विजयपुर । सुनसरीको धरान–१२ स्थित धरान सिटी कलेजले त्रिभुवन विश्वविद्यालयद्वारा २०८२ सालमा सञ्चालित परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको छ ।
सोमबार कलेज परिसरमा आयोजित कार्यक्रममा स्नातक तहअन्तर्गत व्यवस्थापन संकाय (बीबीएस) र शिक्षा संकाय (बीएड) चौथो वर्षको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको हो । क्याम्पस प्रमुख खड्गविक्रम सिंह कार्कीका अनुसार बीबीएसतर्फ कलेजका चार विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन् । अर्जना खातीले ८४.८ प्रतिशत अंक प्राप्त गरी धरान टपर बनेको कलेजले जनाएको छ । त्यस्तै, विद्या देवानले ८२ प्रतिशत, प्रेरणा साहले ८०.४ प्रतिशत र साकिवा लिम्बूले ७९.८ प्रतिशत अंक प्राप्त गरेका छन् ।
बीबीएसतर्फ कुल ४२ जना विद्यार्थी उत्तीर्ण भएका छन् । तीमध्ये २१ जना प्रथम श्रेणी, १५ जना द्वितीय श्रेणी र दुई जना तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् भनेर क्याम्पस प्रमुख कार्कीले बताए । बीएड चौथो वर्षको परीक्षामा दीपकला कार्की ढोलीले ६४.४ प्रतिशत अंक प्राप्त गरिन् । बीएडतर्फ छ जना विद्यार्थी प्रथम श्रेणी र तीन जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका छन् ।
उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई कलेजका अध्यक्ष गोकुल श्रेष्ठ, उपाध्यक्ष दिवा श्रेष्ठ तथा सेयर सदस्य आशिष मास्के, गौरब शाक्य लगायतले खदा तथा सम्मानपत्र प्रदान गरे । विद्यार्थीले हासिल गरेको उत्कृष्ट नतिजाले उनीहरूको मेहनत, लगनशीलता र कलेजको शैक्षिक गुणस्तरलाई प्रतिबिम्बित गरेको कलेजले जनाएको छ । विद्यार्थीको उपलब्धिले आगामी दिनमा थप उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्न प्रेरणा मिल्ने विश्वाससमेत कलेजले व्यक्त गरेको छ ।



































