर्मी । जस्तोसुकै मौसम भए पनि आफू र आफ्नो परिवार पाल्न काम गर्नै पर्यो ।’
घरमा हुँदा बाक्लो कपडा नभए पनि आगो तापेर दिन बिताउने गरिए पनि काम गर्न जाँदा जाडोमा समस्या हुने गरेको कोसी गाउँपालिका–७ हरिपुरस्थित सुकुम्बासी बस्तीका सुरेन्द्र मुखियाले बताए । ‘शीतलहर तथा हुस्सुका कारण जनजीवन कष्टकर छ, जाडोमा काम गर्न जानै मन लाग्दैन तर, के गर्नु बाध्यता छ’–उनले भने । केही दिनयता शीतलहरले चिसो बढेपछि सदरमुकाम इनरुवा, लौकही, हरिपुर, भण्टाबारी, कोसी ब्यारेजसहितका बजारमा चहल–पहलसमेत घटेको छ ।
अत्यधिक चिसो बढेपछि प्रहरीसँग समन्वय गरेर विभिन्न स्थानमा सर्वसाधारण तथा यात्रुलाई लक्षित गरेर चोक–चोकमा आगो बालिएको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए । बिहान र दिउँसो घरबाट चोकमा आउने सर्वसाधारण, मजदुर तथा यात्रुहरूलाई जाडोबाट बच्न आगो बालिएको हो । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कन समेत समस्या हुने गरेको छ ।
पुस लागेसँगै बढेको अत्यधिक जाडोले निजी अस्पतालसँगै जिल्लाको एकमात्र सरकारी अस्पताल इनरुवास्थित जिल्ला अस्पतालमा बिरामीको चापसमेत बढेको छ । खासगरी आजभोलि जाडोबाट प्रभावित बालबालिका र वृद्धवृद्धा अस्पताल जाने गरेका छन् । निमोनिया, खोकी, घाँटी दुख्नेजस्ता बिरामीहरू अस्पतालमा बढ्न थालेको चिकित्सकहरू बताउँछन् । चिसो छल्नका लागि विभिन्न चोक–चोकमा दाउरा बालेर आगो ताप्ने क्रम बढे पनि ग्रामीणभेगमा सर्वसाधारण आफैले घुरबाट आगो तापेर दिन बिताउने गरेका छन् ।
जाडोबाट बच्न सचेतना
मौसम परिवर्तनसँगै स्वास्थ्यमा पनि परिवर्तन देखा पर्न थालेको छ । दिउँसो घाम लागे पनि साँझ र बिहानको जाडोले अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएको छ ।
मौसममा आउने परिवर्तनले हरेक उमेर समूहका मानिसमा असर पर्दै गएको छ । यस्तो मौसममा जाडोबाट कसरी बच्ने भन्नेबारेमा कोसी गाउँपालिका वडानम्बर ८ स्थित आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र प्रहरीले चेतनामूलक कार्यक्रम गरेको छ ।
दिन प्रतिदिन जाडो बढेर तराई मधेस क्षेत्रमा शीतलहरसमेत चल्ने गरेकोले त्यसबाट बच्न अपनाउन सकिने उपायहरूका बारेमा विद्यार्थीहरूलाई जानकारी गराएको बिओपी भण्टाबारीका इन्स्पेक्टर मनोज खनालले बताए ।
शीतलहर लागेको समयमा बाक्लो कपडा लगाउने, आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कने, स्वस्थ रहन तातो खाना खाने, प्रशस्त पानी पिउनेलगायत उपायका बारेमा विद्यार्थीहरूलाई जानकारी गराएको उनले बताए ।