विजयपुर । ७१औँ प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २०६ पिन्ट रगत संकलन भएको छ ।

कोशी प्रदेशका विभिन्न जिल्लामा रक्तदान कार्यक्रम आयोजित गरेको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । मोरङको विराटनगर महानगरपालिका–९ स्थित पञ्चमुखी हनुमान मन्दिर परिसरमा आयोजित रक्तदान कार्यक्रममा १३६ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा नेपाल प्रहरी अस्पताल, इनरुवा, सुनसरी र विराट मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरले प्राविधिक सहयोग गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवाल, सशस्त्र प्रहरी बल कंकालिनी गण मोरङका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गहेन्द्र भण्डारी लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीयवासी, सञ्चारकर्मी तथा विभिन्न कलेजका शिक्षक र विद्यार्थीको सहभागिता थियो ।

यसैगरी, प्रहरी दिवसकै अवसरमा झापा, इलाम र धनकुटामा पनि रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । ती जिल्लामा आयोजित कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी गरी ७० जनाले रक्तदान गरेका थिए । प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै आवश्यकतामा परेका बिरामीका लागि रगतको उपलब्धतामा सहयोग पुग्ने प्रहरीले जनाएको छ ।

001