धरान । कवि एवम् समालोचक डा. अस्मिता विष्टको निबन्धकृति 'समयशाला नृत्यमग्न आकृति’ धरानमा मंगलबार लोकार्पण गरिएको छ । 

महेन्द्र बहुमुखी क्याम्पस धरानको अंग्रेजी विभागको आयोजनामा कवि विवश पोखरेल, प्रा.डा. इन्दिरा मिश्र, डा. दीपक न्यौपाने, अंग्रेजी विभागका विभागीय प्रमुख डा. मोहन पोखरेल, कृतिकार डा. अस्मिता विष्टले संयुक्त रूपमा लोकार्पण गरे । 

कवि विष्टको यो दोस्रो कृति हो । यसअघि कविता संग्रह बजारमा ल्याए पनि यस पटक निबन्ध संग्रह बजारमा ल्याएकी हुन् । कृतिमाथि डा. न्यौपानेले भने, “कृतिमा १७ वटा निबन्धहरू छन् । जुन निबन्धकारको निजात्मक अनुभूतिमा केन्द्रित छन् । निजात्मक शैलीका निबन्धहरू रहेका छन् ।” उनले एक वर्षको दौरानमा दोस्रो कृति प्रकाशित गर्दै कवित्व प्रवलतालाई निबन्धमा अटाएको बताए । 

20261013_155928

“शिल्पहरु विशिष्ट छन्, नारीवादी चिन्तन, प्रेम र करुणाको दर्शन पाइन्छ” परिचर्चाका क्रममा उनले भने, “कवित्व चेत, समालोचकीय चेत निबन्धमा आएको छ ।” 

निबन्ध विधा अन्य विधाभन्दा केही पृथक् हुने गरेको छ । जसमा लेखकले आफ्‌नो विचार, आग्रह, पूर्वाग्रह, घटना सन्दर्भ, तथ्य र अनुभूतिसमेत अभिव्यक्त गर्न पाउँछ । 

अर्का टिप्पणीकार डा. मिश्रले भनिन्, “निबन्धकारले धरानलाई काव्यिक रूपमा प्रस्तुत गर्नुभएको छ । धरानलाई लयबद्ध तरिकाले उनेर प्रस्तुत गर्नुभएको छ ।” उनले शीर्षक पनि नवीनतम रहेको बताइन् । 

“समय नै स्टेज भएर आएको छ, चराचर जगत्‌मा हामी सबै आआफ्‌ना भूमिकामा छौँ । यस निबन्धमा सहअस्तित्वलाई अँगालिएको छ” उनले भनिन् । सामान्य विषयलाई पनि चिन्तन शैलीमा प्रस्तुत गरिएको उनले बताइन् । “दैनिक जीवनमा भोगिरहेको कुरालाई केलाउनु भएको छ” उनले भनिन् । 

विभागीय प्रमुख डा. पोखरेलले छोटो समयमै निबन्ध कृति लिएर आउन सफल भएकोमा धन्यवाद ज्ञापन गरे । कार्यक्रमको सञ्चालन डा. जीवन राईले गरेका थिए ।