धरान/यसपटकको मिस नेपालको दौडमा धरान–१४ विजयपुरकी मेरिका बास्कोटा छिन् । 

पेशाले दाँतकी चिकित्सक मेरिका अहिले उत्कृष्ट २४ मा पर्दै आफूलाई मिस नेपालको ताजका लागि तयार गरिरहेकी छन् । उनी भन्छिन्, ‘मेरो सानैदेखिको इच्छा थियो मिस नेपाल भिड्ने । यसपटक त्यो पूरा गर्दै छु ।’ उनी धरानको अडिसनबाटै छानिएर त्यहाँ पुगेकी हुन् । पाँचथरमा जन्मिएकी मेरिका धरानको विष्णु मेमोरियल स्कुलबाट प्लस टु उत्तीर्ण गर्दै भैरहवाको युनिभर्सल मेडिकल कलेजबाट बिडिएस गरेकी हुन् । 

द हिडन ट्रेजरको आयोजनामा भइरहेको प्रतियोगितामा देशभरिबाट करिब ८ सय जनाले आवेदन दिएका थिए । ८ सयमध्ये २४ मा पर्न सफल उनी फाइनल राउन्डका लागि यतिबेला स्पर्धामा छिन् । धरानलाई फेरि एकपटक देशमा चिनाउने प्रयासमा उनी छिन् । भन्छिन्, ‘धरानलाई चिनाउने जिम्मेवारी मेरो काँधमा छ । कडा प्रतिस्पर्धा हुँदै छ । हेरौं के हुन्छ ?’ 

असारको ४ गते फाइनल हुँदै छ । मेरिकालाई ताज जित्न त्यति सहज छैन । तर पनि आम धराने तथा प्रदेशवासीको सहयोग रहेमा जित्ने विश्वास लिएकी छन् । ‘मलाई भोट दिएर जिताउन सबैलाई आग्रह गर्दछु ।’ जति धेरै भोट पाउँछन् त्यो आधारमा पनि ताज जित्ने सम्भावना बढ्ने उनको भनाइ छ । उनले आफूलाई जिताउनका लागि मोबाइलको प्ले स्टोरमा गई खल्ती एप्स डाउनलोड गरेर इभेन्ट सेक्सनमा क्लिक गर्दै आफूलाई भोट दिन आग्रह गरिन् । उनको प्रतियोगी नम्बर ०७ हो । उक्त भोटमा एकपटक निःशुल्क हुने उनले बताइन् । 

मेरिकाले सौन्दर्य प्रतियोगिताहरूले प्रतिभा निखार ल्याउनका लागि भरपूर सहयोग गर्ने बताइन् । हाल बन्द प्रशिक्षण चलिरहेको उनले बताइन् । उनलाई जिताउनका लागि सबैले सहयोग गरिदिन उनका काका सुमन बास्कोटाले आग्रह गरे ।